काठमाडौं – पाँच वर्षअघि अनमिनले प्रमाणीकरण गरेका १९ हजार ६ सय २ माओवादी लडाकुमध्ये आधा दर्जनभन्दा बढी भारतीय नागरिक रहेको खुलासा भएको छ । विशेष समितिले लडाकुको वर्गीकरण गर्ने क्रममा यो तथ्य प्रकाशमा आएको हो ।
‘अहिले जनमुक्ति सेनामा ६ जना भारतीय छन्, उनीहरूले नेपालको विद्रोहमा ऐक्यबद्धता जनाएकाले स्वैच्छिक अवकाशको प्याकेज दिइनुपर्छ,’ दोस्रो डिभिजनका कमान्डर सुकबहादुर रोक्काले बताए । ६ मध्ये एकजनाले चाहिँ नेपाली सेनामा समायोजनका निम्ति इच्छा देखाएका छन् ।
विशेष समितिका एक सदस्यका अनुसार माओवादी लडाकुमा सामेल ती भारतीय नागरिकमध्ये एकले आफू नेपालमा आइक्रिम बेच्न आएको र बाटामा माओवादीले भेटेर भर्ती गरिदिएको बताएका छन् । अनमिनले तयार पारेको तथ्यांकमा प्रमाणित एक लडाकु पनालालकुमार चौधरीको ठेगाना भारतको बिहार प्रान्तको मोतिहारी भनेर लेखिएको छ ।
‘आफू नेपाली भएको प्रमाणित गर्न नसकेपछि हामीले उनीहरूलाई सर्वेक्षणमा सहभागी गराएनौं,’ विशेष समिति सचिवालय स्रोतले भन्यो, ‘हामी विवाद नहोस् भन्ने चाहन्थ्यौं, त्यसैले उनीहरूलाई नेपाली नागरिक भएको पर्याप्त प्रमाण लिएर आउनुहोस् भन्यौं ।’
यसबारे सचिवालय संयोजक बालानन्द शर्माले विशेष समिति संयोजक एवं प्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस र एमालेतर्फका समिति सदस्यहरूलाई जानकारी गराएका थिए । ‘अनमिनको अभिलेखसँग मेल नखाएका एक दर्जनजति लडाकुका फाराम हामीले अघि नबढाइराखेका छौं,’ संयोजक शर्माले भने ।
भारतीय स्वतन्त्रता आन्दोलनमा नेपाली राजनीतिज्ञ सहभागी भएको स्मरण गर्दै केही लडाकुले ‘जनयुद्ध’ मा भारतीय नागरिकको सहभागितालाई पनि नकारात्मक हिसाबले हेर्न नहुने जिकिर गरेका छन् । तिनलाई पनि विशेष समितिले उपलब्ध गराएको प्याकेज दिन लडाकु कमान्डरहरूले सरकारलाई दबाब दिइरहेका छन् ।
‘बेनी आक्रमणमा दार्जिलिङबाट आएका एक जना हाम्रा शुभचिन्तक युवकले सहादत पाएका थिए,’ दोस्रो डिभिजन कमान्डर रोक्काले भने । उनले उल्लेख गरेका युवक २३ वर्षे धनराज गुरुङ हुन्, जो भारतको दार्जिलिङछेउ कालचिनीबाट ‘जनयुद्ध’ लड्न भनेर आएका थिए र माओवादीले ०६० चैतमा म्याग्दीको सदरमुकाम बेनीमा हमला गर्दा मारिएका थिए ।
डिभिजन कमान्डर रोक्काले आफ्ना शिविरमा रहेका भारतीय लडाकुहरूको भारतका कुनै पनि कम्युनिस्ट पार्टीसँग कुनै सम्बन्ध पनि नरहेको स्पष्ट पारे । कान्तिपुर



