पृथ्वीनारायण शाहलाई सम्झँदा राष्ट्रिय स्वाधीनता र आधुनिक नेपालको साझा पहिचान देखिन्छ- राष्ट्रपति पौडेल
पौष २७ गते, २०८२ मा प्रकाशित
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको बताएका छन् ।
३०४औं पृथ्वी जयन्तिका अवसरमा शुभकामना दिदै राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहलाई सम्झँदा उनले नेपालको एकीकरण गर्दै राष्ट्रिय स्वाधीनता र आधुनिक नेपालको साझा पहिचानलाई स्थापित गरेको देखिने बताएका छन् ।
राष्ट्रपति पौडेलले राष्ट्र निर्माणको अभियानलाई इतिहासको विभिन्न कालखण्डमा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएको बताएका छन् ।
उनले भनेका छन्- ‘राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’