इटहरी – उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले जनप्रतिनिधि नभएका कारण एक दसकअघि देखि स्थानीय निकाय सञ्चालनमा व्यापक भ्रष्टाचार र अनियमितता भइरहेको बताएका छन्। उनले निर्वाचित पदाधिकारीको अभावमा ती निकायहरु बेकम्मा र कामै नलाग्ने अवस्थामा पुगेको बताए।
सुनसरीको छिटाहामा रहेको उच्च माध्यमिक विद्यालय छिटाहाको स्वर्णजयन्ती समारोहको शुक्रबार उद्घाटनपछि बोल्दै गृहमन्त्री गच्छदारले राजनीतिक दलहरुबीच एकआपसमा विश्वासको अभाव बढ्नु, कर्मचारीहरु इमान्दार नहुनु तथा भूमिगत समूहहरुले गाविसलाई आफ्नो दुहुना गाईका रुपमा हेरिनु र विकासप्रति पछिल्लो समयमा बनेका राजनीतिक दलको संयन्त्रमा ध्यान नजाँदा स्थानीय निकायमा आएका विकास कोषहरु निरर्थक बनिरहेको स्पष्ट पारे।
उनले यही अवस्था रहिरहेमा राज्यले स्थानीय निकायको विकासका लागि विनियोजन गरेको विकास बजेट अझै काम नलाग्ने बताए। कार्यक्रममा मन्त्री गच्छदारले उच्च मावि छिटाहाको स्वर्णजयन्ती स्तम्भको अनावरणसँगै विद्यालयको शैक्षिक एवं भौतिक पूर्वाधार विकासका क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउने शिक्षासेवी, समाजसेवी, जग्गादाता र विद्यालयका पूर्व प्रधानाध्यापकलाई दोसल्ला ओढाएर सम्मान पनि गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेल लगायतले बोलेका थिए। सो अवसरमा विद्यालयका छात्रछात्राले विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए। रासस