दुर्गेश थापाको दमदार प्रस्तुति: सातौँ अर्घाखाँची महोत्सवमा दर्शकको जनसागर


-केशब पन्थी ,अर्घाखाँची डटकम।
अर्घाखाँची। सातौँ अर्घाखाँची महोत्सवअन्तर्गत माघ ३ गते शनिबार महोत्सव स्थल पूर्ण रूपमा उत्सवमय बनेको छ। आजको मुख्य आकर्षणका रूपमा रहेका चर्चित गायक तथा कलाकार दुर्गेश थापाको ऐतिहासिक र दमदार सांगीतिक प्रस्तुती ले महोत्सवमा उपस्थित हजारौँ दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो।

वृद्ध बुवाआमादेखि युवायुवती र साना केटाकेटीसम्म दुर्गेश थापाका लोकप्रिय गीतमा झुम्दै नाचिरहेका दृश्यले महोत्सव स्थललाई सांगीतिक उन्मादले भरिएको रंगमञ्चमा परिणत गरेको थियो। उनका गीतसँगै दर्शकले दिएको साथ, ताली र हुटिङले वातावरण झनै गुञ्जायमान बनेको थियो।

दुर्गेश थापाको अर्घाखाँची आगमन केही ढिलाइ भए तापनि महोत्सव स्थलमा उपस्थित हजारौँ दर्शकले धैर्यताका साथ उनलाई पर्खिरहेका थिए। कार्यक्रम सुरु हुनुअघि नै स्टेज अगाडि र महोत्सव स्थलका चारैतिर दर्शकको विशाल भीड देखिएको थियो। उनी स्टेजमा उक्लिनासाथ “दुर्गेश थापा हाई हाई” को नारासहित ताली र हुटिङले सम्पूर्ण वातावरण उत्साहले भरिएको थियो।

आफ्ना चर्चित तथा लोकप्रिय गीतहरू एकपछि अर्को प्रस्तुत गर्दै दुर्गेश थापाले दर्शकलाई निरन्तर नचाइरहे। विशेषगरी साना नानीबाबुहरूलाई स्टेजमै बोलाएर आत्मीय रूपमा नचाएको दृश्य सबैका लागि आकर्षणको केन्द्र बनेको थियो। बालबालिकासँगको उनको सरल, माया र आत्मीय व्यवहारले अभिभावक तथा दर्शकलाई थप उत्साहित बनाएको देखिन्थ्यो।

आजको कार्यक्रम हेर्न महोत्सवमा हालसम्मकै सबैभन्दा धेरै दर्शकको उपस्थिति रहेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। स्टेज अगाडि मात्र नभई महोत्सव स्थलका हरेक कुनामा दर्शकहरू गीतसँगै झुम्दै, हात हल्लाउँदै रमाइरहेका थिए। यस्तो दृश्यले सातौँ अर्घाखाँची महोत्सवको लोकप्रियता र दर्शकको उत्साहलाई स्पष्ट रूपमा झल्काएको थियो।

कार्यक्रममा अर्घाखाँचीकै चर्चित स्थानीय कलाकार सम्झना रणपाल ले पनि उत्कृष्ट सांगीतिक प्रस्तुति दिएकी थिइन्। उनका गीतमा दर्शकले भरपूर साथ दिँदै महोत्सवलाई थप रंगीन बनाएका थिए। स्थानीय र राष्ट्रिय कलाकारको संयोजनले महोत्सवलाई अझै सन्तुलित, प्रभावशाली र स्मरणीय बनाएको उपस्थित दर्शकको प्रतिक्रिया थियो।

आजको सांगीतिक कार्यक्रमको सञ्चालन सञ्चारकर्मी कमल बिष्ट ले गर्नुभएको थियो। उनले कार्यक्रमलाई व्यवस्थित, अनुशासित र मनोरञ्जनात्मक रूपमा अघि बढाउँदै कलाकार र दर्शकबीच उत्कृष्ट समन्वय कायम गर्न सफल हुनुभएको थियो।

सातौँ अर्घाखाँची महोत्सवले राष्ट्रिय तथा स्थानीय कलाकारलाई एउटै मञ्चमा उभ्याउँदै अर्घाखाँचीको कला, संस्कृति र पहिचानलाई राष्ट्रियस्तरसम्म प्रवर्द्धन गर्दै आएको छ।

माघ ३ गते दुर्गेश थापाको ऐतिहासिक प्रस्तुतिले महोत्सवलाई अझै अविस्मरणीय र ऐतिहासिक बनाएको आयोजक तथा सहभागी दर्शकहरूको साझा प्रतिक्रिया रहेको छ।
थप तस्बिर :




































#DurgeshThapa #ArghakhanchiMahotsav #7thArghakhanchiMahotsav #LiveConcertNepal #NepaliMusic #FestivalVibes #CulturalEvent #HistoricShow #CrowdExplosion #Arghakhanchi #arghakhanchicom



