प्रधानमन्त्री कार्की थारू राष्ट्रिय माघी महोत्सवमा सहभागी

 

 

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी छन् ।

थारु कल्याणकारिणी सभालगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा काठमाडौँको टुँडिखेलमा आयोजित सभामा प्रमुख अतिथिका रुपमा सहभागी भई प्रधानमन्त्री कार्कीले विभिन्न सांस्कृतिक झाँकीको अवलोकन पनि गरेकी छन् ।

‘थारु कला संस्कृति हाम्रो पहिचान, यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा मौलिक कला तथा संस्कृति झल्किने झाँकीहरु प्रस्तुत गरिएको थियो।

प्रधानमन्त्री कार्कीले औलोसँग जुध्दै तराईँलाई आवाद बनाउने कर्मशील थारू समुदायसँग आफ्नो पनि आत्मीय सम्बन्ध रहेको बताइन् ।

उनले भनिन्- ‘मेरो बाल्यकाल थारु समुदायका साथीहरुसँगै बितेको छ। थारु भान्सामा पाक्ने प्रत्येक परिकारको स्वाद मेरो जिब्रोमा भिजेको छ। त्यसैले माघी पर्व मेरा लागि पनि विशेष पर्व हो।’

विभिन्न समुदायहरूले फरक–फरक नाम, शैली र परम्पराअनुसार यो चाड मनाए पनि त्यसको मर्म एउटै रहेको बताउँदै उनले भनिन्- ‘हामी विविध छौँ, तर एउटै छौँ। हामी बहुल छौँ, तर सँगै छौँ। हामी धेरै भएर नै पूर्ण छौँ।’

विश्व मानचित्रमा नेपाल एकता, सद्भाव र सहअस्तित्वको अनुपम उदाहरण बनेर उभिएको र यही नै हाम्रो मौलिक पहिचान तथा शक्ति रहेको उनको भनाइ थियो ।

उनले आपसी सद्भाव, विश्वास र सहकार्यका माध्यमबाट मुलुकलाई शान्ति, स्थायित्व र समृद्धितर्फ अग्रसर गराउनका निम्ति भूमिका खेल्न पनि सबैलाई आह्वान गरिन् ।

उनले भनिन्- ‘वर्तमान विशिष्ट परिस्थितिमा हामी सबै अझ संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ। त्यसकारण, यस्ता सांस्कृतिक पर्वहरूको मर्म आत्मसात् गर्दै समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सरकार, समुदाय र नागरिक सबैले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्नुपर्छ।’

#प्रधानमन्त्री_कार्की #माघी_महोत्सव #थारू_पर्व #राष्ट्रिय_उत्सव #ArghakhanchiDotCom

Nepal life insuranceimagesimages