

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले मुलुकको कार्यकारी प्रमुख राष्ट्रपति हुनुपर्ने प्रश्तावसहितको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलनगरी सो पार्टीका महासचिव विप्लवले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने व्यवस्थामा जोड दिएर आफ्नो पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको बताउनुभएको हो ।
घोषणा पत्रमा प्रतिनिधि सभा पूर्ण सभानुपातिक हुनुपर्ने र सरकारमा विज्ञहरुको सहभागितालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ । महासचिव विप्लवले प्रतिनिधि सभामा सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व गराउनेगरी पूर्णसमानुपातिक हुनुपर्ने प्रश्ताव गरिएको बताउनु भयो । उहाँले सरकारमा विज्ञहरुको उपस्थितिलाई बलियो बनाउने कुरालाई घोषणा पत्रमा प्राथमिकता दिइएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘संविधान पुनर्लेखन गरिनेछ । विभिन्न जाति, क्षेत्र र लिंगका मानिसहरुको अधिकारलाई सुनिश्चित गरिनेछ । शासकीय स्वरुपमा नेपालको कार्यकारी प्रमुख राष्ट्रपति प्रणालीमा जानुपर्छ भनेर हामीले यहाँ प्रस्ताव गरेका छौ । त्यो राष्ट्रपतीय प्रणालीमा जाँदा संविधानको नयाँ व्यवस्था र राज्यको नयाँ पुनर्संरचनासहित जाँदा शासकीय स्वरुप राष्ट्रपति र त्यसको त्यसको निर्वाचन प्रत्यक्ष जनताद्धारा हुने व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो दोस्रो व्यवस्था छ । प्रतिनिधिसभा पूर्ण समानुपातिक हुनुपर्छ । विज्ञसहितको कार्यपालिका हुनुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ ।’
घोषणा पत्रमा युवाहरुको विदेश पलायनलाई रोक्नका लागि देशभित्रै रोजगारीको अवस्था सृजना गर्ने, भारतसँग गरिएको कुनैपनि खालका असमान सन्धि सम्झौता खारेज गर्ने लगायतका बुदा समावेश गरिएका छन् । महासचिव विप्लवले आर्थिक क्षेत्रको विकासका लागि आम जनतालाई उत्पादनमा जोडनेगरी काम गर्नुपर्ने प्रतिवद्धता पनि आफूहरुको रहेको बताउनु भयो । संविधान पुनर्लेखनको विषयलाई घोषणा पत्रमा उल्लेख गरिएको छ ।
#विप्लव #नेकपामाओवादी #घोषणापत्र #कार्यकारीराष्ट्रपति #Election2082 #NepalPolitics #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



