काठमाडौं – शिक्षक लाइसेन्सको फाराम तत्कालका निम्ति मार्कसिटको आधार भर्न पाइने भएको छ । शिक्षक सेवा आयोग र उच्च माध्यमिक शिक्षा परिषद्को संयुक्त पहल यो व्यवस्था गरिएको हो ।
उच्च माध्यमिक तह कक्षा ११ र १२ मा उत्तीर्णका निम्ति यो व्यवस्था भएको हो । परिषद्ले ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्र उपलब्ध गराउन प्राविधिक कठिनाइ भएको कारण आयोगसँगको समन्वयबाट तत्कालका निम्ति यो व्यवस्था गरेको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले कान्तिपुरलाई जानकारी दिए ।
‘२०६० सालदेखि प्रमाणपत्र लिन बाँकीसमेतको ओइरो लागेपछि तत्काल मार्कसिटकै आधारमा लाइसेन्सको फाराम भर्नसक्ने व्यवस्था भएको छ’, नियन्त्रक अर्यालले भने ।
उच्च माध्यमिक तह उत्तीर्ण विद्यार्थीले परिषद्का क्षेत्रीय कार्यालयमा निवेदन पेश गरेको एक महिनाभित्र प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था छ । तर आयोगले शिक्षक लाइसेन्स खोलेको आवेदन म्याद कारण विद्यार्थीहरू परिषद्का क्षेत्रीय कार्यालयमा नगई सानोठिमीस्थित परिषद् केन्द्रमा धाउने गरेका छन् ।
यसअघि केन्द्रमा दैनिक बढीमा डेढसयजनासम्मको आवेदन पर्ने गरेमा केही दिनदेखि तीनदेखि चारहजार जति विद्यार्थीको भीड लाग्ने गरेको छ ।
‘आफ्नै क्षेत्रमा सिंगल दस्तुर तिरेर प्रमाणपत्र लिनसक्ने व्यवस्था हुँदाहुँदै विद्यार्थीले दुःख पाए’, मार्कसिटकै आधारमा लाइसेन्स फाराम भर्न सक्ने र कुनैपनि विद्यार्थी केन्द्रमा आउन आवश्यक नपर्ने उल्लेख गर्दै अर्यालले भने, ‘यातायात, होटेलबास र दोब्बर दस्तुर तिर्न आवश्यक छैन । तत्काल धैर्यसाथ आ-आफ्नो क्षेत्रबाटै प्रमाणपत्रको लागि आवेदन बुझाउन सक्छन् ।’
आयोगले शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिनका देशभरिका जिल्ला शिक्षा कार्यालयमा आवेदन खुला गरेको छ । शिक्षाशास्त्र विषय पढेकाले आवेदन दिन पाउँछन् । लाइसेन्सको फाराम भर्ने म्याद पुस २४ गतेसम्ममात्र भएकाले विद्यार्थी सूचना नबुझी केन्द्र धाउने गरेका छन् ।
परिषद्को धनगढी, नेपालगन्ज, बुटवल, पोखरा, हेटौडा, जनकपुर र काठमाडौंमा क्षेत्रीय कार्यालय रहेका छन् । दोब्बर दस्तुर तिरेर प्रमाणपत्र लिनेको भीड नियन्त्रणका निम्ति माइकसमेत राखिएको छ । सामान्य दस्तुर सातसय रुपैयाँ भएपनि केन्द्रले दोब्बर १४ सय रुपैयाँ दस्तुर परिषद्ले लिएको छ ।
देशभरि ३ हजार ३ सय ८२ उच्च माध्यमिक विद्यालय छन् । त्यसमध्ये करिब २ हजार उच्चमाविमा शिक्षाशास्त्र संकायको पढाइ हुन्छ । कक्षा ११ को नियमित परीक्षा वाषिर्क करिब ३ लाख परीक्षार्थीमध्ये ४४ प्रतिशत शिक्षाशास्त्रमा हुनेगरेका नियन्त्रण कार्यालयको तथ्याङ्कमा छ । कान्तिपुर



