

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नो सरकारले १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको छ । यसका साथै अवैध वा घृणास्पद सामग्री फैलाउने वा त्यस्ता सामग्रीलाई बढावा दिन एल्गोरिदम प्रयोग गर्ने प्लेटफर्महरूमाथि पनि नियमन कडा पारिने उहाँले बताउनु भयो ।

दुबईमा आयोजित वल्र्ड गभर्नमेन्ट समिटलाई सम्बोधन गर्दै सान्चेजले यी उपायहरूको उद्देश्य डिजिटल प्लेटफर्महरूसँग जोडिएका बढ्दो जोखिमहरूबाट नाबालिगहरूलाई सुरक्षित राख्नु रहेको बताउनु भयो ।

उहाँले यी प्लेटफर्महरू युवा प्रयोगकर्ताहरूका लागि झन्–झन् असुरक्षित हुँदै गएको उल्लेख गर्नुभयो । स्पेन सरकारले सामाजिक सञ्जाल कम्पनीहरूको कानुनी दायित्वलाई सुदृढ गर्न अर्को हप्ता नयाँ विधेयक पेश गर्ने योजना बनाएको छ । सान्चेजकाअनुसार यसमा अवैध सामग्री हटाउन असफल हुने वरिष्ठ अधिकारीहरूमाथि दायित्व निर्धारण गर्ने विषय समावेश हुनसक्छ । उहाँले प्रविधि कम्पनीहरूलाई थप जिम्मेवार बन्न आग्रह गर्दै सरकारले अब सामाजिक सञ्जाल प्लेटफर्ममा हुने दुरुपयोगलाई बेवास्ता गर्न नसक्ने बताउनु भयो ।

स्पेनले अनलाइनमा घृणास्पद र ध्रुवीकरण गर्ने सामग्रीहरूको विस्तारलाई निगरानी गर्न र जवाफदेहिता सुधार गर्न नयाँ संयन्त्रहरू पनि विकास गर्ने बताउनु भयो । १६ वर्षभन्दा कम उमेरकालाई लगाइने प्रश्तावित प्रतिबन्धबारे स्पष्ट पार्दै सान्चेजले बालबालिकाहरूमा अनलाइन दुव्र्यसन, दुरुपयोग, हेरफेर र हिंसात्मक वा स्पष्ट सामग्रीहरूको जोखिम बढ्दै गएको बताउनु भयो ।
उमेरको प्रतिवन्धलाई कडाइका साथ लागू गर्न सरकारले प्रभावकारी संयन्त्रहरू ल्याउने उनले जानकारी दिनुभयो ।



