दक्षिण कोरियामा ९ वर्षपछि बढ्यो जन्मदर, दीर्घकालीन टिकाउमा अझै प्रश्न

 

काठमाडौँ । दक्षिण कोरियाले जनसंख्या बढ्दो दरमा देखिएपछि ठुलो राहत महसुस गरेको छ ।

तथ्यांकअनुसार, एक दशकभन्दा लामो समयदेखि घट्दै आएको जन्मदर पछिल्लो एक वर्षयता क्रमशः बढ्दै गएको छ, जसलाई सरकारका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ ।

सन् २०२४ मा दक्षिण कोरियाको प्रजनन दर ०.७४८ पुगेको छ, जुन नौ वर्षपछि पहिलोपटक वृद्धि हो । लगातार १७ महिनादेखि अघिल्लो वर्षको तुलनामा मासिक जन्म संख्या बढिरहेको सरकारी तथ्यांकले देखाएको छ । विज्ञहरूले कोभिड–१९ का कारण ढिलाइ भएका विवाह र सन्तान योजनाले अहिले ‘क्याच अप प्रभाव’ देखाएको विश्लेषण गरेका छन् ।

यद्यपि, बढ्दो जीवनयापन खर्च, कडा कार्यसंस्कृति, महँगो शिक्षा प्रणाली र परम्परागत सामाजिक सोच अझै ठूलो चुनौती बनेका छन् । धेरै महिलाले गर्भवती भएपछि जागिर छाड्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन् । निजी ट्युसन र बाल हेरचाहको अत्यधिक खर्चका कारण दक्षिण कोरिया सन्तान हुर्काउन सबैभन्दा महँगो देशमध्ये एक मानिन्छ ।

सरकारले आवास, बाल हेरचाह अनुदान, अभिभावक बिदा र नगद सहायता जस्ता नीति लागू गरे पनि विज्ञहरू यो वृद्धि दीर्घकालीन हुनेमा सशंकित छन् । संरचनात्मक र सांस्कृतिक समस्या समाधान नगरेसम्म जन्मदर पुनः घट्न सक्ने चेतावनी उनीहरूको छ ।

 

Nepal life insuranceimagesimages