



बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ ।

१५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा पाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङ मार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाललगायतका संरचना निर्माणाधीन छन् । समग्रमा २३९८ मिटर सडक स्तरोन्नति गर्नु पर्नेछ ।
पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालू रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ,३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइ भएको रक सेड निर्माण बाँकी छ । मुख्य सुरुङबाट सवारी साधन चलाउन सुरु भएपछि मात्र रक सेड निर्माण थालिने छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सुरुङमार्ग निर्माणस्थलको अनुगमन गरी निर्माणलाई तिब्रता दिई तोकिएकै समयमा काम सम्पन्न गर्न आग्रह गरे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मासहित आयोजनास्थल पुग्नु भएका मन्त्री घिसिङले आयोजना र निर्माण व्यवसायीबीच निरुपण हुन बाँकी रहेका विषयलाई तत्काल निर्णय गरी टुंग्याउन निर्देशन दिए । समयमै गर्नु पर्ने निर्णय नगरेका कारणले निर्माण कार्यमा कुनै पनि हालतमा ढिलाइ हुन नहुने घिसिङले बताए ।
उनले भने- ‘समयमा साइट उपलब्ध गराउन नसकेको, वन कटानमा ढिलाइ भएको, अग्रिम भुक्तानीमा ढिलाइ गरिएकोलगायतका काबू बाहिरको परिस्थिति देखाउँदै निर्माण व्यवसायीबाट १९ महिना म्याद थप माग भएको रहेछ, यस विषयलाई आयोजना, परामर्शदाता र निर्माण व्यवसायी बसेर तत्काल निर्णय गर्नुहोस्, निर्णय नगरेर आयोजनाको निर्माण कुनै पनि हालतमा प्रभावित हुन दिनुहँदैन ।’

इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सुरुङ मार्ग निर्माणका लागि २५ फागुन २०७८मा चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ७ अर्ब ३४ करोड २१ लाख (करसहित)मा ठेक्का सम्झौता भएको थियो । सम्झौता बमोजिम चैत २०८३ भित्र सुरुङको निर्माण सम्पन्न गर्नुपर्ने छ । त्यसपछि कम्पनीले १८२५ दिन सुरुङ सञ्चालन एवम् मर्मत सम्भार गर्नेछ । नेपाल सरकारको आफ्नै स्रोतबाट सुरुङ मार्गको निर्माण भइरहेको हो ।
सिद्धबाबा क्षेत्रमा वर्षायाम र हिउँदसमेत ढुंगा खस्ने, माटो बगेर आउने तथा सुख्खा पहिरो जाने कारणले थुप्रै दुर्घटना भएर मानवीय क्षति हुँदै आएको छ । वर्षायाममा समस्या झन् विकराल बन्ने गरेको र यसले गर्दा घण्टौंसम्म ट्राफिक अवरोध हुने गरेको छ ।
उक्त समस्या समाधान गर्न सिद्धबाबामा सुरुङ मार्ग निर्माण गरिएको हो । सुरुङ मार्ग निर्माण भएपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि सुरक्षित र भरपर्दो यात्रा सुविधा हुने, समय र दूरी घट्ने, दुर्घटना तथा सवारी साधन खर्च घट्ने देखिएको छ ।



