फागुन २१ को निर्वाचन नयाँ शक्ति उदयको प्रस्थानबिन्दु हुनुपर्छः मन्त्री घिसिङ

 

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले फागुन २१ गतेको निर्वाचनलाई नयाँशक्ति उदयको प्रस्थानबिन्दु बनाउनुपर्ने बताउनुभएको छ ।
उज्यालो नेपाल पार्टीको कार्यलय उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले फागुन २१ को चुनावलाई चुनावको रुपमा मात्रै लिन नहुनेमा बताउनु भयो । जेनजी आन्दोलनबाट स्थापित भएको सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने उल्लेख गर्नुहुँदै उहाँले देशमा चुनावको माहोल बनिरहेको पनि दाबी गर्नुभयो । उहाँले नयाँ सबै शक्तिहरु एकजुट भएर नेपालको समृद्धि, सुशासन, देशभित्रै रोजगारी सिर्जना, सामाजिक न्यायको स्थापनाको लागि अगाडी बढ्नुपर्ने बताउनु भयो । जेन–जी आन्दोलनको स्प्रिड पनि यही रहेको उहाँको भनाई छ ।

Nepal life insurance

उहाँले चुनावबाट फेरि पुरानै शक्तिहरुको उदय भएमा ठूलो दुभाग्र्य हुने बताउनु भयो । उहाँले नयाँ राजनीतिक दल, समूह र व्यक्तिहरु एकतावद्ध भएर लाग्नुपर्ने आजको आवश्यकता आँैल्याउनु भयो । सम्पूर्ण नेपालीहरुको चाहनाअनुसार नयाँ शक्तिहरु एकठाउँमा आउने गरी प्रयासहरु भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले देशमा चुनावको माहोल बढिरहेको छ । जेन–जी आन्दोलनबाट जुन सरकार स्थापित भएको छ । आजको परिस्थिति जुन हिसाबले बनेको छ, यो सरकारले फागुन २१ मा चुनाव गर्ने हो । फागुन २१ को चुनावलाई चुनावको रुपमा मात्रै होइन, नयाँ शक्तिहरुको उदयको प्रस्थानबिन्दु पनि हुनुपर्छ भन्ने हामी सबैले कामना गर्नुपर्छ । यसतर्फ हामी अगाडी बढ्नुपर्छ । सबै देशभित्र र बाहिर भएका सम्पूर्ण नेपालीहरुले अब एकतावद्ध भएर नयाँशक्ति, नयाँ नेतृत्वहरुको एउटा समूह, टिम अगाडी बढ्नुपर्छ । युवापुस्ता नेपालको समृद्धिको लागि, सुशासनको लागी अगाडी बढ्नुपर्छ । जेन–जी आन्दोलनको स्प्रिड पनि यही थियो । देशमा सुशासन कायम गर्ने, रोजगारी सिर्जना गर्ने, देशको समृद्धिको लागी अगाडी बढ्ने जुन स्प्रिडमा जेनजी आन्दोलन भयो । यसको रिजल्ट यदी राम्रो आएन, फेरि पनि त्यही स्थितिमा देश फर्कियो भने त्यो भन्दा ठूलो दुर्भाग्य केही पनि हुँदैन । अब आगामी दिन यो देशलाई माथि लान, देशलाई समृद्धतर्फ अघि बढाउन अब नयाँ पुस्ता, युवा पुस्ता र नयाँ शक्तिहरु एकतावद्ध भएर अगाडी बढ्नुपर्ने आजको आवश्यकता हो । त्यसैले यसतर्फ हामी सम्पूर्ण नयाँ शक्तिहरु, नयाँ व्यक्तित्वहरु जसले यो देशमा केही गरौँ भनेर डेलिभरी दिइरहेको छ, केही गरौँ भनेर लागीराख्नुभएको छ । यी तमाम व्यक्तित्वहरु, समुहहरु, पार्टीहरु एकतावद्ध हुनु आजको आवश्यकता हो र नयाँ नेतृत्वहरु स्थापित गर्दै अगाडी बढ्नुपर्छ ।’

उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहनुभएको उहाँले स्थापनाको छोटो समयमा नै पार्टीले देशभर तरङ्ग ल्याएको पनि दाबी गर्नुभयो । उहाँले नयाँशक्तिलाई एकजुट गराउने नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीको कार्यलयसँगै देशको समृद्धि, सुशासन र सामाजिक न्यायको अगाडीको बाटो पनि उद्घाटन भएको दाबी गर्नुभयो । भ्रष्टाचारमुक्त, सुशासित, समृद्ध, आत्मनिर्भर अर्थतन्त्र भएको देश निर्माण गर्न तथा रोजगारी र सामाजिक न्यायको पक्षमा यो पार्टी लाग्ने उल्लेख गर्नुभयो ।

 

Nepal life insurance