एमाले सङ्घीय राज्यको विविध पक्षबारे बृहत् छलफलमा

काठमाडौं – सङ्घीय राज्यको विविध पक्षबारे बृहत् छलफल गरी पार्टीको आधिकारिक धारणा बनाउन एमालेको केन्द्रीयस्तरको दुईदिने आवासीय भेला आइतबार भक्तपुरको बोडेमा सुरु भएको छ ।

भेलामा एमालेका स्थायी समिति सदस्यहरु, केन्द्रीय पदाधिकारी, सभासद एवम् पार्टीका बुद्धिजीवीहरुको सहभागिता रहेको छ । भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष झलनाथ खनालले मुलुकको एकात्मक शासन पद्धतिलाई सङ्घीयतामा लैजान शान्ति र संविधान निर्माणको कार्य पूरा गर्नु अति आवश्यक रहेको औँल्याए ।

मुलुकको सङ्घीय प्रणाली र यसका विविध पक्षका बारेमा एमालेको अवधारणा बनिनसकेको अवस्थामा यो भेलाले त्यसमा ठूलो टेवा पुर्‍याउने उनले बताए ।

अध्यक्ष खनालले एमालेले सङ्घीय राज्यको सङ्ख्या कति बनाउन उपयुक्त हुन्छ, सङ्घीयताको नामकरण के राख्ने, सङ्घीयताको सीमाङ्कन कसरी गर्ने, अधिकारको बाँडफाँड कसरी गर्ने, आत्मनिर्णयको अधिकार दिने, अग्राधिकार र अवशिष्ट अधिकार कहाँ र कसरी दिने भन्ने बारेमा भेलामा बृहत् छलफल गरेर निचोडमा पुग्नुपर्ने बताए ।

भेलामा आएका सबै सुझावलाई सङ्कलन गरी पार्टीको केन्द्रीय बैठकमा पुनः छलफल गरी सङ्घीयता प्रणालीबारे विवादरहितरुपमा पार्टीले निर्णय गरी प्रस्ताव पेस गर्ने अध्यक्ष खनालले बताए ।

भेलामा सङ्घीय मामिला विभाग प्रमुख परशुराम मेघीगुरुङले सङ्घीयता अवधारणा र अभ्यासका बारेमा १२ वटा एकाइसहितको आठ प्रदेश रहनुपर्ने धारणासहितको कार्यपत्र प्रस्तुत गरे ।

मुलुकको भौगोलिक अवस्थिति, जनसङ्ख्या र जातिगत बसोवासको अवस्था, मातृभाषा र भाषा प्रयोगको अवस्था, सांस्कृतिक सम्मिलनको अवस्था, प्रशासनिक सुगमता, आर्थिक, सामाजिक अन्तरसम्बन्ध, साधन स्रोतको उपलब्धता र ऐतिहासिकताजस्ता पक्षलाई आधार बनाइनुपर्नेमा उनले जोड दिए ।

भेलामा स्थानीय विकास तथा भौतिक संरचना विभागका प्रमुख नेत्रबहादुर पन्थीले राज्यको पुनःसंरचनासम्बन्धी अवधारणासहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो अवसरमा एमालेका नेताहरु भरतमोहन अधिकारी, वामदेव गौतम, ईश्वर पोखरेल, शङ्कर पोखरेल, युवराज ज्ञवाली, भीम रावल, विद्यादेवी भण्डारी, राजेन्द्र श्रेष्ठलगायतले आ-आफ्ना विचार प्रस्तुत गरे ।

एमाले सङ्घीय मामला विभागका प्रतिनिधि सोम मिश्रले भेलाबाट आएका सुझावलाई केन्द्रीय बैठकमा छलफल गरी एमालेको सङ्घीयतासम्बन्धी पार्टीगत अवधारणा सार्वजनिक गरिने बताए । रासस