आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

Nepal life insurance

१- नेपाल आयल निगमले एलपी ग्याँसको सहज आपूर्ति तथा विक्री वितरणका लागि फ्रेबुअरी महिनाको लागि २ हजार मेट्रिक टन थप गरेको र दैनिक औसत ११० बुलेट ग्याँस आयात भइरहेको जानकारी दिएको छ । निगमले काठमाडौं उपत्यकामा बजारीकरण गर्ने करिव २३ वटा ग्यास उद्योगहरु मध्ये केही ग्यास उद्योगहरुको पछिल्लो विक्री वितरणलाई हेर्दा दैनिक करिव ४० हजार सिलिण्डर बजारमा उपलब्ध गराइराखेको जनाएको छ । निगमबाट एल.पि.ग्यास वितरणलाई सहज गर्न निरन्तर प्रयासका बाबजुद पनि हाल काठमाडौं उपत्यकामा ग्यासको माग उच्च नै देखिएको अवस्थामा काठमाडौं उपत्यकामा बजारीकरण गर्ने केही ग्यास उद्योगहरु मध्ये हाल बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेष्ट ग्यास, साइवावा ग्यास तथा श्री कृष्ण ग्यास ब्राण्डका ग्यास सिलिण्डरहरु डिलर मार्फत नपाएको अवस्थामा निगमको हटलाईन नम्बर ०१-५९७१९०२ ( कार्यालय समय भित्र) मा सम्पर्क गर्न आग्रह गरेको छ । साथै निगमले तत्काल आवश्यक मात्रामा ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको छ ।

२- प्रधानमन्त्री सुशीला कार्कीले २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउने उद्देश्यका साथ सञ्चालित प्रशिक्षणलाई निरन्तरता दिन निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता, राष्ट्रिय टोली तयारी निर्देशक ओलम्पियन दीपक विष्ट, उपनिर्देशक दीपक श्रेष्ठसहितको टोलीसँगको भेटमा यस्तो निर्देशन दिएकी हुन् । आगामी असोजमा जापानमा हुने खेसियाली खेलकुदको तयारीमा कुनै कमी हुन निदन आवश्यक बजेट र अन्य बन्दोबस्त मिलाउन पनि प्रधानमन्त्री कार्कीले सदस्यसचिव मेहतालाई निर्देशन दिएकी छन् । राखेपले एसियाली खेलकुदमा पदकलाई लक्षित गरी दुई वर्षदेखि १० खेलका ११ टिमलाई विशेष प्रशिक्षण दिँदै आएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेटले यही माघ महिनासम्म कार्यक्रम सञ्चालन हुने भएपछि बाँकी रकम व्यवस्थापनका लागि रकमको व्यवस्था गरिदिन निर्देशक विष्टले अनुरोध गरेका थिए । युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग पनि आवश्यक समन्वय गर्न भनेकी छन् । प्रधानमन्त्री कार्कीले राम्रो तयारी गरी लक्ष्य पूरा गर्न भन्दै फागुन २१ को निर्वाचनलगत्तै विशेष प्रशिक्षण जारी राख्न पनि निर्देशन दिएकी छन् ।

३- इटालीका पहाडी क्षेत्रमा गएको एक सातामा १३ जना ब्याककन्ट्री स्कीयर, पर्वतारोही र हाइकरको मृत्यु भएको छ । तीमध्ये १० जनाको मृत्यु असाधारण रूपमा अस्थिर हिमपातका कारण आएको हिमपहिरोमा परेर भएको इटालीको पर्वतीय उद्धार टोलीले जनाएको छ । यो घटना शीतकालीन ओलम्पिक प्रतियोगिता सुरु भएकै समयमा भएको हो । इटालीको अल्पाइन रेस्क्यु कोरका अनुसार हालै आएका आँधीबेहरीका कारण परेको ताजा हिउँ र कमजोर आन्तरिक तहमा हावाले जम्मा गरेको हिउँले फ्रान्स, स्विट्जरल्यान्ड र अष्ट्रियासँग सीमा जोडिएका सम्पूर्ण अल्पाइन क्षेत्रमा अत्यन्त जोखिमपूर्ण अवस्था सिर्जना गरेको छ । मृत्यु भएका अधिकांश घटना राम्रोसँग मर्मत र निगरानी नभएका ढलानहरूमा भएका छन्, जुन ओलम्पिकका सुरक्षित र नियन्त्रित स्थलहरूभन्दा टाढा रहेका थिए । उद्धारकर्मीहरूले मौसम खराबीपछि छोटो समयको राम्रो मौसमको फाइदा उठाउँदै पहाडतर्फ जाने पर्यटकहरूको संख्या बढेकाले दुर्घटना र मृत्युदर पनि बढेको बताएका छन् । उनीहरूले हिमपहिरोसम्बन्धी चेतावनी पालना गर्न र हिउँ स्थिर नहुन्जेलसम्म यात्रा स्थगित गर्न आग्रह गरेका छन् । हालैको सप्ताहन्तमा मात्रै लोम्बार्डीमा दुई, ट्रेन्टिनोमा तीन र दक्षिण टायरोलमा एक स्कीयरको हिमपहिरोमा मृत्यु भएको थियो । मृतकमध्ये केही मार्मोलाडा हिमनदी क्षेत्रमा भएका छुट्टाछुट्टै हिमपहिरोमा परेका थिए ।

४- जिम्बाबेले जारी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ । सोमबार श्रीलंकाको कोलम्बोमा सम्पन्न खेलमा जिम्बाबेले ८ विकेटको जित हासिल गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । ओमानले दिएको १०४ रनको लक्ष्य पछाएको जिम्बाबेले १३.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । जिम्बाबेका लागि ब्रियन बेनेटले अविजित ४८ रन बनाएका थिए ।  यसअघि समुह बी अन्तर्गतको यस खेलमा ओमानले टस हारेर पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा १०३ रन बनाएर अल आउट भएको थियो । ओमानका लागि विनायक शुक्ला, सुफयान मेहमूदले २५ र नदीम खानले २० रन बनाएका थिए । त्यस्तै जिम्बाबेका  बलर रिचार्ड एन्गाराभा, ब्लेसिंग मुजाराबानी र ब्राड इभान्सले ३-३ विकेट लिएका थिए । त्यस्तै सिकन्दर राजाले एक विकेट लिएका थिए । यो जितपछि अब जिम्बाबेले आगामी शुक्रबार अस्ट्रेलियासँग खेल्ने तालिका छ भने ओमानले अर्को खेल विहिबार श्रीलंकाविरुद्ध खेल्ने तालिका छ ।

५- नेपालका लागि नियुक्त संयुक्त राष्ट्रसंघ (यूएन) की नयाँ आवासीय प्रतिनिधि (यूएनआरसी) लिला पिटर्स याहियाले प्रधानमन्त्री सुशीला कार्की समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् । प्रमाणपत्र प्रस्तुत गरेपछि याहियाले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट समेत गरेकी थिइन् । सो अवसरमा प्रधानमन्त्री कार्कीले नेपालमा स्वागत गर्दै उनलाई नयाँ जिम्मेवारीका लागि बधाई ज्ञापन गरेकी थिइन् । प्रधानमन्त्री कार्कीले नेपालको सामाजिक–आर्थिक रुपान्तरणका प्रयासमा दीर्घकालीन विकास साझेदारका रूपमा संयुक्त राष्ट्रसंघले पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरेकी थिइन् ।

६-  साउदी अरेबियाले देशका लाखौं ऊँटहरूको राहदानी जारी गर्ने घोषणा गरेको छ । यो पहलले देशलाई यी बहुमूल्य जनावरहरूलाई राम्रोसँग व्यवस्थापन गर्न मद्दत गर्ने बताइएको छ । साउदी अधिकारीहरूका अनुसार, यो पहलले ऊँट पालनको फाइदा बढाउनेछ र जनावर पहिचान र मालिकहरूको भरपर्दो डाटाबेस सिर्जना गर्नेछ । वातावरण, पानी र कृषि मन्त्रालयले सम्बन्धित कागजातहरू सार्बजनिक गरेको छ ।  २०२४ सम्मको आँकडा अनुसार साउदी अरबमा लगभग २२ लाख ऊँटहरू रहेका थिए । यी ऊँटहरूले प्रत्येक वर्ष देशको अर्थतन्त्रमा दुई अर्ब रियालभन्दा बढी योगदान गर्छन् ।  अरब समाचारका अनुसार, विश्वभर लगभग ३ करोड ५० लाख ऊँटहरू छन्, जसमध्ये १ करोड ७० लाख अरब देशहरूमा छन् । यस सन्दर्भमा अरब देशहरूमध्ये सोमालिया पहिलो स्थानमा छ, त्यसपछि सुडान, मौरिटानिया, साउदी अरेबिया र यमन छन् । ऊँट साउदी अरेबियाको राष्ट्रिय प्रतीकको हिस्सा हो । देशमा ऊँट सौन्दर्य प्रतियोगिता र प्रदर्शनीहरू पनि आयोजना गरिन्छ, जहाँ उत्कृष्ट ऊँटहरूलाई पुरस्कार प्रदान गरिन्छ । राष्ट्रिय दिनहरू, विशेष अवसरहरू र ऐतिहासिक अवसरहरूमा साउदी अरेबियाको प्रदर्शनीहरू ऊँट बिना अपूर्ण मानिन्छन् । साउदी अरेबिया र अरब खाडी देशहरूमा ऊँटहरूको भूमिकाको लामो इतिहास छ ।

७- सरकारले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको म्याद २५ दिन थप गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद २५ दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । योसँगै आयोगको प्रतिवेदन फागुन २१ को चुनावअघि नआउने भएको हो । आयोगको म्याद तेस्रो पटक थपिएको हो । यसअघि पुस ३ गतेको मन्त्रिपरिषद् बैठकले एक महिना थपेको थियो भने  र माघ ८ गतेको बैठकले २० दिनको म्याद थपेको थियो । सरकारले गत असोज ५ गते जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । शुरुमा यस आयोगको कार्यकाल सुरुमा तीन महिना तोकिएको थियो ।

८- नवलपरासी पश्चिमको महेन्द्र माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरीसहित दुई जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतोमा विद्यालयको नाममा रहेको एक विगहा १० कठ्ठा १० धुर जग्गाको कुनै पनि निर्णय नगरी ५ फिट गहिरो माटो निकाली १० लाख ८ हजार ७०३ बराबरको बेचबिखन गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ । अख्तियारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरी र रामग्राम नगरपालिका-४ का दिनेश यादव विरुद्ध १० लाख ८ हजार बिगो माग गर्दै मुद्धा दायर गरेको जनाएको छ ।

९- इरानले परमाणु बारे अमेरिकी दबाबलाई कडाइका साथ अस्वीकार गरेको छ । इरानले सैन्य धम्की वा नयाँ प्रतिबन्धहरूको सामना गर्नु परे पनि, कुनै पनि परिस्थितिमा आफ्नो युरेनियम संवर्धन कार्यक्रम नत्याग्ने बताएको हो । तेहरानमा एक सार्वजनिक कार्यक्रममा इरानी विदेशमन्त्री अब्बास अराघचीले इरानको आणविक नीतिलाई धम्की दिएर परिवर्तन गर्न नसकिने बताउदै अमेरिकाको मनसायमा कुनै विश्वास नरहेको बताएका हुन् । उनको यो बयान यस्तो समयमा आएको हो जब इरान र अमेरिकाबीच धेरै वर्षपछि ओमानमा वार्ता पुनः सुरु भएको छ । इरान आफूमाथि लगाइएको कडा आर्थिक प्रतिबन्ध हटाउन चाहन्छ, जबकि अमेरिका इरानको आणविक कार्यक्रम रोक्न चाहन्छ । अराघचीले स्पष्ट रूपमा युरेनियम संवर्धन कुनै पनि परिस्थितिमा इरानको लागि वार्ताको विषय नभएको बताएका छन् । उनले कुनै पनि देशलाई युद्धको धम्की दिए पनि इरानलाई के गर्ने भनेर बताउने अधिकार नभएको बताए । उनले यस क्षेत्रमा अमेरिकी सैन्य तैनाथी, जस्तै यूएसएस अब्राहम लिंकन विमान वाहकको उपस्थितिले इरानलाई रोक्न असफल हुने चेतावनी समेत दिएका छन् । अमेरिकालाई विश्वास गर्न गाह्रो भएको र वासिङ्टनले साँच्चै कूटनीतिक समाधान खोजेको छ कि छैन भन्ने कुरा स्पष्ट नभएको उनको दाबि थियो । उनले इरानले आफ्नो स्वतन्त्रता र मर्यादा उल्लङ्घन गर्ने कुनै पनि सम्झौतामा प्रवेश नगर्ने कुरा दोहोर्‍याए । पश्चिमी देशहरू र इजरायलले लामो समयदेखि इरानले आणविक हतियार विकास गर्न खोजेको आरोप लगाउदै उनले इरानले यसलाई अस्वीकार गर्ने बताए । यसैबीच, अमेरिकाले इरान वरिपरि आफ्नो सैन्य शक्ति निरन्तर प्रदर्शन गरिरहेको छ। इरानसँगका अमेरिकी वार्ताकार स्टीव विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार जेरेड कुशनरले हालै युएसएस अब्राहम लिंकन विमान वाहकको भ्रमण गरेका थिए । इरान र अमेरिकाबीचको आणविक मुद्दामा फेब्रुअरी ६ मा ओमानमा वार्ता भएको थियो । ट्रम्पले त्यसलाई धेरै राम्रो भनेपनि वार्ता निष्कर्ष बिना टुंगिएको थियो । यद्यपि, वार्ताको तुरुन्तै पछि, ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमा नयाँ शुल्क लगाउने आदेश जारी गरे । इरानी तेल निर्यातमा संलग्न कम्पनीहरू र जहाजहरूमा पनि नयाँ प्रतिबन्धहरू लगाइयो । थप वार्ता अर्को साता हुने बताइएको छ ।

१०- जेफ्री एपस्टाइनसँग सम्बन्धित फाइल्सबारे नयाँ जानकारी सार्वजनिक भएपछि बेलायतका प्रिन्स अफ वेल्स विलियम र प्रिन्सेस क्याथरिनले गहिरो चिन्ता व्यक्त गरेका छन् । केनसिङ्टन प्यालेसका अनुसार सार्वजनिक भएका अमेरिकी दस्तावेजमा उल्लेखित विवरणप्रति उनीहरूको ध्यान पीडितहरूतर्फ केन्द्रित भएको छ । एपस्टाइनसँग सम्बन्धका कारण फेरि प्रश्न उठिरहेका एन्ड्र्यु माउन्टब्याटन विन्डसरबारे पनि चासो बढेको छ । प्यालेसले प्रिन्स र प्रिन्सेस पीडितहरूको पक्षमा रहेको स्पष्ट पारेको छ । यस विषयमा आफ्नो पहिलो सार्वजनिक प्रतिक्रियामा, शाही प्रवक्ताले अमेरिकामा जारी गरिएका कागजातहरूमा खुलासा गरिएको नयाँ जानकारीको प्रकाशमा राजकुमार विलियम र राजकुमारी क्याथरिनहरूको ध्यान घटनाका पिडितहरुप्रति रहेको बताएका छन् । गत हप्ता नयाँ फाइल सार्बजनिक भएपछि प्रिन्स एन्ड्रयुले आफ्नो विन्डसर निवास समयभन्दा अगाडि नै छोडेका थिए । बकिङ्घम दरबारले पहिले नै २०२६ को सुरुमा एन्ड्रयुले रोयल लज छोड्ने बताएको थियो । पूर्व राजकुमार अहिले राजा चार्ल्सको निजी सम्पत्ति, स्यान्ड्रिङ्घम इस्टेटमा बस्दै आएका छन् । उनको जेफ्री एपस्टाइनसँग लामो समयदेखिको मित्रता रहेको सार्बजनिक भएका फाइल्सबाट खुलासा भएको थियो ।

११- राष्ट्रिय सभाबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित भएको छ । सोमबारको बैठकमा राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको हो ।  विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायक व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गरेकी थिइन् ।  मन्त्रिपरिषद्को माघ २१ को बैठकले उक्त विधेयक फिर्ता लिन स्वीकृति दिएको थियो ।

१२- नेप्सेमा २६.०५ अंकको गिरावट आएको छ । सोमबार नेप्से २६.०५ अंकले घटेर २६७२.३९ विन्दुमा पुगेर रोकिएको छ । आज ३२४ कम्पनिका २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता शेयर १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज खानीखोला हाइड्रोको शेयर सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ भने रिढी पावरको ९.११ प्रतिशतले बढेको छ । त्यसैगरी आज माइखोला हाइड्रोको शेयर सबैभन्दा बढी ५.४० प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिढी पावरको ७७ करोड १९ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ५४ करोड बराबरको कारोबार भएको छ ।

१३- स्कटल्याण्डले इटालीलाई पराजित गरेको छ । जारी टी–२० विश्वकपको समुह सी अन्तर्गतको खेलमा स्कटल्याण्डले इटालीलाई ७३ रनको फराकिलो अन्तरले पराजित गरेको हो । स्कटल्याण्डले दिएको २०८ रनको लक्ष्य पछाएको इटाली १६.४ ओभरमा अल आउट हुदै १३४ रन बनाएको थियो । इटालीका लागि बेन मानेनटीले ५२ रन बनाएका थिए भने ह्यारी मानेनटीले ३७ रन बनाएका थिए । त्यसैगरी स्कटल्याण्डका बलर माइकल लिस्कले ४ विकेट लिए भने मार्ट वाटले २ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर २०७ रन बनाएको थियो । स्कटल्याण्डका लागि जर्ज मुन्सीले सर्बाधिक ८४ रन बनाएका थिए भने ब्रान्डन म्याकमुलेनले ४१, माइकल जोन्सले ३७ रन बनाएका थिए । त्यसैगरी इटालीका बलर अलि हसन, ग्रान्ट स्टेवार्ट, थोमस ड्राका र जेजे स्मटसले एक एक विकेट लिएका थिए । यस खेलमा इटालीका कप्ताब वाने माडसन घाइते भएका छन् । खेलको चौथो ओभरमा फिल्डिङको क्रममा उनको काँधमा चोट लागेपछि उनी मैदान बाहिर गएका थिए । उनको एक्सरे गर्न अस्पताल लगिएको बताइएको छ । उनी ब्याटिंगका लागि आउन सकेका थिएनन् । यो स्कटल्याण्डको दोस्रो खेलमा पहिलो जित हो भने इटालीले आफ्नो विश्वकपकै पहिलो खेलमा हारबाट शुरुवात गरेको छ । अब इटालीले आगामी विहिबार नेपालसँग खेल्ने छ बने स्कटल्याण्डले आफ्नो तेस्रो खेल आगामी शनिबार इङल्याण्डसँग खेल्ने छ ।

१४- राष्ट्रपति रामचन्द्र पौडेलसँग बेलायती सेनाअन्तर्गत गोरखा ब्रिगेडका कर्नेल कमान्डेन्ट मेजर जनरल जेराल्ड एम. स्ट्रिकल्यान्ड तथा कर्नेल डेभिड जे. रोबिन्सनसहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । सोमबार राष्ट्रपति भवन शितल निवासमा सम्पन्न भेटमा नेपालका लागि संयुक्त अधिराज्य (युनाइटेड किङडम) का राजदूतसमेत सहभागी थिए । सो अवसरमा मेजर जनरल स्ट्रिकल्यान्डले गोरखा ब्रिगेडको सन् २०२५ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेका थिए । भेटका क्रममा नेपाल–बेलायतबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी हित तथा साझा चासोका विषयमा समेत छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

१५- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको माघ २४ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार अ बाट आमाले बक्स अफिसमा शानदार कमाई गरेको छ । माघ १६ गतेदेखि रिलिज भएको आ बाट आमाले बक्स अफिसमा एक सातामा ४ करोड ८० लाख ९० हजार ४८७ कमाई गरेको छ । यस फिल्मका एक लाख ७६ हजार ५५२ टिकट विक्री भएको बोर्डले जनाएको छ । त्यस्तै  फिल्म गोबर गणेशले एक करोड ४० लाख २७ हजार ७६६ कमाई गरेको छ । यस फिल्मको अहिलेसम्म ४९ हजार ५३१ टिकट बिक्रि भएको छ । फिल्म झरी पछिको इन्द्रेणीले एक करोड २९ लाख ५५ हजार ११९ कमाई गरेको छ । अहिलेसम्म झरी पछिको इन्द्रेणीको ४० हजार ८९९ टिकट बिक्री भएको छ ।

१६- जारी टी–२० विश्वकपको पहिलो खेल खेलिरहेको इटालीलाई ठुलो झट्का लागेको छ । स्कटल्याण्डविरुद्धको जारी खेलमा कप्तान वेन म्याड्सेन खेलका क्रममा काँधको चोटका कारण मैदानबाट बाहिरिएका छन् । इडेन गार्डेन्समा स्कटल्यान्डको इनिङ्सको चौथो ओभरमा फिल्डिङ गर्दै गर्दा म्याड्सेनको बाँया काँध डिसलोकेट भएको बताइएको छ । उनी तुरुन्तै चिकित्सकीय उपचारका लागि मैदानबाट बाहिरिए र एक्सरेका लागि अस्पताल लगिएको बताइएको छ । ४२ वर्षीय म्याड्सेन इटालीका सबैभन्दा अनुभवी खेलाडी हुन् । उनको अनुपस्थितिमा स्कटल्यान्डको इनिङ्स बाँकी समय ह्यारी मानेन्टीले कप्तानी सम्हालेका छन् । इटालीले अब फेब्रुअरी १२ मा मुम्बईमा नेपालसँग तथा त्यसपछि इङ्ग्ल्यान्ड र वेष्ट इन्डिजसँग खेल्ने तालिका रहेको छ ।

१७-  जापानमा प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको गठबन्धनले शानदार बहुमत हासिल गरेको छ । आइतबार भएको निर्वाचनमा तकाइचीको पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले ४६५ सदस्यीय जापानको तल्लो सदनमा ३१६ सिट जितेको छ । त्यस्तै एलडिपीसँग गठबन्धन गरेको जापान इनोभेसन पार्टीले ३६ सिट जितेको छ  । जापानमा ४६५ मध्ये २८९ प्रत्यक्ष र १७६ सिट समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ ।  ताकाइचीले जनादेश लिने गरेको निर्णयमा मतदाताले साथ दिदै उनले ओरालो लागेको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) लाई भारी बहुमत दिएर पुनर्जीवित गरेकी छन् । दोस्रो विश्वयुद्धपछिको इतिहासमा पहिलो पटक कुनै एक दलले दुई–तिहाइ बहुमत हासिल गरेको यो ऐतिहासिक नतिजा हो । सत्तारूढ गठबन्धनले कुल मिलाएर ३५२  सिट जितेको छ । प्रधानमन्त्री ताकाइचीले कठ्यांग्रिने चिसो र हिउँले ढाकिएका बाटो पार गर्दै मतदान गर्न पुगेका मतदाताप्रति आभार व्यक्त गर्दै भनिन्- ‘चिसो मौसम र हिउँले भरिएका सडक पार गरेर मतदान गर्न आउनु भएका सबै मतदाताप्रति म हार्दिक धन्यवाद दिन चाहन्छु ।’ उनले जिम्मेवार र सक्रिय वित्तीय नीतिको वकालत गर्दै आएको उल्लेख गर्दै मतदाताबाट स्पष्ट जनादेश चाहेको बताइन् । उनले भनिन्- ‘आर्थिक र वित्तीय नीतिमा ठूला परिवर्तन ल्याउने जिम्मेवार तथा सक्रिय नीति अघि बढाउन मैले जनताको जनादेश चाहेको थिएँ ।’ यस निर्वाचन परिणामले प्रधानमन्त्री ताकाइचीको राजनीतिक पकड थप बलियो बनाएको विश्लेषकहरूले बताएका छन्, भने आगामी दिनमा जापानको आर्थिक र वित्तीय नीतिमा महत्वपूर्ण परिवर्तन देखिन सक्ने संकेत पनि दिएको छ ।

१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको ४ हजार १ सयले बढेर तोलाको ३ लाख ४ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २४० रुपैयाँले बढेर तोलाको ५२५०  मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५०१० मा कारोबार भएको थियो ।

१९- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ संसदले नै जेनजीका माग सम्बोधन गर्न सक्ने बताएका छन् । प्रचण्डले काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा पार्टी प्रवेश कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै भूराजनीतिक चहलखेल र हस्तक्षेपको कोशिस भइरहेको बताउदै चुनावले नै समस्याको समाधान गर्ने बताए । उनले सामाजिक सञ्जालमा स्टन्ट गरेकै भरमा लोकप्रियतावादलाई प्रस्तुत गरेर लोकतन्त्र र समाजवादलाई प्रहार गर्ने कोसिस भएको आरोप लगाए । उनले भने- ‘ अहिले सोसल मिडियामा स्टन्ट गरेका भरमा लोकप्रियतावादलाई प्रस्तुत गरेर लोकतन्त्र र समाजवादलाई प्रहार गर्ने कोसिस भएको छ । विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिज्मलाई समाजवाद र लोकतन्त्रविरुद्ध प्रहार गराउन लगानी गर्छ । नेपालमा पनि अहिले भूराजनीतिक चलखेलबाट हस्तक्षेप गर्ने कोसिस भइरहेको छ । त्यसको प्रतिवाद गर्न हामीले नेपाली कम्युनिष्ट पार्टी बनाएर आएका छौं ।’  प्रचण्डले देशलाई कुनै योगदान नगरेकाहरू सोसल मिडियामा स्टन्ट गरेर राजनीतिमा लोकप्रियतावादको आडमा जित्न खोजेको बताए । प्रचण्डले समानुपातिकबाट पार्टीको हैसियत देखिने भन्दै सबैलाई समानुपातिकमा मत दिन आग्रह गरेका छन् ।

२०- हङकङको एक अदालतले लोकतन्त्र समर्थक मिडिया व्यवसायी जिमी लाइलाई २० वर्षको जेल सजाय सुनाएको छ । बेलायती राहदानी धारण गर्ने जिमी लाइलाई राष्ट्रिय सुरक्षा कानून अन्तर्गत विदेशी सेनासँग षड्यन्त्र गरेको दुई अभियोग लगाइएको थियो । यसका साथै, औपनिवेशिक युगको छुट्टै कानून अन्तर्गत, उनले आफ्नो एप्पल डेली पत्रिकामा देशद्रोहपूर्ण सामग्री प्रकाशित गरेको एउटा अभियोगको सामना गर्नु परेको थियो । एप्पल डेली पत्रिका अब बन्द गरिएको छ । उनी पहिले नै धोखाधडी र गैरकानूनी जमघटमा भाग लिएको दुई अभियोगमा जेल परेका छन् । जिमी लाइले उनीमाथि लागेका सबै आरोपहरू अस्वीकार गरेका छन् । कतिपयले लाइलाई ‘नायक’ मान्छन् भने कतिपयले उनलाई ‘देशद्रोही’ भन्छन् । लाइको परिवारले जेलमा उनको बिग्रँदै गएको स्वास्थ्यको बारेमा बारम्बार चिन्ता व्यक्त गरेका छन् । अधिकारीहरूले उनको स्वास्थ्य राम्रो रहेको र उनको अधिकार ‘पूर्ण रूपमा सुरक्षित’ भइरहेको बताएका छन् । लाइको २० वर्षको सजाय मध्ये दुई वर्ष उनको हालको जेल सजायसँग मिल्नेछ बने  धोखाधडी र अनधिकृत भेलाहरूको लागि उनले थप १८ वर्ष जेलमा बिताउनेछन् । यसको अर्थ उनी २०४४ मा रिहा हुँदासम्म उनी ९६ वर्षका हुने छन् । कैदीहरूलाई सामान्यतया राम्रो आचरणको लागि उनीहरूको जेल सजायको एक तिहाइ छुट दिइन्छ । यदि यो दिइयो भने, लाइलाई २०३७ वा २०३८ को आसपास रिहा गर्न सकिन्छ, जुन समयमा उनी ९० वर्ष पुगिसकेका हुने छन् । सोमबार लाइलाई दिइएको सजायको अतिरिक्त, अदालतले उनको एप्पल डेली पत्रिकाका धेरै पूर्व सहकर्मीहरूलाई पनि दोषी ठहर गरेको छ । एप्पल डेलीसँग सम्बद्ध व्यक्तिहरूमा पूर्व सम्पादक-इन-चीफ रायन ल वाई-क्वोङ, पूर्व कार्यकारी सम्पादक-इन-चीफ लाम मान-चुङ, पूर्व वरिष्ठ सम्पादकीय लेखक फङ वाई-कोङ, पूर्व प्रमुख सम्पादकीय लेखक येउङ चिङ-की, पूर्व सहयोगी प्रकाशक चान पुई-म्यान, र एप्पल डेलीको स्वामित्वमा रहेको मिडिया कम्पनी नेक्स्ट डिजिटलका पूर्व प्रमुख कार्यकारी चेउङ किम-हुङ समावेश छन् ।

#Top20News #DailyNewsBulletin #NepalHeadlines #CurrentAffairs #BreakingNewsNepal #NationalUpdate #NewsHighlights #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages