सूचना तथा सञ्चार मन्त्री जयप्रकाश प्रसाद गुप्ताको भ्रष्टाचार मुद्दाको फैसला पुस २५ गते

– विनिता दाहाल, नागरिक

 

काठमाडौं  – सूचना तथा सञ्चार मन्त्री जयप्रकाश प्रसाद गुप्ताको भ्रष्टाचार मुद्दाको फैसला पुस २५ गते हुने भएको छ। सर्वोच्चमा विचाराधीन मुद्दाको सुनुवाई बुधबार सकिएपछि फैसला एक महिनापछि हुने भएको हो। न्यायाधीश सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलासले बुधबार दुबै पक्षको सुनुवाई सकेपछि फैसला सुनाउने दिन तोकेका हुन्।

 

२०६४ साल कात्तिक २२ गते सर्वोच्च आइपुगेको गुप्ताको मुद्दा पहिलो दुई वर्ष तारेखमै राखिएको थिएन। २०६६ असार २८ गतेबाट सुनुवाइका लागि पेशीमा चढे पनि साँढे दुई वर्षपछि मात्रै यस्तो सुनुवाई सकिएर फैसलाका लागि मिति तोकिएको हो। पछिल्लो समयमा पूर्वमन्त्री चिरञ्जिबी वाग्लेको फैसला भएपछि अन्य भ्रष्टाचार मुद्दाले सुनुवाईमा तीब्रता पाएका हुन्।



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री गुप्तामाथि २ करोड ८ लाख ८ हजार गैरकानुनी रुपमा कमाएको भन्दै २०५९ चैत ६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।



विशेषका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारको इजलास समूहले गुप्ताको सम्पत्ति स्रोत खुलेको भन्दै उनलाई २०६४ जेठ २४ गते सफाई दिएको थियो। विशेषको फैसलाविरुद्ध सरकारले २०६४ कात्तिक २२ गते सर्वोच्चमा पुनरावेदन गरेकोमा त्यसको दुई वर्षपछि मात्रै सर्वोच्चमा सुनुवाई सुरु भएको थियो।



गुप्ताले अवैध रुपमा कमाएको सम्पत्तिले काठमाडौं, सप्तरी र भक्तपुरमा जग्गा किनेको र विभिन्न बैंकमा रकम जम्मा गरेको आयोगले अभियोग लगाएको छ। उनले काठमाडौं महानगरपालिका वडा नं ९ को ७ आना जग्गामा बनेको आधुनिक घर जोडेर ४५ लाख २७ हजार, सप्तरी धरमपुर गाविसमा २ बिघा १ रोपनी ३ आना जग्गा जोडेर १० लाख २३ हजार, दुवाकोट गाविसमा ४ आना जोडेर ८ लाख ७५ हजार भ्रष्टाचार गरेको अख्तियारले अभियोगमा उल्लेख गरेको छ।



त्यसतै बा ३ च ७७३९ ल्यान्ड रोभर किनेको १८ लाख, २०५३ साल चैतमा सांसद सुविधा अन्तर्गत लिएको गाडीमा ६ लाख ६३ हजार, बैंक अफ काठमाडौंमा स्रोत नखुलेको ४५ लाख ८ हजार, नेपाल बंगलादेश बैंकमा स्रोत नखुलेको ३६ हजार ७ सय, भ्रष्टाचारको छानबिन सुरु गरेपछि बैंकबाट निकालेको ५३ लाख ६१ हजार र त्यसको ब्याज १० लाख ३५ हजार, लुकाउने मनसायले पत्नीको नाममा राखेको ४५ लाख ५० हजार, कृषि विकास बैंकमा राखेको ९ लाख २२ हजार र सप्तकोसी कोल्ड स्टोरेजमा लगानी गरेको ६६ लाख ५३ हजार गरी जम्मा २ कारेड ८ लाख ८ हजार गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारले अभियोग लगाएको छ।