अर्घाखाँची: शितगंगा र जुकेनाका युवाहरूको प्रश्नमा रास्वपा उम्मेदवार हरिप्रसाद भुसालको प्रतिबद्धता: “राजनीति व्यक्तिगत लाभका लागि होइन, प्रणाली सुधारका लागि हो”

शितगंगा र जुकेनाका युवाहरूको प्रश्नमा रासपा उम्मेदवार हरिप्रसाद भुसालको प्रतिबद्धता: “राजनीति व्यक्तिगत लाभका लागि होइन, प्रणाली सुधारका लागि हो”

 

– अर्घाखाँची डटकम सम्बाददाता ।

सन्धिखर्क, अर्घाखाँची। अर्घाखाँची जिल्लाको समग्र विकास र विशेष गरी भौगोलिक रूप रूपमा विकट सितगंगा नगरपालिकाको भविष्यलाई लिएर देश तथा विदेशमा रहेका युवाहरू र राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का उम्मेदवार हरिप्रसाद भुसालबीच विशेष ‘अनलाइन संवाद’ सम्पन्न भएको छ।

केमिकल इन्जिनियरिङमा स्नातकोत्तर गर्नुभएका अंकित बेलबासेको सक्रियता र कार्यक्रम सञ्चालनमा सम्पन्न उक्त संवादलाई मोहन अधिकारीजुकेनाका युवाहरूले संयोजन गरेका थिए। सितगंगा र जुकेना क्षेत्रका युवाहरूद्वारा आयोजित उक्त कार्यक्रममा उम्मेदवार भुसालले अर्घाखाँचीको विकासका लागि आफ्नो स्पष्ट मार्गचित्र प्रस्तुत गर्दै युवाहरूका तिखा प्रश्नहरूको सामना गर्नुभयो।

बसाइँसराइ र बेरोजगारी: जिल्लाको मुख्य चुनौती

संवादका क्रममा उम्मेदवार भुसालले अर्घाखाँचीको सबैभन्दा ठूलो समस्या बसाइँसराइ र बेरोजगारी भएको औंल्याउनुभयो। “अर्घाखाँचीमा विकराल समस्याको रूपमा बसाइँसराइ देखिएको छ, जसले गर्दा बस्तीहरू पातलिँदै गएका छन् र घरहरू रित्तिएका छन्,” उहाँले भन्नुभयो। विशेष गरी सितगंगा नगरपालिकामा जंगली जनावर (बँदेल) को आतंक र कमजोर पूर्वाधारका कारण कृषिको व्यवसायीकरण हुन नसक्दा युवाहरू पलायन हुनुपरेको उहाँको निष्कर्ष थियो। यी समस्या समाधानका लागि मापन योग्य योजना र पाइलट परियोजनाहरू मार्फत नतिजा देखाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

सितगंगालाई ‘आर्थिक करिडोर’ बनाउने योजना

सितगंगा नगरपालिका भौगोलिक रूपमा अर्घाखाँचीको झण्डै आधा भाग ओगट्ने भए पनि राज्यबाट सधैँ उपेक्षित भएको भन्दै युवाहरूले प्रश्न उठाएका थिए। यसको जवाफमा भुसालले आफूले जिल्लामा सबैभन्दा बढी समय सितगंगामै बिताएको र यहाँको भूगोललाई नजिकबाट चिनेको बताउनुभयो। उहाँले भन्नुभयो, “यदि हामी निर्वाचित भयौँ भने सितगंगालाई तराई र पहाड जोड्ने एउटा आर्थिक करिडोरको रूपमा विकास गर्नेछौँ।” उहाँले स्थानीय कच्चा पदार्थमा आधारित साना तथा घरेलु उद्योगहरूको पहिचान गरी युवा र महिलाहरूलाई सस्तो ऋण र प्राविधिक तालिम सुनिश्चित गर्ने योजना सुनाउनुभयो।

प्रदेश सभा खारेजी र प्रशासनिक पुनर्संरचना

संवादमा संघीयता र प्रदेश संरचनाको औचित्यमाथि पनि बहस भएको थियो। उम्मेदवार भुसालले आफ्नो पार्टी र व्यक्तिगत धारणा स्पष्ट पार्दै प्रदेश सभा खारेजीको पक्षमा उभिनुभयो। “हामी प्रदेश सभा खारेजीको पक्षमा छौँ, किनकि यसले राज्यलाई अनावश्यक आर्थिक भार थोपरेको छ,” उहाँले तर्क गर्नुभयो। उहाँले प्रदेशलाई केन्द्र र स्थानीय तह जोड्ने एउटा समन्वयकारी ‘पुल’को रूपमा मात्र विकास गर्नुपर्ने र त्यहाँ प्रत्यक्ष निर्वाचित गभर्नर रहने मोडेल प्रस्तुत गर्नुभयो। यसले खर्चिलो संरचना घटाएर सेवा प्रवाहलाई प्रभावकारी बनाउने उहाँको विश्वास छ।

शिक्षामा सुधार: विद्यालय ‘मर्ज’ र आवासीय अवधारणा

शिक्षा क्षेत्रको खस्कँदो गुणस्तरबारे सोधिएको प्रश्नमा भुसालले विद्यालयहरूमा हुने राजनीतिक हस्तक्षेप नै मुख्य समस्या भएको बताउनुभयो। विद्यार्थी संख्या न्यून भएका विद्यालयहरूलाई गाभ्ने (Merge) र ग्रामीण आवासीय विद्यालयको अवधारणालाई सार्थक बनाउन बस सेवाको व्यवस्था गरिनुपर्नेमा उहाँले जोड दिनुभयो। सामुदायिक विद्यालयका शिक्षकहरूलाई उत्तरदायी बनाउन प्रोत्साहन प्याकेज र नियमित सार्वजनिक कार्यसम्पादन मूल्यांकन पद्धति लागू गरिने उहाँको बाचा छ।

सडक पूर्वाधार र सुशासनको एजेन्डा

विवादित अर्घा विमानस्थलको विषयमा बोल्दै भुसालले विमानस्थल भन्दा पहिले सन्धिखर्क-गोरुसिंगे सडकलाई दुई लेनको र गुणस्तरीय बनाउनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो। साथै, सुपा देउराली मन्दिरको आर्थिक पारदर्शिताका लागि चार्टर एकाउन्टेन्टमार्फत अडिट गराउने र चुनढुङ्गा खानीका कारण वातावरणमा पर्ने असरबारे विज्ञहरूबाट अध्ययन गराएर मात्र अघि बढ्ने स्पष्ट पार्नुभयो।

समापन र युवा नेतृत्वको भूमिका

कार्यक्रमका प्रस्तोता अंकित बेलबासेले यो संवादलाई विकास यात्रामा युवा र नेतृत्वबीचको निरन्तर संवादको सुरुवातका रूपमा लिइएको बताउनुभयो। संयोजक मोहन अधिकारी र जुकेनाका युवाहरूको तर्फबाट उठाइएका जिज्ञासाहरूले जिल्लाको वास्तविक समस्यालाई उजागर गरेको कार्यक्रममा चर्चा गरिएको थियो।

अन्त्यमा, उम्मेदवार भुसालले आफू विगत १५ वर्षदेखि निजी व्यवसायमा संलग्न रहेकाले राजनीतिलाई कमाउने माध्यम नबनाउने र जवाफदेही नेतृत्व दिने दाबी गर्दै थप सुझावका लागि आफ्नो सम्पर्क सधैँ खुला रहने बताउनुभयो।

स्रोत: सितगंगा र जुकेना केन्द्रित युवा संवाद कार्यक्रमको भिडियो (Link) –

1- https://www.facebook.com/share/v/1ANsjhjEbc/

2- https://www.facebook.com/share/v/1SNniuPzkW/

#arghakhanchicom #arghakhanchidotcom #हरि_प्रसाद_भुसाल #रास्पा #शितगंगा #जुकेना #युवा_सक्रियता #राजनीति #सिस्टम_सुधार #NepalPolitics #लोकतान्त्रिक_प्रतिभागिता

Nepal life insuranceimagesimages