आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

Nepal life insurance

१- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा आफू नेतृत्वको सरकारले गोली चलाउने आदेश नदिएको दाबि गरेका छन् । बुधबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै ओलीले सरकारको आदेशमा उक्त दिन गोली नचलेको र सरकारले आदेश पनि नदिएको पुन: दोहोराएका छन् । उनले भनेका छन्- ‘ एउटा पक्षले भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेको छ; मानौं प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको हो भन्नेजस्तो । यो कुरा पूर्ण रूपमा निराधार छ। हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश  दिन सोच्न पनि सक्दिनँ ।’ ओलीले सरकारले त्यतिबेला घुसपैठको सम्भावना भएकाले माइतीघरमा प्रदर्शन रोक्ने निर्णय लिएको उल्लेख गर्दै जब युवाहरूले शान्तिपूर्ण सभाको अनुमति मागे, प्रशासनले सहजै अनुमति दिएको र आफु स्वयंले पनि अघिल्लो दिन जेनजी सुझबुझ भएका हाम्रा युवाहरू अनुशासित र सचेत छन् भनेर सार्वजनिक रूपमा भनेको उल्लेख गरेका छन् । साथै, उनले माइतीघरमा बिहान सुरु भएको  जेनजी प्ररदर्शन शान्तिपूर्वक चलेको र त्यसमा लाठी प्रहार र गोली नचलेको बताएका छन् । ओलीले योजनाबद्ध रूपमा केही समूहले बालबालिका र स्कुल ड्रेसमा रहेका नानीबाबुलाई अगाडि राखेर संसद् भवनसम्म पुर्‍याउन खोजेको आरोप लगाउदै उनीहरूलाई संसद् भवन आक्रमण हुनथाले सुरक्षा निकायले कानुन अनुसार बल प्रयोग गर्नैपर्छ भन्ने थाहा भएको बताएका छन् । उनले संसद भवनअघि आगो लगाउने प्रयास र विष्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानुनले ‘आन्दोलन’ होइन, ‘राज्यविरुद्धको  हमला’ मान्ने बताउदै संसद भवन भित्र सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चलेको र त्यसपछि २ घण्टासम्म भएका घटनाले सबैलाई कहिल्यै नमेटिने घाउ दिएको उल्लेख गरेका छन् । ओलीले खुला रूपमा कुनै पनि मञ्चमा बसेर उत्तर दिन तयार रहेको बताउदै सामाजिक सञ्जालमा गरिएका गलत प्रचारमा नलाग्न सबैलाई आग्रह गरेका छन् ।

२- प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले शिष्टाचार भेट गरेकी छन् । बुधबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सम्पन्न भेटमा दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको थियो । उक्त अवसरमा राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रुपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै उनको नेतृत्वमा आगामी निर्वाचन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गरेकी थिइन् । साथै नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, जलवायु, दिगो विकास लगायत क्षेत्रमा नर्वेले सघाउँदै आएको स्मरण गराउँदै उनले आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरिन । प्रधानमन्त्री कार्कीले पनि असामान्य परिस्थितिमा आफू सरकारमा आउनुपरेको तर अब विस्तारै मुलुक सामान्य अवस्थामा फर्किँदै चुनावमा होमिएको बताइन् । नर्वेसहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त विश्वास र समर्थनका लागि उनले धन्यवाद पनि दिइन् । प्रधानमन्त्री कार्कीसँग राजदूत मियोसको यो पहिलो भेट हो ।

३- जनता समाजवादी पार्टी नेपालले आठ नेतालाई निष्कासित गरेको छ । अर्को दलबाट उम्मेदवार बनेको र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै जसपा नेपालले पूर्वमन्त्री प्रदिप यादवसहित आठ नेतालाई बुधबार निष्कासित गरेको हो । निष्कासितमा पर्नेहरूमा प्रदीप यादव, चन्दनकुमार सिंह, आत्माराम साह, कमरुल्लाह अन्सारी, उदयकान्त मिश्र, हरिनारायण यादव, नवल किशोर सिंह र डा. शिवजी यादव रहेका छन् । जसपा नेपालले भनेको छ- ‘आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रत्यक्ष तर्फ जनता समाजवादी पार्टी, नेपालको नीति तथा निर्णय विपरीत पार्टीको आधिकारिक उम्मेदवारहरूको विरुद्ध, उम्मेदवारी दिने तथा पार्टीको हीत, पार्टी अनुशासन र विधान विपरीत कार्य गरेकोले तपसिलका व्यक्तिहरूलाई आजकै मितिबाट लागू हुने गरी पार्टीबाट निष्काशन गरिएको व्यहोरा जानकारी गराउँदछौं । प्रदिप यादव नेकपा एमालेमा प्रवेश गरि पर्सा- १ बाट उम्मेदवार बनेका छन् ।

४- युक्रेनविरुद्धको युद्धमा लड्न अस्वीकार गर्ने रुसी सैनिकहरूलाई आफ्नै कमाण्डरहरूले कडा सजाय दिइरहेको खुलासा भएको छ ।  यस्तै कमाण्डरले आफ्ना सैनिकलाई कडा सजाय दिएको एक भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ । भिडियोमा, केही सैनिकहरू चिसोमा नाङ्गो पारेर रूखमा बाँधिएका छन्, कडा चिसोमा काँपिरहेका छन् । एउटा भिडियोमा, एक वरिष्ठ अधिकारीले जबरजस्ती एक सिपाहीको मुखमा बरफ भरिदिन्छन्, जबकि सिपाहीले माफी माग्छ । अधिकारीले उनलाई चिच्याउछन्, उनले आदेशको अवज्ञा गरेको र आफ्नो पद त्याग्न खोजेको भन्दै कराउछन् । मिडिया रिपोर्टका अनुसार, यी सैनिकहरूलाई युक्रेनविरुद्धको युद्धमा भाग लिन अस्वीकार गरेकोमा सजाय दिइएको हो । युक्रेनी च्यानल बुटुसोभ प्लसले अवस्थालाई जर्ज ओर्वेलको पुस्तक एनिमल फार्मसँग तुलना गर्दै रूसमा मानिसहरूलाई जनावर जस्तै व्यवहार गरिएको उल्लेख गरेको छ । यसैबीच, युक्रेनमा रुसको आक्रमण जारी छ, तापक्रम माइनस २० डिग्रीमा झरेको छ । हालैको आक्रमणपछि, खार्किभको लगभग ८० प्रतिशत भाग विद्युतविहीन भएको छ ।

५- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको अनियमितता बारे विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालत गएको छ । अख्तियारले  नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालिन निर्देशक मुरारी भण्डारी र उपप्रबन्धक नल विक्रम थापालाई धरौटीमा रिहा गर्ने विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्चमा निवेदन दिएको जानकारी दिएको छ । विशेष अदालतले गत मङ्सिर २१ मा भण्डारीलाई ५ लाख धरौटीमा र थापालाई माघ १२ गते साढे २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो  । अख्तियारले भण्डारी र थापासहित नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदिप अधिकारीलगायत ७ जनाविरुद्ध नलिन्चोक हेलिपोर्ट निर्माण प्रक्रियामा १३ करोड ५७ लाख ४६ हजार अनियमितता भएको ठहर गर्दै सो बराबरको रकम बिगो माग गर्दै मुद्धा दायर गरेको थियो । आयोगले नलिन्चोकमा नयाँ हेलिपोर्ट निर्माणका लागि अनिवार्य हुने सम्भाव्यता अध्ययन नगरी, पूर्व सहमति तथा कानूनी प्रक्रिया बाइपास गर्दै मनपरी रूपमा डिजाइन, लागत अनुमान, डीपीआर  र खरिद प्रक्रिया अघि बढाइएको निष्कर्ष निकालेको थियो ।

६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् । डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका हुन् । गुल्मी-२ बाट प्रतिनिधि सभाको उम्मेदवार समेत बनेका सागरले प्रचारको क्रममा अघिल्लो चुनावको अनुभव सुनाउने क्रममा डडेल्धुराका युवाले होटलमा ४०-५० हजारको रक्सि मासु खाइदिएको उल्लेख गरेको भिडियोप्रति उनको सामाजिक सञ्जालमा आलोचना भएको थियो । खासगरी डडेल्धुरा र सुदूरपश्चिममा यस क्षेत्रको अपमान गरेको भन्दै घटनाको विस्तृत विवरण सार्बजनिक गर्न माग भएको थियो । उनले भनेका छन्- ‘डडेलधुराका मान्सलाई धेरै-धेरै धन्यवाद। तमरो १३,०४२ मतले अब यो देश बन्नाउन लाग्या छ । ठुला सपना धेख्दा साना-तिना गल्ती हुनाइछन, माफ गरिदिया । तमरो माया कइलेइ नभुलुँलो । डडेलधुराबाटी गुल्मी जान लाग्या छु, फेरि छिट्टै भेटौँला ।’

७- बंगलादेश र नेदरल्याण्डस आइसीसी महिला टी-२० विश्वकपमा छनौट भएका छन् । काठमाडौँमा जारी ग्लोबल क्वालिफायर्सअन्तर्गतका पहिलो खेल जितेसँगै नेदरल्याण्डस र बंगलादेश महिला टी-२० विश्वकपमा छनौट भएका हुन् । बुधबारको खेलमा बंगलादेशले थाइल्याण्डलाई पराजित गरेको थियो भने बर्षाले प्रभावित खेलमा नेदरल्याण्डसले अमेरिकालाई डिएलएस मेथड अनुसार २१ रनले पराजित गरेको थियो । ग्लोबल क्वालैफायर्सबाट चार देश विश्वकपमा छनौट हुनेमा नेदरल्याण्डस र बंगलादेशले आफ्नो स्थान सुरक्षित गरेपछि बाँकी दुई स्थानका लागि स्कटल्याण्ड, आयरल्याण्ड, अमेरिका र थाइल्याण्ड प्रतिष्पर्धामा रहेका छन् ।

८- बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट, सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर अधिकारीसमेत ५ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बित्थडचिर गाउँपालिका, वडा नम्बर ९ स्थित सुनकुडा माध्यमिक विद्यालयको ३ तले, १२ कोठे भवन निर्माणका क्रममा २६ लाख ५४ हजार ६८३ अनियमितता भएको पाइएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ । अख्तियारले विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर अधिकारी, प्रधानाध्यापक धन बहादुर विष्ट र लेखापाल हर्क बहादुर विष्टलाई २६ लाख ५४ हजारको बिगो माग गरेको छ भने बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट र गाउँपालिकाका तत्कालीन सव-इन्जिनियर किरण भण्डारीलाई जनही २० लाख एक हजार ७७९ बिगो माग गरेको छ ।

९- नेप्से आज सामान्य बढेको छ । बुधबार नेप्से ५.३८ अंकले बढेर २७३१.८९ विन्दुमा पुगेर रोकिएको छ । आज ३३४ कम्पनिका २ करोड ३६ लाख १८ हजार १८६ कित्ता शेयर ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १८५ मा कारोबार भएको थियो । आज बैंकिङ, लगानीम जीवन बीमा, माइक्रो फाइनान्स र निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंक र अन्खु खोला हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने मिथिला लघुवित्तको शेयर ९.५१ प्रतिशतले बढेको छ ।  त्यसैगरी आज सबैभन्दा बढी गुडविल फाइनान्सको डिभेन्चरको मुल्य ८.०७ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला हाइड्रोकोको ८३ करोड ५७ लाखको कारोबार भएको छ भने राढ़ी विद्युतको ५४ करोड ३६ लाख कारोबार भएको छ ।

१०- दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम क्योन हीलाई घुसखोरीको मुद्दामा २० महिनाको जेल सजाय सुनाइएको छ । यो फैसला उनी विरुद्धका तीन मुद्दामध्ये एकमा आएको हो । किम जेलमा परेका पूर्व राष्ट्रपति युन सुक योलकी पत्नी हुन् । सोलस्थित जिल्ला अदालतले उनलाई विवादास्पद धार्मिक संस्था, युनिफिकेशन चर्चबाट महँगो उपहार स्वीकार गरेकोमा दोषी ठहर गरेको हो । यसमा च्यानल ह्यान्डब्याग र ग्राफ-ब्रान्डेड हीराको हार समावेश छ । अदालतले किमले आफ्नो पद व्यक्तिगत लाभको लागि प्रयोग गरेको र विलासी उपहार स्वीकार गर्न इच्छुक रहेको फैसला सुनाएको छ । यद्यपि, प्रमाणको अभावमा उनी शेयर बजार हेरफेर र स्वतन्त्र राय सर्वेक्षण सञ्चालन गरेको आरोपबाट मुक्त भएकी छन् । यो फैसला पूर्व राष्ट्रपति दम्पतीको लागि ठूलो धक्का मानिएको छ । युन ही पहिले नै मार्शल ल र देशद्रोहको आरोपमा जेलमा छन्, जबकि किम वर्षौंदेखि स्टक हेरफेर, नक्कली डिग्री र विलासी उपहारसँग सम्बन्धित विवादहरूमा फसेका छन् । युनिफिकेशन चर्च पहिले नै विवादमा फसेको छ र पूर्व जापानी प्रधानमन्त्री शिन्जो आबेको हत्यामा संलग्न छ । दक्षिण कोरियाको इतिहासमा पहिलो पटक पूर्व राष्ट्रपति र उनकी श्रीमती सँगै जेलमा रहेका छन् ।

११- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता भड्किन छाडेर नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गरेका छन् । विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट विद्रोह गरी चिरञ्जीवी ढकालसहित विभिन्न तहका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा स्वागत गर्दै प्रचण्डले यस्तो आग्रह गरेका हुन् । उनले जेन्जी आन्दोलनपछि विप्लव राजनीतिक रूपमा ठूलो तुहिँलोभित्र हराएको टिप्पणी गर्दै इतिहासमा विरलै प्राप्त हुने अवसर गुमाएको बताए । प्रचण्डले भने- ‘हामीले नेपाली कम्युनिस्ट पार्टी यसै आवेगमा बनाएका होइनौँ। एकताको प्रक्रियामा तपाईंहरूले निकै ठूलो महत्व पाउँदै हुनुहुन्थ्यो ।’ समाजवादी मोर्चालाई नै नेपाली कम्युनिष्ट पार्टीको रुपमा अगाडि बढाउन चाहेको आफु र माधव नेपाले विप्लवलाई निकै ठुलो महत्व दिएको भएपनि एकताबाट विप्लव विना कारण पछाडि हटेको उनको भनाई थियो । एकतामा समावेस नभएपनि विप्लवप्रति आफ्नो कुनै घृणा वा आक्रोश नरहेको स्पष्ट पार्दै उनले नेकपा नै विप्लव समूहको वास्तविक घर भएको उल्लेख गरे । उनले भने- ‘यताउता भड्किनुपर्ने कुनै आवश्यकता छैन। आजभोलि यताउता भड्किँदा केही हुनेवाला छैन ।’ प्रचण्डले पुरानो सहयात्रीको नाताले आफुले विप्लवलाई माया र भरोसा गरेको बताउँदै आत्मसमिक्षा गरी नेकपामै फर्किन आग्रह गरे । उनले अझै पनि नेकपामा समावेश भई अघि बढ्ने अवसर बाँकी रहेको बताए । उनले भने- ‘यो आत्मसमिक्षा गर्ने बेला हो। तपाईंहरूको अवसर अझै गुमिसकेको छैन ।’ सो क्रममा प्रचण्डले निर्वाचन नजिकिँदै गर्दा पनि देशको असहज परिस्थिति पूर्णरुपमा समाधान नभैसकेको उल्लेख गरे । नेकपा माओवादीका नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनले देश फेरि अर्को दुर्घटनातर्फ जान सक्ने खतरा औँल्याए । उनले भने- ‘चुनाव अगाडि छ, तर यो चुनावले के दिन्छ भन्नेबारे अझै कन्फ्युजन छ । यदि हामी एकताबद्ध भएर देशव्यापी अभियानमा गएनौँ भने देश फेरि अर्को दुर्घटनातिर जान सक्छ ।

१२- राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा बुधबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् ।  माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनबाट १८ जना निर्वाचित भएका छन् ।  सो अवसरमा आयोगका आयुक्तद्वय सगुनशमशेर जबरा र डा. जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरू सहभागी थिए ।

१३- सर्लाहीको गोडैता नगरपालिकाका चार वडाध्यक्ष नेपाली कांग्रेस प्रवेश गरेका छन् । गोडैता नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुजित महतो, २ का अध्यक्ष अजयप्रसाद शाह, ५ का अध्यक्ष प्रकाश गुप्ता र वडा नम्बर ११ का अध्यक्ष विश्वनाथ पण्डितलाई सभापति गगन थापाले पार्टीमा स्वागत गरेका छन् ।  उनीहरुले सभापति थापालाई सर्लाही ४ मा जिताउने प्रतिबद्धता व्यक्त गर्दै काँग्रेसमा प्रवेश गरेको बताएका छन । गत स्थानीय तह निर्वाचनमा वडा नम्बर १, २ का अध्यक्ष नेकपाबाट, वडा नम्बर ५ का अध्यक्ष जसपा नेपाल तथा वडा नम्बर ११ का अध्यक्ष एमालेबाट निर्वाचित भएका थिए । त्यस्तै कार्यक्रममा गत प्रदेश सभा निर्वाचनमा बहुजन पार्टीबाट सर्लाही ४ को २ मा उम्मेदवार रहेका कृष्णकुमार कुशवाह पनि कांग्रेस प्रवेश गरेका छन् । सर्लाही-४ मा सभापति थापाको प्रतिष्पर्धा रास्वपाबाट उम्मेदवार बनेका डा. अमरेश कुमार सिंहसँग हुदैछ । उनी यसै क्षेत्रका निवर्तमान सांसद हुन् ।

१४-  होटल फरेस्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गर्ने भएको छ ।  कम्पनीले प्रति इकाई १०० को दरले ३३ लाख २० हजार कित्ता शेयर सर्बसाधारणका लागि खुला गर्न लागेको हो । आईपीओको लागि माघ २२ गतेदेखि २६ गतेसम्म र पर्याप्त आवेदन नपरेमा फागुन ८ गतेसम्म खुला हुने बताइएको छ । कम्पनीको जारी पूँजी २ अर्ब रहेको छ । यसमध्ये २० प्रतिशत  अर्थात् ४० लाख इकाई शेयर, सर्वसाधारणका लागि जारी गरिने भनिएकोमा यसको १० प्रतिशत ले हुन आउने ४ लाख कित्ता शेयर यसअघि नै विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई बाँडफाँड गरिएको थियो । सर्वसाधारणको लागि निष्कासन गरिएको शेयरमध्ये २ प्रतिशत अर्थात् ८० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ र कुल प्रस्तावित शेयरको ५ प्रतिशत अर्थात् २ लाख कित्ता म्युचुअल फन्डहरूका लागि छुट्याइएको छ । त्यसपछि बाँकी रहेको ३३ लाख २० हजार कित्ता शेयर सर्वसाधारणका लागि खुला गर्न लागिएको हो । आईपीओ निष्कासनको लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन प्रबन्धकको रूपमा नियुक्त गरिएको छ । यस आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता शेयरक आवेदन दिन सकिने छ । केयर रेटिङ्स नेपाल लिमिटेड (सीआरएनएल) ले होटल फरेस्ट इन प्राइभेट लिमिटेडको दीर्घकालीन बैंक सुविधाहरूलाई ‘केयर-एनपी बीबी-’ रेटिङ दिएको छ । यसले मध्यम जोखिमलाई जनाउछ ।

१५-  नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको ९ हजार ५ सयले बढेर तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि मंगलबार सुन तोलाको ३ लाख ९ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४३० रुपैयाँले बढेर तोलाको ७३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि मंगलबार चाँदी तोलाको ६८७०  रुपैयाँमा कारोबार भएको थियो ।

१६- भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएको छ । बुधबार बिहान विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको समाचार एजेन्सी एएनआईले जानकारी दिएको छ । दुर्घटनामा उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको छ भने यस दुर्घटनामा अन्य पाँच जनाको पनि ज्यान गएको उल्लेख छ । विमानमा अजित पवारसहित उनका निजी सहायक, सुरक्षाकर्मी र उडान परिचारिका सहित पाँच जना रहेको बताइएको छ ।अजित पवार आज जिल्ला परिषद्को चुनावको सन्दर्भमा आयोजित जनसभालाई सम्बोधन गर्न बारामती पुगेका थिए । पवार चार्टर्ड विमानबाट मुम्बईबाट बारामती गएका थिए । अवतरण गर्ने क्रममा विमान धावनमार्गबाट ​​चिप्लिएको बताइएको छ ।

१७- जिल्ला प्रहरी कार्यालय मुस्ताङले जिल्लाका अधिकांश क्षेत्रमा हिमपात भइरहेकाले यात्रामा सावधानी अपनाउन आग्रह गरेको छ । प्रहरीले बुधबार बिहानै मुक्तिनाथ लगायत उपल्लो मुस्ताङका क्षेत्रमा हिमपात परिरहेको र बाटो अवरुद्ध भएकाले यो क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको हो । हिमपात भएपछि सडक अवरुद्ध हुदा मुक्तिनाथलगायतका क्षेत्रममा गएकाहरु बाटोमै रोकिएको प्रहरीले जनाएको छ । प्रहरीले राति देखि परेको अविरल वर्षाका कारण मुस्ताङ जिल्लाको बारागुङ मुक्तिक्षेत्र गा.पा. ४ कागवेनीदेखि माथि अपर मुस्ताङमा अविरल हिमपात भएको हुँदा बाटो बन्द भएको जानकारी दिएको छ ।

१८- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ । प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरुलाई आर्थिक बिषयसँग सम्बन्धित विषयमा फरकफरक कार्य गर्ने जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकिएको छ । निर्वाचनलार्य स्वच्छ, निष्पक्ष पारदर्शी एवं विश्वासनीय रुपमा सम्पन्न गर्न आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याइएको छ । आचारसंहिता, यही माघ ४ गतेदेखि लागु गरेको थियो । मतदानको दिन नजिक आउदै गर्दा आयोगले तिब्र गतिमा तयारी गरिरहेको छ । जस अनुसार आयोगले अहिलेसम्म समानुपातिकतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सोमबार नै सम्पन्न गरिसकेको छ भने प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ सोमबारदेखि नै शुरु भएको छ ।

१९- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको एउटा तस्बिर सामाजिक सञ्जालमा द्रुत गतिमा भाइरल भइरहेको छ । तस्बिरमा नेतान्याहू कालो कारको छेउमा उभिएर, कालो ज्याकेट र सेतो शर्ट लगाएर, आफ्नो मोबाइल फोनमा कुरा गरिरहेको देखिन्छ । सो तस्बीर देखिएको उनको फोनका कारण तस्बीर भाइरल भएको छ । तस्बिरमा नेतान्याहूको मोबाइल फोनमा क्यामेरा क्षेत्रलाई छोप्ने टेप वा स्टिकर रहेको देखिएको छ । यसले मानिसहरूलाई उनले कुन फोन प्रयोग गरिरहेका छन् र क्यामेरा किन छोपिएको छ भनेर प्रश्न उठाएको छ । यद्यपि, धेरैजसो प्रयोगकर्ताहरू नेतान्याहूले कुनै पनि चिनियाँ फोन वा एप प्रयोग नगर्ने कुरामा सहमत देखिन्छन् । यो इजरायलमा सुरक्षा चिन्ताको कारणले भएको देखिन्छ, जसले लामो समयदेखि निगरानी, ​​ह्याकिङ र विदेशी प्रविधिविरुद्ध सतर्कता कायम राख्न उनले क्यामरामा टेप लगाएको टिप्पणी धेरैले गरेका छन् । साइबर सुरक्षा विज्ञहरूका अनुसार, फोन क्यामेरा छोप्नु विश्वभरका राजनीतिज्ञ, गुप्तचर अधिकारी र वरिष्ठ अधिकारीहरूमाझ सामान्य रहेको छ । क्यामेरा र माइक्रोफोन ह्याकिङ मार्फत दुरुपयोग गर्न सकिने हुनाले यसो गर्ने गरेको विज्ञहरु बताउछन् ।

२०- बलिवुडका चर्चित गायक अरिजित सिंहले पार्श्व गायनबाट अवकाशको घोषणा गरेका छन् । अरिजित सिंहले अब पार्श्व गायकको रूपमा कुनै पनि नयाँ काम नलिने घोषणा गरेका हुन् । उनले यस्तो घोषणाले उनका फ्यान र बलिवुड जगतलाई चकित पारेको छ । अरिजित सिंहले इन्स्टाग्राममा एक पोस्ट साझा गर्दै पार्श्व गायनबाट अवकाशको घोषणा गरेका हुन् । उनले भनेका छन्- ‘नमस्ते, तपाईंहरू सबैलाई नयाँ वर्षको शुभकामना । वर्षौंदेखि श्रोताको रूपमा मलाई यति धेरै माया दिनुभएकोमा धन्यवाद । म यो घोषणा गर्न पाउँदा खुसी छु कि अबदेखि, म पार्श्व गायकको रूपमा कुनै पनि नयाँ काम लिने छैन । म यो पेशालाई बिदाइ गर्दैछु । यो एक अद्भुत यात्रा भएको छ ।’ उनले भनेका छन्- ‘भगवानले ममाथि धेरै दया गर्नुभएको छ । म राम्रो संगीतको प्रशंसक हुँ र भविष्यमा, म सानो कलाकारको रूपमा धेरै कुरा सिक्नेछु र आफैंले धेरै काम गर्नेछु । तपाईंको समर्थनको लागि फेरि धन्यवाद । म यो स्पष्ट पार्न चाहन्छु कि म संगीत बनाउन छोड्ने छैन ।’ अरिजितले केवल प्लेब्याक गायनबाट अवकाश लिएको तर उनी संगीत सिर्जना गरिरहने स्पष्ट गरेका छन् । अरिजित सिंह हाल बलिवुडका ठूला गायकहरू मध्ये एक हुन् । उनलाई प्रेमको पर्यायवाची मानिन्छ । उनले गाउने हरेक रोमान्टिक गीत सुपरहिट हुन्छ । यसैकारण अरिजितको ठूलो फ्यान फलोइङ छ । गायक हुनुको साथै, उनी एक संगीतकार र संगीत निर्माता पनि हुन् । उनले २००५ मा रियालिटी शो ‘फेम गुरुकुल’ मा भाग लिएर आफ्नो करियर सुरु गरेका थिए । उनले २०११ मा मर्डर २ को ‘फिर मोहब्बत’ गीतबाट हिन्दी फिल्ममा डेब्यू गरेका थिए । अरिजितले ‘तुम ही हो’, ‘बिनते दिल’, ‘चन्ना मेरे’, ‘ए दिल है मुश्किल’, ‘केसरिया’, ‘तेरे इश्क में’, ‘गेहरा हुआ’ जस्ता धेरै यादगार गीतहरू दिएका छन् । उनले दुईवटा राष्ट्रिय चलचित्र पुरस्कार सहित धेरै पुरस्कार प्राप्त गरिसकेका छन् । उनलाई २०२५ मा पद्मश्रीबाट पनि सम्मानित गरिएको थियो ।

#नेपालसमाचार #ब्रेकिङन्युज #आजकासमाचार #राजनीति #अर्थतन्त्र #खेलकुद #स्वास्थ्य #शिक्षा #पर्यटन #समाज #नेपाल #मुख्यसमाचार #NewsUpdate #NepalNews #Top20News

Nepal life insuranceimagesimages