प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलभित्र शुरु भएको राज्य पुनर्संरचना बारेको बहसका क्रममा धेरैले संघीय प्रदेशहरुको संख्या सकेसम्म थोरै हुनु पर्नेमा जोड दिएको नेताहरुले बताएका छन्।
कांग्रेसका सभासदहरुले राज्य पुनर्संरचनाबारे निर्णय गर्दा दलहरु अत्यन्त संवेदनशील हुनु पर्नेमा जोड दिएका छन्।
संघीय प्रदेशहरु, तिनको नाम, संख्या, सीमा जस्ता विषयहरुमा सुझाव दिन हालै गठित राज्य पुनर्संरचना आयोगले काम थालिरहेको बेला सो विषयमा कांग्रेसले पनि आन्तरिक छलफल तथा गृहकार्य थालेको हो।
राज्य पुनर्संरचना बारे थप चर्किन सक्ने बहसको निम्ति प्रमुख प्रतिपक्षी कांग्रेसले आफूलाई पनि तयार र स्पष्ट राख्ने जमर्को गरेको छ।
त्यस निम्ति आन्तरिक बहस र गृहकार्यको थालनी गर्न कांग्रेसका १०० भन्दा बढी सभासदहरु सोमबार राजधानी बाहिर नगरकोटको डाँडामा पुगेका थिए।
केही विज्ञहरु समेत सहभागी नगरकोट वैठकमा बोल्ने अधिकांस सभासदहरुले संघीय राज्यहरुको संख्या सकेसम्म कम हुनु पर्ने धारणा राखेको कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बीबीसीलाई बताए।



