



-अनिल नेपाली ,अर्घाखाची डट्कम ।
अर्घाखाँची । शितगंगा नगरपालिका नगर प्रमुख छविलाल पौडेल ले स्थानीय स्तरमा उत्पादित सामग्रीको प्रवर्द्धन, बजारीकरण र उपभोगलाई प्राथमिकता दिनु नै नगरको दिगो विकासको आधार भएको बताउनुभएको छ।

आजदेखि सुरु भएको चौथो शितगंगा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव को उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख पौडेलले यस्तो धारणा राख्नुभएको हो।


नगर प्रमुख पौडेलका अनुसार महोत्सव स्थानीय उत्पादनलाई चिनाउने, स्थानीय उद्योगी तथा व्यवसायीलाई प्रोत्साहन गर्ने र शितगंगालाई व्यावसायिक तथा पर्यटकीय गन्तव्यका रूपमा देश–विदेशमा स्थापित गर्ने उपयुक्त माध्यम हो।

भौगोलिक रूपमा नेपालकै ठूला नगरपालिकामध्ये एक रहेको शितगंगामा विद्यमान उद्योग, कृषि, पर्यटन र प्रतिभालाई उजागर गर्न यस्ता महोत्सव अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो।


उहाँले नगरभित्र सञ्चालित साना, मझौला तथा ठूला उद्योग–व्यवसायलाई यस अवसरको अधिकतम उपयोग गरी नगरको आर्थिक विकास र रोजगारी सिर्जनामा योगदान गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा नगरपालिकाकी उप–प्रमुख गीता भाट ले महोत्सवले स्थानीय उद्योगी तथा व्यवसायीको व्यवसायिक क्षमता अभिवृद्धि गर्न, उत्पादनको बजार विस्तार गर्न र उद्यमशीलता विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, पूर्व सांसद जाल्पा भुसाल, संस्थापक नगर प्रमुख सूर्यप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल लगायत विभिन्न राजनीतिक दल, संघ–संस्था र सरोकारवालाका प्रतिनिधिहरूले महोत्सवको सफलताका लागि सबै पक्षबाट सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

शितगंगा उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण पन्थीको अध्यक्षता, महासचिव डिलबहादुर गुरुङ को सञ्चालन तथा बरिष्ठ उपाध्यक्ष अर्जुन बुढा मगर को स्वागत मन्तव्यमा सम्पन्न उद्घाटन समारोहमा विभिन्न सामुदायिक तथा निजी विद्यालय, संघ–संस्था र साझेदारी संस्थाहरूको सहभागितामा बाजा–गाजा सहितको र्याली तथा बजार परिक्रमा गरिएको थियो।


महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति, आमा समूह तथा विभिन्न संस्थाहरूको झाँकीसहितको सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री, साथै पर्यटकीय आकर्षणका रूपमा डमरू दहमा स्टिमर डुङ्गा सञ्चालन गरिने आयोजकले जनाएको छ।

आजदेखि सुरु भएको महोत्सव पुस २१ गतेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार महोत्सवले स्थानीय उत्पादनको खपत बढाउनुका साथै शितगंगाको आर्थिक, सांस्कृतिक र पर्यटकीय पहिचानलाई सशक्त बनाउने अपेक्षा गरिएको छ।
थप तस्बिर:














