सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

imagesimages

 

काठमाडौँ । नेकपा (एमाले) ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सेना परिचालन सम्बन्धमा राखेको अभिव्यक्तिलाई गलत तरिकाले व्याख्या गरिएको भन्दै आपत्ति जनाएको छ ।

आइतवार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि कुरा गर्दै उपमहासचिव लेखराज भट्टले यस्तो जानकारी दिनुभएको हो । उहाँका अनुसार, अध्यक्ष ओलीले सेना परिचालनबारे राखेको कुरालाई बाहिर गलत ढंगले प्रचार गरिएको भन्दै बैठकमा असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

Nepal life insurance

उपमहासचिव भट्टका अनुसार, शीर्ष नेतासहित प्रधानमन्त्रीसँगको छलफलमा अध्यक्ष ओलीले “सुरक्षा दिने सेनाले हो कि प्रहरीले ?” भनी प्रश्न गर्नुभएको थियो । तर, सोही विषयलाई तोडमोड गरी ‘आसन्न प्रतिनिधि सभा निर्वाचनमा सेना परिचालन गर्न नहुने’ भनी अध्यक्षले अभिव्यक्ति दिएको भन्ने भ्रम फैलाइएको भट्टले स्पष्ट पार्नुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “हिजो प्रधानमन्त्रीकहाँ जाँदा अध्यक्षज्यूले ‘निर्वाचनको वातावरण बन्छ कि बन्दैन?’ भनेर सोध्नुभयो । अहिलेको अवस्था प्रतिक्रान्ति र प्रतिगमन हो, लोकतान्त्रिक विधि–पद्धतिबाट संसद विघटन नगरी जसरी अघि बढ्नुपर्थ्यो, त्यो भएन भन्ने उहाँको धारणा थियो ।”

भट्टले अगाडि भन्नुभयो, “निर्वाचनको वातावरण बनाउन सेना परिचालन गर्ने प्रसंग आउँदा उहाँले ‘सुरक्षा दिने सेनाले हो कि प्रहरीले? सेना त बाहिरी घेरामा हुन्छ’ भन्नुभएको थियो । यही कुरालाई लिएर जसरी भ्रम फैलाइयो, त्यसमा हाम्रो आपत्ति छ ।”

साथै, प्रधानमन्त्रीसँगको छलफलमा अध्यक्ष ओलीले सरकारको गठन र सञ्चालन लोकतान्त्रिक र संवैधानिक ढंगबाट नभएको धारणा राख्नुभएको भट्टले उल्लेख गर्नुभयो ।

 

Nepal life insurance