



काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले १३ सूत्रीय मागहरुबारे १० दिनभित्र छलफल नभए परिवर्तनकारी आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
बिहीवारबाट शुरु भएको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले देशलाई अग्रगामी निकासतिर लैजान जरुरी रहेको र त्यसका लागि सर्वपक्षीय सरकार जरुरी रहेको बताउनु भयो ।


उहाँले समाजवादी संघीयता आजको नेपालको ढाँचा हुनुपर्ने उल्लेख गर्नुभयो । अग्राधिकार सहितको संघीय संरचना बन्नुपर्ने, नेपालका सबै राज्यका अंगमा सबै जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना हुनुपर्ने माग राख्नुभयो । महासचिव चन्दले अन्तरिम कालको नेतृत्व नेकपा (माओवादी) लाई दिए आन्दोलनकारी, जनता सबैलाई चित्त बुझ्दोगरी राज्यलाई निकास दिनेगरी पहल गर्ने पनि बताउनु भयो । राजनीतिक शक्तिहरुको सहमतिबाट उपयुक्त निकास निकाल्न जरुरी रहेको बताउनु भयो । अहिलेसम्म अपूर्ण रहेका कानूनी, राजनीतिक, प्रशासनिक सबै क्षेत्रका समस्यालाई सम्बोधन गरेर देशलाई निर्वाचनतिर लैजानुपर्ने उहाँको भनाइ छ ।
महासचिव चन्दले भन्नुभयो, ‘देशलाई अग्रगामी निकासतिर लैजानुपर्छ । अहिलेको सुशीला कार्कीको सरकारलाई पनि छलफलमा ल्याएर एउटा निकास दिनुपर्छ । जनताका अधिकार अधुरा भए, संविधान अपूर्ण भयो, त्यसलाई सम्बोधन गर्नुपर्छ भन्दै आएको हो । समाजवादी संघीयता आजको नेपालको ढाँचा हुनुपर्छ । अग्राधिकार सहितको संघीय संरचना बन्नुपर्छ । नेपालका सबै राज्यका अंगमा सबै जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना गर्नुपर्छ । यो अन्तरिम कालको नेतृत्व नेकपा (माओवादी) लाई दिइन्छ भने पनि हामी सबै शक्तिलाई आन्दोलनकारी, जनता सबैलाई चित्त बुझ्दोगरी राज्यलाई निकास दिनेगरी पहल गर्दछौँ । राजनीतिक शक्तिहरुको सहमतिबाट उपयुक्त निकास निकाल्नुपर्छ । अहिलेसम्म अपूर्ण रहेका कानूनी, राजनीतिक, प्रशासनिक सबै क्षेत्रका समस्यालाई सम्बोधन गरेर देशलाई चुनावतिर लैजानुपर्छ । राष्ट्रपतिलाई १३ सूत्रीय माग प्रश्तुत गरेका छौँ । हामी प्रधानमन्त्रीज्युलाई पनि भेटेर मागपत्र प्रश्तुत गर्दछौँ । १० दिनसम्म पनि मागपत्रमा छलफल चलाइएन र सुनिएन भने नेपाली जनताको साथबाट जेन–जीसहित नेपालका अग्रगामी राजनीतिक शक्तिहरुसहितको सहभागितामा र सहयोगमा एउटा परिवर्तनकारी, उत्तम निकासको लागि आन्दोलनमा जानेछौँ ।’
महासचिव चन्दले नेपाली राजनीति र कम्यनिष्ट आन्दोलन भूराजनीतिको चपेटामा परेको बताउनु भयो ।



