– माधव ढुङ्गेल, नागरिक
काठमाडौं – संसद्को राज्य व्यवस्था समितिका सभापति रामनाथ ढकालमाथि राजधानीको पुतलीसडकका आक्रमण भएको छ। संसद्को बैठकमा बोलेर फर्कदै गर्दा उनीमाथि आक्रमण भएको हो। बुधबार साँझ व्यस्त सडकमा गाडीबाट गैरहेका उनीमाथि इँटाले आक्रमण गर्दा गाडीको सीसा फुटेको छ। इँटाले उनको शरीरमा लागे पनि कुनै चोट भने लागेको छैन।
‘त्यहाँ नारा जुलुश केही थिएन, कार्यालय समय भएकाले खचाखच गाडी गुडिरहेका थिए’, ढकालले आफूमाथि भएको हमलाबारे नागरिकसँग भने। आक्रमणपछि उनी त्यहाँ नरोकिई सीधै रानीपोखरीस्थित महानगरीय प्रहरी आयुक्तको कार्यालय पुगेका थिए। सीसा फुटेको उनको गाडी त्यहीं राखिएको छ।
संसद्को विशेष समयमा बोलेका ढकालले राजधानीमा शान्तिसुरक्षा कमजोर भएकोमा सरकारको आलोचना गरेका थिए। त्यहाँबाट फर्कदै गर्दा उनीमाथि हमला भएको हो।
संसद्मा उनले माओवादी सेनाका लडाकू राखिएको अस्थायी शिविरमा भएको भ्रष्टाचारबारे कडा आलोचना गरेका थिए। ‘भ्रष्टाचारबारे शून्य सहनशीलताको कुरा गरिन्छ’, उनले प्रश्न गरेका थिए, ‘के क्यान्टोन्मेन्टबाट एक अर्ब ९५ करोड खाने काम पनि शून्य सहनशीलताभित्रै पर्छ?’ लडाकूको नाममा रकम दुरुपयोग भएको प्रश्न उठाउँदा शान्तिप्रक्रिया भंग हुने भनी प्रधानमन्त्री बाबुराम भट्टराई उम्कन खोजेको उनले आरोप लगाए।
ढकाल सभापति रहेको राज्य व्यवस्था समितिले गृह मन्त्रालय, रक्षा मन्त्रालय समेत हेर्ने गर्छ। त्यस अन्तर्गतका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी समेत राज्य व्यवस्था समितिकै क्षेत्राधिकारभित्र पर्छ। ढकाल संविधानसभा चुनावमा रुपन्देहीबाट प्रत्यक्ष निर्वाचित एमालेका सभासद् हुन्।