



काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीमा आफुले महसुस गरेको रिक्तताले आज पूर्णता पाएको बताएका छन् ।
राप्रपा र राप्रपा नेपालबीचको एकीकरण सभालाई सम्बोधन गर्दै कमल थापाको आगमनले राप्रपामा रहेको रिक्तताले पूर्णता पाएको बताएका हुन् ।

उनले भने- ‘राप्रपा अगाडी बढिरहदा मेरो मनमा सधै एउटा चिज अपुरो भइराखेको थियो । केहि रिक्तता जहिले महसुस गरिरहने भनेको कमल थापा हो । कमल दाइँ नहुदाको राप्रपा मेरो मनमा एकदम अपूर्ण जस्तो लाग्थ्यो । उहाँले छोडेर जानु भयो ।

म पार्टीको अध्यक्ष । मैले रोएर हिड्न पनि नमिल्ने । कमल दाइ नभएर यो पार्टी भएन भन्न पनि मिलेन उहाँ नभएर पनि चल्छ भन्नु पर्यो र चलायौं पनि । तर मनमा एक प्रकारको रिक्तता र अभाव भइरह्यो । आज त्यो पूर्ण भएको छ । सबैजना खुशी हुनुहुन्छ । सबैभन्दा बढी म खुशी छु ।’

अध्यक्ष लिङदेनले पार्टीमा सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै कसैले मनमा नराख्न आग्रह गरेका छन् । उनले राप्रपाको एजेन्डा लोकप्रियता र स्वीकार्यता बढेको उल्लेख गर्दै सोहि अनुसार पार्टीको लोकप्रियता र स्वीकार्यता पनि बढाउनुपर्ने बताए ।



