शीतलहरका कारण देशका विभिन्न ठाउँमा ३२ को मृत्यु


 

विराटनगर  – शीतलहरका कारण देशका विभिन्न ठाउँमा ३२ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका अनुसार महोत्तरीमा १२, रौतहटमा ७, धनुषामा ५, सिराहा र रुपन्देहीमा ३/३ तथा डोल्पा र मोरङमा एक/एक जनाको मृत्यु भएको छ ।

मन्त्रालयले शीतलहर प्रभावित जिल्लालाई आवश्यक प्रतिकार्यका लागि थप स्रोतसाधन परिचालन गर्न निर्देशन दिएको बताएको छ । यस्तै शीतलहरको प्रभाबबाट बच्न सूचनामूलक कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।

 

‘सदरमुकाम तथा नगरपालिका एवं गाउँ क्षेत्रको सार्वजनिक स्थलमा आगो बाल्ने कार्यहरू सञ्चालन भइरहेका छन्,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शीतलहर प्रभावित व्यक्तिहरूको उपचारार्थ स्वास्थ्य टोली बस्तीमा पठाउन निर्देशन दिइएको छ ।’

 

साथै मन्त्रालयले शीतलहरबाट प्रभावितलाई आवश्यक औषधोपचारको सहयोग जुटाउने बताएको छ ।