

-केशब पन्थी ,अर्घाखाँची डटकम।
अर्घाखाँची । चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजनामा सञ्चालन भइरहेको सातौँ अर्घाखाँची महोत्सव अन्तर्गत माघ ११ गते अन्तिम दिन सन्धिखर्कको कुडुलेस्थित महोत्सव स्थलमा भव्य समापन कार्यक्रम सम्पन्न भएको छ।

अन्तिम दिन चर्चित कलाकार भावना आचार्यको सांगीतिक प्रस्तुतिसँगै महोत्सव औपचारिक रूपमा समापन गरिएको हो।



समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला रहनुभएको थियो भने विशेष अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको उपस्थिति रहेको थियो।

साथै कार्यक्रममा महोत्सव सफल बनाउन सहयोग गर्ने विभिन्न संघ–संस्था, व्यवसायी, सुरक्षाकर्मी तथा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

समापन कार्यक्रममा महोत्सव सञ्चालनमा सहयोग पुर्याएका संघसंस्था, सहयोगी निकाय तथा विभिन्न मिडियाहरूलाई सम्मान गरिएको थियो।

सम्मान कार्यक्रमले आयोजक संस्थाले सहकार्य र योगदानलाई कत्तिको महत्व दिएको छ भन्ने स्पष्ट सन्देश दिएको सहभागीको प्रतिक्रिया थियो।

अन्तिम दिन पनि सातौँ अर्घाखाँची महोत्सव स्थल सन्धिखर्कको कुडुलेमा दर्शकको राम्रो जमघट देखिएको थियो। विभिन्न पालिकाबाट आएका दर्शक, परिवार, युवायुवती तथा बालबालिकाले समापन कार्यक्रमको भरपूर अवलोकन गरेका थिए।

महोत्सव अवलोकन गर्न आएका अर्घाखाँचीबासीले चेम्बर अफ कमर्स अर्घाखाँचीले गरेको व्यवस्थापनप्रति खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले जिल्लाको पहिचान र विकासमा टेवा पुग्ने प्रतिक्रिया दिएका छन्।


समापन समारोहमा आयोजक संस्था चेम्बर अफ कमर्स अर्घाखाँचीका वरिष्ठ उपाध्यक्ष लिलाधर बस्यालले स्वागत मन्तव्य राख्नुभएको थियो।

महोत्सव समापन कार्यक्रमको अध्यक्षता आयोजक संस्था अध्यक्ष अशोककुमार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव प्रेम थापाले गर्नुभएको थियो।

समापन मन्तव्यका क्रममा वक्ताहरूले सातौँ अर्घाखाँची महोत्सवले व्यापार, पर्यटन, कला, संस्कृति तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

महोत्सव अवधिभर जिल्लाका स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, व्यापारिक स्टल, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम र मनोरञ्जनात्मक गतिविधिले महोत्सवलाई सफल बनाएको उनीहरूको भनाइ थियो।


चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजनामा सम्पन्न सातौँ अर्घाखाँची महोत्सवले जिल्लाको आर्थिक, सांस्कृतिक तथा सामाजिक गतिविधिमा सकारात्मक सन्देश दिएको सहभागीहरूको निष्कर्ष रहेको छ।

आगामी वर्षहरूमा अझ व्यवस्थित र भव्य रूपमा महोत्सव आयोजना गरिने आयोजक संस्थाले प्रतिबद्धता व्यक्त गरेको छ।
थप तस्बिर :















#arghakhanchicom #arghakhanchidotcom #अर्घाखाँची_महोत्सव #भावना_आचार्य #कुडुले #भव्य_कार्यक्रम #सांगीतिक_कार्यक्रम #तस्बिरसहित #NepalEvents



