

-केशब पन्थी ,अर्घाखाँची डटकम।
अर्घाखाँची, सन्धिखर्क । राष्ट्रिय भूकम्प दिवसको अवसरमा गैरसरकारी महासंघ अर्घाखाँचीको आयोजनामा आज माघ २ गते अर्घाखाँचीको सन्धिखर्कमा सञ्चालन भइरहेको सातौँ अर्घाखाँची महोत्सवको महोत्सव स्थलमै विशेष भूकम्प सचेतनामूलक तथा सन्देशमूलक कार्यक्रम सम्पन्न भएको छ।


भूकम्पजस्ता प्राकृतिक विपद्को जोखिम न्यूनीकरण तथा जनधनको क्षति कम गर्न पूर्वतयारी, सुरक्षित आवास, आपतकालीन व्यवस्थापन र विपद्पछिको व्यवहारबारे सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। महोत्सवमा उपस्थित ठूलो संख्याका दर्शकलाई लक्षित गर्दै प्रस्तुत गरिएको कार्यक्रमले जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको विश्वास लिइएको छ।


कार्यक्रमलाई सम्बोधन गर्दै गैरसरकारी महासंघ अर्घाखाँचीका अध्यक्ष ठाकुर प्रसाद अधिकारीले भूकम्प जस्तो विपद्को सामना गर्न सरकारको प्रयास मात्र पर्याप्त नहुने भन्दै समुदायस्तरमै सचेतना, तयारी र अभ्यास आवश्यक रहेको स्पष्ट पार्नुभयो।

उहाँले भूकम्प कहिले आउँछ भन्ने अनुमान गर्न नसकिने भएकाले हरेक नागरिक सचेत र तयार रहनु नै सबैभन्दा ठूलो सुरक्षा उपाय भएको उल्लेख गर्नुभयो। त्यसैगरी महासंघका जिल्ला कार्यसमिति सदस्य फर्सुराम पाण्डेले स्थानीय तह, संघसंस्था, नागरिक समाज र सर्वसाधारणबीचको समन्वय र सहकार्यले मात्र प्रभावकारी विपद् व्यवस्थापन सम्भव हुने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा इन्सेक अर्घाखाँचीका प्रतिनिधि कुलबहादुर नेपाली, युवा किसान महासंघका अध्यक्ष युवराज पौडेल, शिक्षक ठाकुर खनाल, होटल व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष बाबुराम घिमिरे, समाजसेवी राजु खड्का तथा पत्रकार केशब पन्थी लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

वक्ताहरूले भूकम्प जस्ता प्राकृतिक विपद्बाट जोगिन सुरक्षित घर निर्माण, आपतकालीन सामग्रीको व्यवस्था, खुला स्थानको पहिचान र सही व्यवहारको अभ्यास अनिवार्य रहेकोमा जोड दिएका थिए।

मनोरञ्जन, व्यापार र संस्कृतिको संगम बनेको अर्घाखाँची महोत्सवमा यस प्रकारको सचेतनामूलक कार्यक्रम समावेश हुनु महोत्सवको सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण बनेको आयोजकको भनाइ छ।

महोत्सव स्थलमै कार्यक्रम आयोजना गरिँदा दर्शकहरूमा सकारात्मक सन्देश प्रवाह भएको र विपद्प्रतिको दृष्टिकोण अझ जिम्मेवार बनेको प्रतिक्रिया सहभागीहरूले दिएका छन्।

राष्ट्रिय भूकम्प दिवसको अवसरमा अर्घाखाँचीमा आयोजना गरिएको यो कार्यक्रमले विपद् व्यवस्थापन केवल सरकारी दायित्व नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी हो भन्ने सन्देश प्रवाह गरेको छ।

यस्तो सचेतनामूलक पहलले भविष्यमा सम्भावित जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
#राष्ट्रिय_भूकम्प_दिवस #अर्घाखाँची #विपद्_जोखिम_न्यूनीकरण #सचेतना_कार्यक्रम #ArghakhanchiDotCom



