

काठमाडौँ । धूम्रपान नगर्ने मानिसहरू फोक्सो र क्यान्सरजस्ता गम्भीर रोगबाट सुरक्षित हुन्छन् भन्ने आम धारणा छ । तर अरूले पिएको चुरोट वा बीडीको धुवाँ अनजानमै शरीरमा प्रवेश गरे पनि त्यसले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्छ । यसलाई ‘प्यासिभ स्मोकिङ’ भनिन्छ ।

विज्ञहरूका अनुसार चुरोटको धुवाँमा ७ हजारभन्दा बढी विषाक्त रसायन हुन्छन्, जसमध्ये कम्तीमा ६९ प्रकारका तत्व क्यान्सर उत्पन्न गराउन सक्ने बताइन्छ । यो धुवाँ बन्द कोठा वा सवारीसाधनभित्र घण्टौँसम्म रहन सक्छ, जसले जोखिम अझ बढाउँछ । यसको सबैभन्दा बढी असर बालबालिका, गर्भवती महिला र वृद्धवृद्धामा पर्ने बताइएको छ ।

अध्ययनअनुसार, प्यासिभ स्मोकिङको सम्पर्कमा आएको ३० मिनेटभित्रै रक्तनली प्रभावित हुन थाल्छ । निकोटिन र कार्बन मोनोअक्साइडले धमनीको भित्री तहमा क्षति पुर्याउँदा मुटु रोग, हार्ट अट्याक तथा कोरोनरी रोगको जोखिम २५–३० प्रतिशतसम्म बढ्न सक्छ । धुवाँले फोक्सोका कोषिकामा असर पुर्याई अस्थमा, ब्रोंकाइटिस र क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज जस्ता समस्या निम्त्याउन सक्छ ।
विशेषगरी बालबालिकाका फोक्सो विकासक्रममा हुने भएकाले प्यासिभ स्मोकिङ उनीहरूका लागि ‘स्लो प्वाइजन’ सरह मानिन्छ । यसले कानको संक्रमण, निमोनिया र अचानक शिशु मृत्यु जोखिम बढाउँछ। गर्भवती महिलामा समयपूर्व प्रसूति वा कम तौलका शिशु जन्मिने जस्ता जटिलता देखिन सक्छन् ।
स्वास्थ्यकर्मीहरूका अनुसार प्यासिभ स्मोकिङबाट जोगिने प्रभावकारी उपाय भनेको धुवाँमुक्त वातावरण सुनिश्चित गर्नु हो । घर तथा सार्वजनिक स्थानमा धूम्रपान निषेधको कडाइका साथ पालना गर्न आग्रह गरिएको छ ।
#PassiveSmoking #HealthAwareness #SmokeFreeLife #PublicHealth #TobaccoControl #HealthyLiving #QuitSmoking #AwarenessNepal #WellnessTips #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



