

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आइतबार स्वास्थ्य बीमा बारे भिडियो मार्फत पार्टीको धारणा सार्बजनिक गर्दै सभापति थापाले सबै नागरिकलाई अनिवार्य बीमाको व्यवस्था गर्ने र राष्ट्रिय गौरवको योजनाको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अहिले स्वास्थ्य बीमाको सहि कार्यान्वयन नहुदा बन्द हुने अवस्थामा पुगेको उल्लेख गर्दै थापाले यसको चुहावट रोक्न र सहित कार्यान्वयन गर्न आफुहरुले योजना बनाइरहेको उल्लेख गरेका छन् ।
उनले सबैलाई अनिवार्य बीमा गर्ने, न्यून आय भएकाहरुको प्रिमियम सरकार तिरिदिने, चुहावट रोक्ने तथा रक्सी चुरोटमा अतिरिक्त कर लगायर बीमाको रकम भुक्तानी गर्ने व्यवस्था मिलाउने बताएका छन् ।
सभापति थापाले यस योजनाले सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच दिलाउने र स्वास्थ्य क्षेत्रमा दीगो सुधार ल्याउने दाबि गर्दै योजना कार्यान्वयन गर्दा पारदर्शिता, प्रभावकारिता र दीगो सञ्चालन सुनिश्चित गर्ने योजना आफुहरुसँग रहेको बताएका हुन् ।
यस अघि थापा २०७३ मा स्वास्थ्यमन्त्री हुदा स्वास्थ्य बीमाको अवधारणा पहिलो पटका शुरु गरेका थिए ।



