आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

Nepal life insurance

१- नेपाली कम्युनिष्ट पार्टीले आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड दिँदै प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि संक्षिप्त  प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।  पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित विशेष कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनका पार्टीको संक्षिप्त प्रतिबद्धता सार्वजनिक गरेका हुन् । पार्टीको प्रतिबद्धता पत्रमा वर्तमान अर्थतन्त्रको संरचनागत सङ्कट सम्बोधन गर्ने तथा समाजवादका आधार तयार पार्ने क्रान्तिकारी कदमको रूपमा प्रस्तुत गरिएको छ । विशेषगरी, आयात–व्यापार तथा उपभोगमुखी अर्थतन्त्रबाट उत्पादनमुखी, आत्मनिर्भर तथा समावेशी मोडलमा ‘सिफ्ट’ गर्ने विषयलाई प्रतिबद्धता पत्रले जोड दिएको छ । प्रतिबद्धता पत्रले विगतका नीतिहरूको असफलता विश्लेषण गर्दै नयाँ सुधारलाई ऐतिहासिक आवश्यकतालाई औँल्याएको छ । ‘नयाँ चरणको आर्थिक सुधार’ र सामाजिक न्यायसहितको समृद्धिलाई विशेष जोड दिएर पार्टीले स्वाधिन र समृद्ध नेपाल निर्माणको मार्गचित्र तयार गर्ने गर्ने अग्रसरता लिएको छ । राजनीतिक स्थायित्व,  सुशासन र परिणाममुखी प्रशासनका लागि नेकपाले विशेष पहल गर्ने प्रतिबद्धता पत्रमा व्यक्त गरिएको छ ।  प्रतिबद्धता पत्रमा नेपालको अर्थतन्त्र गहिरो संरचनागत सङ्कटमा फसेको उल्लेख गर्दै विगतका दशकहरूमा अपनाइएका नवउदारवादी नीतिहरूले प्रारम्भिक रूपमा केही उत्पादन र रोजगारी सिर्जना गरे पनि दीर्घकालमा अर्थतन्त्रलाई आयात–निर्भर, गैर–उत्पादनमुखी तथा असमानतापूर्ण बनाएको उल्लेख गरिएको छ ।  ‘व्यापार घाटा बढ्दो छ, राष्ट्रिय बजेट अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ, सिण्डिकेट तथा मिलेमतो संस्थागत छन्, र गरिबी तथा आर्थिक असमानता कायमै छन् । सहकारी तथा गैरसरकारी क्षेत्रमा नियमन अभावले विकृति र दुरुपयोग बढेको छ,’ प्रतिबद्धता पत्रमा भनिएको छ, “संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरे पनि पुरानो नीतिगत ढाँचाले मौलिक हकहरूको कार्यान्वयनमा बाधा पुर्याएको पार्टीको निष्कर्ष छ । बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा पुरानो मोडल व्यवहारिक र औचित्यपूर्ण नभएको भन्दै पार्टीले उत्पादन वृद्धि, रोजगारी सिर्जना, वित्तीय समावेशीता तथा आत्मनिर्भरतामार्फत सामाजिक न्यायसहितको आर्थिक समृद्धिको नयाँ चरण प्रस्ताव गरेको छ ।’ त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले आगामी ५ वर्षभित्र वार्षिक १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य तय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा सो अवधिमा बहुआयामिक गरिबीको दर २०.१५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने लक्ष्य प्रस्तुत गरिएको छ ।

२- सोमालियाको राजधानी मोगादिशुमा एक यात्रु विमान टेकअफ गरेलगत्तै दुर्घटनामा परेको छ । स्टारस्काई एयरलाइन्सको उक्त विमान अदन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही मिनेटमै समुद्रको उथलो पानीमा खसेको बताइएको छ । विमानमा सवार सबै यात्रु सुरक्षित रहेको अधिकारीहरूले बताएका छन् । विमानमा ५० यात्रु रहेको बताइएको छ ।  अधिकारीहरूका अनुसार उचाइ लिनेक्रममा विमानमा प्राविधिक खराबी देखिएको थियो । त्यसपछि पाइलटले विमान नियन्त्रणमा राख्न नसक्दा मोगादिशुको तट नजिकै समुद्री पानीमा खसेको थियो । एयरलाइभले जनाएअनुसार विमान पानीमाथि केही दूरीसम्म फिस्लिँदै अघि बढेपछि अन्ततः समुद्री किनारमा अडिएको छ । दुर्घटनापछिका तस्बिरहरूमा विमानको एक पंखा (विङ) पूर्ण रूपमा छुट्टिएको देखिन्छ । विमानस्थल अधिकारीहरूका अनुसार उद्धार टोलीहरू केही मिनेटमै घटनास्थलमा पुगेका थिए ।

३-  रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुने १२ जना मध्ये ९ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सनाखत हुनेमा ६ जना रामेछापका रहेका छन् भने दोलखाका दुई जना र एक जना सिन्धुलीका रहेका छन् । मृत्यु हुनेमा दोलखाका २५ बर्षिय बबी तामाङ र ६० बर्षिय मान बहादुर तामाङ रहेका छन् भने सिन्धुलीका ३४ बर्षिय शिव श्रेष्ठ रहेका छन् । त्यस्तै रामेछापका २८ बर्षिय दिपेश बस्नेत, ३५ बर्षिय सानुमाया तामाङ, ३१ बर्षिय तारा तामाङ, ३६ बर्षिय भिम बहादुर तामाङ, १६ बर्षिय रमिता तामाङ र २५ बर्षिय दिपेन्द्र बस्नेत रहेअका छन् । प्रहरीले दुर्घटनामा थप ८ जना घाइते भएको र घाइते मध्ये ७ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको जानकरी दिएको छ । साथै बसका चालक सामान्य घाइते रहेको र उपचारपछि प्रहरीको नियन्त्रणमा रहेका छन् । मंगलबार बिहान रामेछाम  काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको प्रदेश ०३-०१-९९५ख९९७५ नम्बरको बस रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशी नदीमा खसेको थियो । घटनास्थलमा उद्धारका लागि सशस्त्र प्रहरी बलको रामेछाप गुल्म र विपद् व्यवस्थाप बेस खुर्कोटबाट गोताखोरसहितको टोली खटिएको थियो ।

४- जारी टी–२० विश्वकप क्रिकेटमा न्यूजील्याण्डले लगातार दोस्रो जित हात पारेको छ । मंगलबार चेन्नईको चेपक मैदानमा सम्पन्न समुह डी अन्तर्गतको खेलमा न्यूजील्याण्डले यूएईलाई १० विकेटले पराजित गरेको हो । यूएईले दिएको १७४ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले १५.२ ओभरमै कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । ओपनर टिम सिफर्टले अविजित ८९ रन तथा फिन एलनले अविजित ८४ रनको उत्कृष्ट पारी खेलेका थिए । दुवैले १७५ रनको अविजित ओपनिङ साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए । यो टी–२० विश्वकप इतिहासमा न्यूजील्याण्डका ओपनरहरूबीचको सबैभन्दा ठूलो साझेदारी हो । साथै यो पुरुष टी-२० विश्वकपमा कुनै पनि विकेटको लागि सबैभन्दा ठूलो साझेदारी हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो। कप्तान मुहम्मद वासिमले ६६ रनको योगदान दिए भने अलिशान शराफुले ५५ रन जोडेका थिए । न्यूजील्याण्डका बलरमध्ये म्याट हेन्रीले २ विकेट लिए । यस्तै, ज्याकब डफी, लोकी फर्ग्युसन, मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले एक–एक विकेट हात पारेका थिए । अब युएईले अर्को खेल क्यानडाविरुद्ध आगामी शुक्रबार खेल्ने तालिका छ भने न्यूजील्याण्डले अर्को खेल शनिबार दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ ।

५- भारतका विपक्षी दलले लोकसभा अध्यक्ष (सभापुख) ओम बिरालाविरुद्ध अविश्वासको सूचना पेश गरेका छन् । लोकसभाका ११८ सांसदको हस्ताक्षरसहित उनीहरुले सभामुखविरुद्ध अविश्वासको प्रस्तावको सूचना दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्  । संसदमा राष्ट्रपतिको भाषणमा धन्यवाद प्रस्तावआमा छलफलका क्रममा सभामुखले विपक्षी दलका नेता राहुल गान्धीसहित अन्य विपक्षी नेताहरुलाई बोल्न नदिएको भन्दै उनीहरु सभामुखविरुद्ध उत्रिएको बताइएको छ । भारतीय संविधानले लोकसभाका सभामुखलाई हटाउने प्रक्रिया प्रदान गर्दछ। प्राविधिक रूपमा, यसलाई महाभियोग भनिँदैन । सभामुखलाई हटाउने व्यवस्था संविधानको धारा ९४(ग) अन्तर्गत गरिएको छ, जसमा लोकसभाको प्रस्तावद्वारा सभामुखलाई हटाउन सकिन्छ भनिएको छ । सभामुखलाई हटाउन प्रक्रिया सुरु हुनुभन्दा कम्तिमा १४ दिन अगाडि लिखित सूचना आवश्यक पर्दछ । यसबाहेक, यस्तो कुनै पनि प्रस्तावलाई कम्तिमा ५० सांसदको समर्थन चाहिन्छ । सभामुखलाई हटाउने प्रस्तावमाथि सदनमा छलफल वा बहस भइरहेको बेला, सभामुखले अध्यक्षता गर्न सक्दैनन् । यस समयमा, उपसभामुख वा राष्ट्रपतिद्वारा नियुक्त अन्य सदस्यले कार्यवाहीको अध्यक्षता गर्छन् । मतदान प्रक्रिया: सभामुखलाई हटाउनको लागि त्यस समयमा सदनका सबै सदस्यहरूको बहुमत आवश्यक पर्दछ । सरल भाषामा भन्नु पर्दा, यो सामान्य अविश्वास प्रस्तावभन्दा फरक छ, किनकि यसमा उपस्थित र मतदान गर्ने सदस्यहरूको बहुमत मात्र आवश्यक पर्दैन । सबै सदस्यहरूको उपस्थिति र मतदान आवश्यक छ । यसलाई उदाहरणको लागि, लोसभामा सदस्य संख्या ५४३ छ भने, अनुपस्थित वा अनुपस्थित सदस्यहरूको संख्यालाई ध्यान नदिई सभामुखलाई हटाउन कम्तिमा २७२ मत आवश्यक पर्दछ । यदि लोकसभामा बहुमतले प्रस्ताव पारित भयो भने, सभामुखलाई तत्काल प्रभावबाट राजीनामा दिन बाध्य हुन्छन् । त्यसपछि सदनले नयाँ सभामुख चयन गर्ने प्रक्रिया सुरु गर्छ । लोकसभाको सभामुख सामान्यतया सत्तामा रहेको दलद्वारा निर्वाचित हुने भएकोले, यदि सभामुखलाई हटाउन आवश्यक संख्यामा मत प्राप्त भयो भने, यसलाई सरकारविरुद्ध अविश्वास प्रस्ताव मानिन्छ ।

६- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकामा करार इन्जिनियर पदमा कार्यरत  सुबास बिष्टविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । विष्टले १ करोड ९७ लाख  १० हजार  १५७ रुपैयाँ अनियमितता गरेको भन्दै सोहि बराबरको रकम बिगो माग गर्दै मुद्धा दायर गरेको अख्तियारले जानकारी दिएको हो । विष्टले सार्वजनिक वामा रहँदा पदको दुरुपयोग गरी वैधानिक आयभन्दा बढी सम्पत्ति आर्जन गरेको उनीविरुद्ध उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा १ करोड ९७ लाख १० हजार १५७ रुपैयाँको स्रोत नखुले पाइएको थियो । अख्तियारले नियुक्ति मिति २०७६ फागुन १ गतेदेखि २०८१ साउन १४ गतेसम्मको अवधिको अनुसन्धान गरेको जनाएको छ । अख्तियारले गैरकानुनी सम्पत्ति प्रयोगमा संलग्न देखिएको भन्दै बिष्टका बुबा सुदर्शन विष्टलाई पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी कायम गरेर मुद्धा दायर गरेको जनाएको छ ।

७-  नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से १०.२५ अंकले घटेर २६६२. १४ विन्दुमा पुगेर रोकिएको छ । आज ३२४ कम्पनिका २ करोड १७ लाख १५ हजार ८६८ कित्ता शेयर ८ अर्ब ६१ करोड ६४ लाख १० हजार १३२ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज कालिका दर्शनको शेयर सबैभन्दा बढी ६.३६ प्रतिशतले बढेको छ भने अरुण भ्याली हाइड्रोको ५.१८ प्रतिशतले बढेको छ । त्यसैगरी आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सबैभन्दा बढी ५.२४ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अरुण भ्याली हाइड्रोको ४५ करोड २८ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ४० करोड ७९ लाख बराबरको कारोबार भएको छ ।

८- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि छिमेकी मित्रराष्ट्र भारतले गरेको सहयोगका लागि धन्यवाद दिएकी छन् । प्रधानमन्त्री कार्कीले मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई सिंहदरबार भेट गर्दै मुलुकको विशेष अवस्थामा हुन लागेको निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न सवारी साधन लगायत विभिन्न सामग्री उपलब्ध  गराएकोमा धन्यवाद दिएकी हुन् ।  सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा सदैव साथ रहने र मित्रवत् छिमेकीका नाताले सहयोग गर्नु आफ्नो कर्तव्य रहेको बताए । साथै निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि पनि महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

९- चालु आर्थिक बर्षको पहिलो ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाका लागि विनियोजन गरेको बजेटमा केवल १५.४९ प्रतिशत मात्र खर्च भएको छ । अर्थ मन्त्रालयले सार्बजनिक गरको बजेटको अर्धबार्षिक मूल्यांकन प्रतिवेदन अनुसार पुस मसान्तसम्म राष्ट्रिय गौरवका आयोजनाका लागि विनियोजित बजेटमध्ये जम्मा १० अर्ब ३९ करोड ३९ लाख अर्थात् १५.४९ प्रतिशत मात्र खर्च भएको छ, जुन लक्ष्यको तुलनामा न्यून हो । चालु आर्थिक वर्ष २०८२- ८३ मा २३ वटा आयोजनाका लागि कुल ६७ अर्ब ८ करोड ६४ लाख बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०६८/६९ मा १७ वटा आयोजनाबाट सुरु गरिएकोमा हाल राष्ट्रिय गौरवका आयोजनाको सङ्ख्या २७ पुगेको छ, जसमध्ये सम्पन्न भएका बाहेक २३ वटा आयोजना कार्यान्वयनमा रहेका छन् । यी आयोजनाहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रिय सुरक्षाका दृष्टिले रणनीतिक महत्त्वका रूपमा वर्गीकरण गरी मुलुकको दीर्घकालीन आर्थिक वृद्धि र संरचनागत रूपान्तरणमा योगदान पु-याउने लक्ष्य राखिएको छ । राष्ट्रिय गौरवका आयोजना घोषणाका लागि लागत कम्तीमा रु.५० अर्ब हुनुपर्ने, राष्ट्रिय सुरक्षा वा रणनीतिक महत्त्व बोकेको र रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुऱ्याउने जस्ता आधारहरू तय गरिएका छन् । त्यसैगरी माथिल्लो तामाकोशी जलविद्युत आयोजना, गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तथा मेलम्ची खानेपानी आयोजना ( पहिलो चरण) को निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । आर्थिक वर्ष २०८१- ८२ सम्मको पुष्पलाल राजमार्गको ८१.७३ प्रतिशत, हुलाकी राजमार्गको ७४.३५ प्रतिशत र काठमाडौं-तराई द्रुतमार्गको ४२.१३ प्रतिशत भौतिक प्रगति हासिल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जग्गा प्राप्ति र मुआब्जा वितरणमा समस्या, वन क्षेत्रको उपयोगमा जटिलता, अन्तर-निकाय समन्वयको अभाव र स्थानीय स्तरका अवरोधहरू मुख्य समस्याका रूपमा रहेको उल्लेख गरेको छ । मन्त्रालयले आयोजनाको पूर्व तयारी सम्पन्न गरेर मात्र ठेक्का लगाउने, छुट्टै कानुनी र प्रशासनिक संरचना तयार गर्ने र आयोजना प्रमुखको पदावधि सुनिश्चित गर्ने जस्ता समाधानका उपायहरू पहिचान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

१०- नेदरल्याण्डसले जारी टी-२० विश्वकपमा नामिबियालाई पराजित गरेको छ । मंगलबार भारतको दिल्लीमा सम्पन्न खेलमा नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको हो ।  नामिबियाले दिएको १५७ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १८ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेदरल्याण्डसका लागि बास डी लीडले सर्बाधिक ७२ रन बनाए भने कोलिन अकरम्यानले ३२ र माइकल लेभिटले २८ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनाएको थियो । नामिबियाका लागि जान निकोलले सर्बाधिक ४२ रन बनाए भने जान फ्राइलिंकले ३० र जेजे स्मिटले २२ रन बनाएका थिए । त्यसैगरी नेदरल्याण्डसका बलर बास डी लीड र लोगान भान बीकले २-२ विकेट लिए भनेआर्यन दत्त र फ्रेड क्लासेनले एक एक विकेट लिएका थिए । यो नेदरल्याण्डसको समुह ए अन्तर्गतको दोस्रो खेलमा पहिलो जित हो । पहिलो खेलमा नेदरल्याण्डस पाकिस्तानसँग पराजित भएको थियो ।त्यस्तै नामिबिया भने विश्वकपको पहिलो खेलमा हार बेहोरेको छ । अब नेदरल्याण्डसले अर्को खेल शुक्रबार अमेरिकासँग खेल्ने तालिका छ भने नामिबियाले विहिबार भारतविरुद्ध खेल्ने छ ।

११- आर्थिक बर्ष २०८२-८३ को पहिलो ६ महिनामा ३५. १४ प्रतिशत बजेट खर्च भएको छ । अर्थ मन्त्रालयले सार्बजनिक गरको बजेटको अर्धबार्षिक मूल्यांकन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२- ८३ का लागि कुल १९ खर्ब ६४ अर्व ११ करोड बजेट विनियोजन गरिएकोमा पुस मसान्तसम्म ६ खर्च ९० अर्व २१ करोड ७८ लाख अर्थात ३५.१४ प्रतिशत खर्च भएको हो । जसमा विनियोजित रकममध्ये चालु खर्च वित्तीय हस्तान्तरणसहित ४१.२५ प्रतिशत भएको छ भने पुँजीगत खर्च केवल १२.१२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४०.९५ प्रतिशत खर्च भएको छ । समीक्षा अवधिको समग्र खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३९ प्रतिशतले वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । पुँजीगत खर्च न्यून हुनाको प्रमुख कारणमा आयोजनाको पूर्व तयारीको अभाव, जग्गा प्राप्ति र वन क्षेत्रको उपयोगमा जटिलता र भदौ २३ र २४ को आन्दोलनका कारण भौतिक संरचनामा भएको क्षति आदि उल्लेख गरिएको छ । त्यस्तै सरकारले पूर्व तयारी नभएका र अनुत्पादक साना आयोजनाहरूमा विनियोजित १ खर्व १९ अर्व ५३ करोड ६५ लाख वजेट मन्त्रिपरिषद्‌को निर्णय अनुसार स्थगन गरिएको छ । जसमध्ये खरीद प्रक्रिया शुरु भई सकेका र विषयगत मन्त्रालयबाट औचित्य पुष्टपाईसहित फुकुवाका लागि अनुरोध भएको आधारमा ४२ अर्ब २८ करोड ३४ लाख फुकुवा गरिएको अर्थ मन्त्रालयले जनाएको छ । त्यस्तै चालु आर्थिक वर्षमा कुल १४ खर्ब ८० अर्व राजस्व परिचालन गर्ने लक्ष्य राखिएको छ, जसमा सङ्घीय सरकारको हिस्सा १३ खर्च १५ अर्व रहने अनुमान छ । पुस मसान्तसम्मको ७ खर्ब ११ अर्व २० करोड ७८ लाखको लक्ष्यको तुलनामा विविध प्राप्ति समेत गरी ५ खर्व ८१ अर्ब ४० करोड ७२ लाख अर्थात् ८१.७५ प्रतिशत राजश्व संकलन भएको छ । समीक्षा अवधिको राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४७ प्रतिशतले बढी रहेको छ । त्यसैगरी वार्षिक ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य रहेकोमा पुस मसान्तसम्म १ खर्व ७७ अर्व ६६ करोड ६९ लाख अर्थात् ४९.०८ प्रतिशत प्राप्त भएको छ  । त्यस्तै सार्वजनिक ऋण भुक्तानी ऋणको साँवा व्याज भुक्तानीका लागि विनियोजित बजेटमध्ये पुस मसान्तसम्म १ खर्ब ८७ अर्ब १२ करोड ६६ लाख अर्थात् ४५.५३ प्रतिशत भुक्तानी भइसकेको मन्त्रालयले जनाएको छ । समीक्षा अवधिमा कुल ६५ अर्व ३९ करोड बराबरको विकास सहायता प्रतिवद्धता प्राप्त भएको छ, जसमा २९.४४ प्रतिशत अनुदान र ७०.५६ प्रतिशत ऋण रहेको छ । वार्षिक २ खर्व ८७ अर्व ११ करोड विकास सहायता परिचालन गर्ने अनुमान गरिएकोमा समीक्षा अवधिसम्म ६१ अर्व ७ करोड ३० लाख अर्थात् २१.२७ प्रतिशत मात्र वैदेशिक सहायता प्राप्त भएको छ । मन्त्रालयले क्षेत्रगत आधारमा सबैभन्दा बढी रक्षा क्षेत्रमा ४६.८३ प्रतिशत र सबैभन्दा कम वातावरण संरक्षण क्षेत्रमा ५.१६ प्रतिशत खर्च भएको जनाएको छ । समीक्षा अवधिसम्म विभिन्न मन्त्रालयहरूका आयोजनाका लागि २२ अर्ब १९ करोड ८० लाख बराबरको स्रोत सहमति प्रदान गरिएको छ भने  आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र अनिवार्य दायित्वलाई प्राथमिकतामा राखी अनुत्पादक खर्च कटौती र बैठक भत्ता जस्ता खर्चमा रोक लगाउने नीति लिइएको मन्त्रालयले उल्लेख गरेको छ ।

१२-  बलिउडमा आफ्ना कमेडी भूमिकामार्फत दर्शकलाई हसाउँदै आएका अभिनेता राजपाल यादव यतिबेला गम्भीर कानुनी समस्यामा फसेका छन् । चेक बाउन्ससम्बन्धी मुद्दामा अदालतको आदेशपछि उनले तिहाड जेलमा सरेंडर गरेका छन् । यसैबीच फिल्म उद्योगबाट राजपाल यादवको पक्षमा समर्थनका स्वर पनि उठ्न थालेका छन् । अभिनेता सोनु सूद राजपाल यादवलाई सहयोग गर्न अगाडी आएका छन् । उनले भनेका छन्- ‘ राजपाल यादव प्रतिभाशाली कलाकार हुन्, जसले उद्योगलाई वर्षौंसम्म अविस्मरणीय योगदान दिएका छन् । कहिलेकाहीँ जीवन प्रतिभाका कारण होइन, समयको कठोरताका कारण अन्यायपूर्ण बन्छ । उनी मेरो फिल्मको हिस्सा हुनेछन् । सानो साइनिङ रकम दया होइन, सम्मान हो । कठिन समयमा उद्योगले आफ्ना सदस्य एक्ला छैनन् भन्ने अनुभूति गराउनुपर्छ ।’ सरेन्डर गर्नु अघि राजपाल यादव अदालतमा दिएको भावुक बयान अहिले सामाजिक सञ्जाल र मिडियामा भाइरल भएको छ । मिडिया रिपोर्टअनुसार सरेंडर गर्नुअघि राजपाल यादवले भनेका थिए- ‘ म के गरू ? मसँग पैसा छैन । अरू कुनै उपाय देखिँदैन । यहाँ हामी सबै एक्लै छौँ, कोही साथी छैन । यो कठिन समयको सामना म आफैंले गर्नुपर्छ ।’ अदालतले फेब्रुअरी २ मा राजपाल यादवलाई सरेंडर गर्न निर्देशन दिएको थियो । उनका वकिलले अदालतमा अभिनेता ५० लाख रुपैयाँको व्यवस्था गरिसकेको र बाँकी रकम तिर्नका लागि थप एक हप्ताको समय मागेका थिए । तर न्यायाधीशले समय थप गर्ने उनको निवेदन अस्वीकार गरेका थिए । त्यसपछि गत बिहीबार राजपाल यादवले तिहाड जेलमा सरेंडर गरेका थिए । राजपाल यादवले ‘मेसर्स मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेड’ नामक कम्पनीबाट फिल्म बनाउन करिब ५ करोड रुपैयाँ ऋण लिएका थिए । कम्पनीका अनुसार अभिनेता फिल्म निर्माणका लागि लिएको रकम फिर्ता गर्न भन्दै दिएका विभिन्न चेकहरू बाउन्स भएका थिए । त्यसपछि कम्पनीले उनीविरुद्ध चेक बाउन्सको मुद्दा दायर गरेको थियो । अदालतले राजपाल यादवलाई दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाएको थियो । पछि उच्च अदालतले सर्तसहित सजाय अस्थायी रूपमा रोक लगाएको थियो, जसअनुसार उनले कम्पनीलाई रकम फिर्ता गर्नुपर्ने थियो । तर पटक–पटक अदालतमा प्रतिबद्धता जनाए पनि उनले रकम नतिरेपछि अदालतले उनको व्यवहारलाई गैरजिम्मेवार र अदालतको विश्वास तोड्ने खालको भएको टिप्पणी गरेको छ ।

१३- भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँड गरिएको छ ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आइपिओ आज बिहान बाँडफाँड गरेको हो । जस अनुसार ८३ हजार लगानीकर्ताले १०-१० कित्ताका दरले कम्पनिको शेयर पाएका छन् । बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार आवेदन दिने कुल २५ लाख ७९ हजार ९२० लगानीकर्ता मध्ये २५ लाख ३९ हजार ८९२ आवेदन स्वीकृत भएका थिए । त्यस्तै ४० हजार २८ आवेदन अस्वीकृत भएका थिए । योसँगै २४ हजार ५६ हजार ८९२ जना लगानीकर्ताको हात खाली भएको छ ।  यहि माघ १२ गतेदेखि १५ गतेसम्म आइपिओ खुला गरिएको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । कम्पनीले दोस्रो चरणमा कर्मचारीहरुका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरुका लागि ५० हजार कित्ता शेयर सुरक्षित राखी बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँबराबरको ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो ।

१४-  नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको तोलाको ९ सय बढेर तोलाको ३ लाख ५ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख ४ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ५२४० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५२५० मा कारोबार भएको थियो ।

१५- विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले आज नेपालका लागि करिब ७ अर्ब २३ करोड नेपाली रुपैयाँ बराबरको वित्तीय सहयोग स्वीकृत गरेको छ। यस सहयोगले नेपालको डिजिटल सार्वजनिक पूर्वाधारलाई मजबुत बनाउँदै सार्वजनिक सेवाहरूलाई डिजिटल माध्यमबाट प्रवाह गर्ने प्रक्रियामा महत्वपूर्ण परिवर्तन ल्याउने विश्व वैंकको दाबि छ । ‘नेपाल डिजिटल रूपान्तरण परियोजना’ अन्तर्गत एकीकृत अनलाइन नागरिक सेवा पोर्टल, एकीकृत सामाजिक दर्ता प्रणाली, सरकारी निकायहरूबीच सुरक्षित डाटा आदान–प्रदान प्रणाली तथा प्रमाणीकरणयोग्य प्रमाणपत्र र डिजिटल वालेट व्यवस्थापनका लागि डिजिटल लकरजस्ता प्लेटफर्महरू विकास गरिनेछ । साथै भूमि प्रशासनजस्ता उच्च प्रभाव पार्ने सेवाहरूको डिजिटलिकरण पनि चरणबद्ध रूपमा गरिनेछ । यस परियोजनाले डाटा पूर्वाधार क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्न कानुनी तथा नियामक सुधारमा सहयोग गर्ने विश्व बैंकले जनाएको छ । डिजिटल अर्थतन्त्रप्रति विश्वास बढाउन विद्युतीय हस्ताक्षर, साइबर सुरक्षा र डाटा शासन प्रणालीमा पनि लगानी गरिने उल्लेख गरिएको छ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विभागीय निर्देशक डेविड सिस्लेनले भने- ‘डिजिटल प्लेटफर्म र सेवाहरूमा गरिएको यो लगानीले नागरिक र व्यवसायहरूलाई पारदर्शी, समावेशी र प्रभावकारी सेवा उपलब्ध गराउनेछ ।’ यो परियोजना विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) बीचको संयुक्त सहवित्तीय व्यवस्थाअन्तर्गत कार्यान्वयन हुने विश्व बैंकले जनाएको छ । यस योजनामा एडीबीले करिब ५ अर्ब ७८ करोड नेपाली रुपैयाँ बराबरको सहयोग प्रदान गर्ने अपेक्षा गरिएको छ । परियोजना सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमार्फत कार्यान्वयन गरिने बताइएको छ ।

१६-  स्पेस एक्सका संस्थापक एलन मस्कले अब मंगल ग्रहभन्दा चन्द्रमालाई प्राथमिकतामा राख्दै त्यहाँ सहर बसाउने योजना अघि सारेका छन् । मंगलको तुलनामा चन्द्रमामा मानिस पठाउन सजिलो हुने भएकाले आफ्नो योजना परिवर्तन गरेको मस्कले जानकारी दिएका हुन्। मस्कका अनुसार स्पेसएक्सले चन्द्रमामा ‘आफैं बढ्ने सहर निर्माण गर्ने लक्ष्य राखेको छ, जुन १० वर्षभित्र सम्भव हुने अनुमान छ । मंगलमा सहर बसाउन भने २० वर्षभन्दा बढी समय लाग्ने उनले बताए । यद्यपि, उनको दीर्घकालीन लक्ष्य भने जीवन र चेतनालाई ग्रहहरुसम्म पुर्‍याउने रहेको स्पष्ट गरेका छन् । उनले मंगल यात्रा प्रत्येक २६ महिनामा मात्र सम्भव हुन्छ र त्यहाँ पुग्न करिब ६ महिना लाग्छ, जबकि चन्द्रमाका लागि हरेक १० दिनमा रकेट प्रक्षेपण गर्न सकिन्छ र २ दिनमै पुग्न सकिन्छ । स्पेसएक्सले मंगलमा पनि करिब ७ वर्षभित्र सहर बसाउने प्रयास सुरु गर्ने जनाएको छ । मस्कले मंगललाई मानव अस्तित्व जोगाउने ‘प्लान–बी’ का रूपमा व्याख्या गर्दै आएका छन् । उता नासाले भने चन्द्रमामै केन्द्रित हुँदै २०२८ सम्म अन्तरिक्षयात्रीलाई पुनः चन्द्र सतहमा पठाउने तयारी गरिरहेको छ । नासाको आर्टेमिस मून मिशनमा स्पेसएक्सको लुनार ल्यान्डर प्रयोग हुनेछ, जसका लागि नासाले स्पेसएक्सलाई करिब ३ अर्ब डलरको सम्झौता दिएको छ । यो ल्यान्डर हाल परीक्षण चरणमा छ । यसैबीच जेफ बेजोसको कम्पनी ब्लू ओरिजिन पनि यस्तै ल्यान्डर विकासको प्रतिस्पर्धामा रहेको छ ।

१७-  एपस्टाइन प्रकरणसँग सम्बन्धित नयाँ खुलासापछि बेलायतका राजा चार्ल्स तृतीयले पहिलोपटक प्रतिक्रिया दिएका छन् । उनका भाइ एन्ड्र्यू माउन्टब्याटन विन्डसरविरुद्ध उठेका आरोपबारे अनुसन्धान गर्न प्रहरीले अनुरोध गरेमा बकिङ्घम प्यालेस सहयोग गर्न तयार रहेको उनले बताएका हुन् । प्यालेसका प्रवक्ताका अनुसार, राजाले एन्ड्र्यूसम्बन्धी आरोपहरूप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् र पीडितहरूप्रति सहानुभूति प्रकट गरेका छन् । यद्यपि आरोपहरूको जवाफ एन्ड्र्यूले नै दिनुपर्ने स्पष्ट गरिएको छ । हालै सार्वजनिक एपस्टाइन फाइलहरूमा एन्ड्र्यूले गोप्य भ्रमण प्रतिवेदन र लगानीसम्बन्धी जानकारी एपस्टाइनलाई पठाएको देखिन्छ। एन्ड्र्यूले सबै आरोप अस्वीकार गर्दै आएका छन् र फाइलमा नाम आउनु मात्र दुराचारको प्रमाण नहुने बताइएको छ । यसैबीच सोमबार राजा चार्ल्स क्लिथेरो भ्रमणमा रहँदा एक व्यक्तिले ‘एन्ड्र्यूबारे तपाईंलाई कहिलेदेखि थाहा थियो ?’ भनेर प्रश्न गरेका थिए । उक्त व्यक्तिलाई भीडले हुटिङ गरेको थियो । बकिङ्घम प्यालेसको यो वक्तव्य यसअघि प्रिन्स तथा प्रिन्सेस अफ वेल्सका प्रवक्ताबाट आएको वक्तव्यपछि आएको हो, जसमा उनीहरूले एपस्टाइनसम्बन्धी पछिल्ला खुलासाप्रति गहिरो चिन्ता व्यक्त गर्दै पीडितहरूप्रति ध्यान केन्द्रित रहेको बताएका थिए । गत साता एन्ड्र्यूलाई यस अघि भनिएको भन्दा छिटो विन्डसरस्थित रोयल लजबाट राजाको निजी सम्पत्ति स्यान्ड्रिङ्घममा सारिएको थियो । सन् २०२५ अक्टोबरमा एपस्टाइनसँगको सम्बन्धबारे अघिल्लो चरणका खुलासापछि उनलाई राजकुमार र ड्युकका उपाधिबाट वञ्चित गरिएको थियो ।

१८- अमेरिकासँग भएको नयाँ व्यापार सम्झौताअन्तर्गत बंगलादेशले ठूलो राहत पाएको छ। अमेरिकाले बंगलादेशबाट आयात हुने वस्तुहरूमा लगाइने ट्यारिफ (आयात शुल्क) घटाएर १९ प्रतिशतमा सीमित गरेको छ । विशेषगरी अमेरिकामा उत्पादित कच्चा पदार्थ प्रयोग गरेर बनाइएका केही रेडिमेड कपडा र टेक्सटाइल उत्पादनहरू अब शून्य ट्यारिफमा अमेरिकी बजारमा प्रवेश गर्न सक्ने भएका छन् । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै अमेरिकी कपास तथा मानव निर्मित फाइबर प्रयोग गरेर बनाइएका बंगलादेशी कपडामा कुनै पनि प्रतिशोधात्मक ट्यारिफ नलगाउने व्यवस्था गर्न अमेरिका सहमत भएको बताएका छन् । उनका अनुसार अप्रिल २०२५ देखि सुरु भएको करिब नौ महिनाको निरन्तर वार्तापछि यो सम्झौता सम्भव भएको हो । यद्यपि, यस विषयमा अमेरिकी वित्त मन्त्रालय वा ट्रम्प प्रशासनको तर्फबाट तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन । बंगलादेशका वाणिज्य सचिव महबूबुर रहमानका अनुसार, अमेरिकाबाट आयात गरिने कपास र सिन्थेटिक फाइबर प्रयोग गरेर तयार गरिएका रेडिमेड गार्मेन्ट (आरएमजी) उत्पादनहरूले यस सम्झौताबाट सबैभन्दा बढी फाइदा पाउनेछन् । यी उत्पादनहरू अब कुनै अतिरिक्त शुल्क बिना अमेरिकी बजारमा निर्यात गर्न सकिनेछ । वाशिङ्टनमा बंगलादेशका वाणिज्य सल्लाहकार शेख बशीर उद्दीन र अमेरिकी व्यापार प्रतिनिधि जैमीसन ग्रीरबीच सम्झौतामा हस्ताक्षर भएको उनले बताए । वाणिज्य मन्त्रालयका अधिकारीहरूका अनुसार, सम्झौतामा अमेरिकाबाट गहुँ, सोयाबिन र एलएनजी आयात गर्ने, ई–कमर्समा नयाँ ट्यारिफ नलगाउने, अमेरिकी बौद्धिक सम्पत्ति अधिकार (आईपीआर) मापदण्ड पालना गर्ने तथा विश्व व्यापार संगठन (डब्ल्यूटीओ) सुधारसम्बन्धी अमेरिकी प्रस्तावलाई समर्थन गर्ने प्रावधानहरू पनि समावेश छन्। साथै, बंगलादेशले अमेरिकी विमान निर्माता कम्पनी बोइङबाट २५ वटा विमान खरिद गर्ने सहमति जनाएको छ, जसको अनुमानित लागत ३० हजारदेखि ३५ हजार करोड टका रहने बताइएको छ। यसलाई पनि अमेरिकी ट्यारिफ घटाउने व्यापक रणनीतिको हिस्सा मानिएको छ । निर्यात प्रवर्द्धन ब्यूरोका अनुसार, अमेरिका बंगलादेशको सबैभन्दा ठूलो निर्यात बजार हो। यसअघि अगस्त २०२५ मा अमेरिकाले प्रस्तावित ३७ प्रतिशतबाट घटाएर २० प्रतिशत बनाएको थियो, जुन अहिले फेरि घटाएर १९ प्रतिशत गरिएको हो । बंगलादेशी नीति निर्माताहरूले ट्यारिफ दर १५ प्रतिशतसम्म झार्ने अपेक्षा गरेका थिए । व्यापार विज्ञहरूका अनुसार यो निर्णय बंगलादेशको कपडा उद्योगका लागि ठूलो राहत हो । आरएमजी क्षेत्रले देशको कुल निर्यातको ८० प्रतिशतभन्दा बढी योगदान गर्दछ, करिब ४० लाख मानिसलाई रोजगारी प्रदान गरेको छ, जसमा अधिकांश महिला छन्, र देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब १० प्रतिशत योगदान पुर्‍याउँछ। यो सम्झौता यस्तो समयमा सार्वजनिक भएको हो, जब बंगलादेशमा आगामी १२ फेब्रुअरीमा आम निर्वाचन हुन गइरहेको छ । यी निर्वाचनमार्फत नयाँ सरकार गठन हुनेछ र शेख हसीनाको अवामी लिग सरकार पतनपछि सत्ता सम्हालेको मोहम्मद युनुस नेतृत्वको १८ महिनादेखि चलिरहेको अन्तरिम सरकारको कार्यकाल समाप्त हुनेछ ।

images

१९- पाकिस्तानले भारतसँग खेल बहिष्कार गर्ने निर्णय फिर्ता लिएको छ । दस दिनसम्म चलेको विवादपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले भारतविरुद्धको खेल खेल्न निर्देशन दिएका हुन् । यस अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी), पाकिस्तान क्रिकेट बोर्ड र बंगलादेश क्रिकेट बोर्डबीच पाकिस्तानको लाहोरमा छलफल भएको थियो । सो छलफलपछि गएराती आइसीसीले विश्वकपबाट बाहिरिएपनि बंगलादेशलाई थप कारवाही नगर्ने, आइसीसीका प्रतियोगिता बंगलादेशमा जारी नै राख्ने प्रतिबद्धता व्यक्त गरेको थियो । त्यसपछि जारी टी–२० विश्वकपअन्तर्गत भारत–पाकिस्तानबीचको खेल फेब्रुअरी १५ मा कोलम्बोमा हुने भएको हो । यसअघि आइसीसीले बंगलादेशले भारतमा खेल्न नमानेपछि विश्वकपबाट बाहिर गर्दै स्कटल्याण्डलाई अवसर दिएको थियो । आइसीसीको सो निर्णयपछि पाकिस्तानले बंगलादेशको समर्थन गर्दै भारतविरुद्धको खेल नखेल्ने निर्णय गरेको थियो ।

२०- अमेरिकामा यौन अपराधी जेफ्री एपस्टाइनसँग सम्बन्धित गोप्य कागजातहरूको खुलासाले विश्वव्यापी रूपमा हंगामा मच्चाएको छ । अमेरिकी न्याय विभागले जनवरी ३० मा लगभग ३० लाख पृष्ठका कागजातहरू जारी गर्‍यो । यसपछि, १० देशका १५ भन्दा बढी वरिष्ठ अधिकारीहरूलाई राजीनामा दिन बाध्य भएका थिए । अब विश्वका कैयौं देशका ८० भन्दा बढी शक्तिशाली व्यक्तिहरू अनुसन्धानको घेरामा तानिएका छन् । यी फाइलहरूमा राजनीतिज्ञ, राजदूत, अर्बपति र शाही परिवारहरूको नाम समावेश छ । एपस्टाइन फाइलमा इमेल, उडान लग र सम्पर्क रेकर्डहरूमा ७०० देखि एक हजार प्रभावशाली व्यक्तिहरूको नाम उल्लेख छ । विश्वका यी प्रभावशाली व्यक्तिहरुले एपस्टाइनको माध्यमबाट नाबालिग किशोरीहरूको यौन दुर्व्यवहार गरेको आरोप छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व राष्ट्रपति बिल क्लिन्टन र हिलारी क्लिन्टन जस्ता उच्च-प्रोफाइल नामहरू कागजातहरूमा विभिन्न सन्दर्भहरूमा देखा परेका छन् । एपस्टाइनको खुलासाबाट युरोप सबैभन्दा बढी प्रभावित भएको छ । लगभग १० देशहरूमा राजीनामाको लहर सुरु भएको छ । बेलायतमा सबैभन्दा धेरै राजीनामा देखिएको छ, जसमा तीन अधिकारीहरूले राजीनामा दिएका छन् । पूर्व राजदूत पिटर म्यान्डेलसन, सल्लाहकार एडम पेरी र प्रधानमन्त्री केयर स्टारमरका प्रमुख कर्मचारी मोर्गन म्याकस्विनीले राजीनामा दिएका छन् । वरिष्ठ स्वीडिश कूटनीतिज्ञ जोआना रुबिनस्टाइनले राजीनामा दिए भने नर्वेजियन राजदूत मोना जुल, अमेरिकी श्रममन्त्री एलेक्स अकोस्टा र एमआईटी प्रयोगशाला प्रमुख जोइची इटोको राजीनामा आएको छ । एपस्टाइन फाइलहरूले धेरै देशका सरकारहरूलाई कूटनीतिक र राजनीतिकरुपमा लाजमर्दो बनाएको छ । बेलायती प्रधानमन्त्री स्टारमरलाई यस प्रकरणमा माफी माग्न बाध्य पारिएको थियो, उनले बेलायतको संसदमा माफी मागेका थिए । जबकि बेलायती प्रहरीले नयाँ फाइलहरूको आधारमा राजकुमार एन्ड्रयूविरुद्ध अनुसन्धान सुरु गरेको छ । नर्वेमा, राजदूत मोना जुललाई निलम्बन गरिएको थियो र पूर्व प्रधानमन्त्री थोरबजर्न जगल्याण्डविरुद्ध भ्रष्टाचार अनुसन्धान सुरु गरिएको छ । वरिष्ठ कूटनीतिज्ञ तेर्जे रोड-लार्सन पनि अनुसन्धानको घेरामा छन् । त्यस्तै फ्रान्समा, पूर्व मन्त्री ज्याक लाङलाई आधिकारिक रूपमा बयानका लागि बोलाइएको छ । पोल्याण्ड, लाटभिया र टर्कीले मानव बेचबिखनमा आधिकारिक संलग्नताको अनुसन्धान गर्न विशेष टोलीहरू गठन गरेका छन् । केही प्रमुख नामहरू बाहिर आएपछि, उनीहरू र उनीहरूका परिवारहरूलाई सार्वजनिक रूपमा माफी माग्न वा पछुतो व्यक्त गर्न बाध्य पारियो । नर्वेको युवराज राजकुमारी मेट्टे-मारिटबाट इमेल र सञ्चारको खुलासाले राज दरबारले कडा आलोचनाको सामना गर्नु परिरहेको छ र राजकुमारीले सार्वजनिक रूपमा माफी मागेकी छन् । त्यस्तै माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले एपस्टाइनसँगको आफ्नो भेटघाट र सञ्चारमा पछुतो व्यक्त गरे र फाउन्डेसनको बोर्डबाट राजीनामा दिए । इजरायली पूर्व प्रधानमन्त्री एहुद बाराकको नाम एपस्टाइनको न्यूयोर्क अपार्टमेन्टमा उनको बसाइ र भेटघाटको रेकर्डमा देखा पर्‍यो, जसले गर्दा उनलाई स्पष्टीकरण दिन बाध्य पारियो । एपस्टाइन फाइलहरूमा ट्रम्पको नाम ३८ हजार भन्दा बढी पटक देखा परेको छ । रेकर्डहरूमा १९९० को दशकमा एपस्टाइनको निजी विमानमा ७-८ यात्राहरू उल्लेख गरिएको छ । उनी ट्रम्पको मार-ए-लागो क्लबमा पाहुनाहरूको सूचीमा पनि समावेश छन् । अनुसन्धानले यौन शोषण नेटवर्क संयुक्त राज्य अमेरिकामा मात्र सीमित नभएको खुलासा गरेको छ । एपस्टाइनले एक संगठित बेचबिखन नेटवर्क सिर्जना गरेको यी फाइल्सबाट सजिलै बुझ्न सकिन्छ । अहिलेसम्म, १५ देशका धनी व्यक्तिहरू, राजनीतिज्ञहरू र अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको नाम खुलासा गरिएको छ । यसले अझै कुन हदसम्म प्रभाव पर्छ यो आउदा दिनमा प्रष्ट हुदै जाने छ ।

#Top20News #DailyBulletin #NepalNews #CurrentAffairs #BreakingNews #NewsHighlights #NationalUpdate #PoliticalNews #EconomicNews #SocialUpdate #DevelopmentNews #SportsNews #InternationalNews #WeatherUpdate #TechnologyNews #HealthUpdate #EducationNews #EntertainmentNews #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages