

काठमाडौँ । नियमित रूपमा पढ्ने, लेख्ने र नयाँ भाषा सिक्ने बौद्धिक बानी अपनाउने मानिसहरूमा बुढ्यौलीमा देखिने बिर्सने रोग (डिमेन्सिया) को जोखिम करिब ४० प्रतिशतसम्म कम हुने एक नयाँ अनुसन्धानले देखाएको छ ।

वैज्ञानिकहरूका अनुसार उमेर बढ्दै जाँदा स्मरणशक्ति हराउने र मानसिक क्षमता कमजोर हुने समस्या विश्वभर तीव्र रूपमा बढिरहेको छ । तर जीवनभर दिमाग सक्रिय राख्ने बौद्धिक गतिविधिमा संलग्न रहने व्यक्तिहरूमा यस्तो जोखिम उल्लेखनीय रूपमा घट्ने देखिएको हो। दिमाग जति सक्रिय रह्यो, अल्जाइमरजस्ता रोगलाई त्यति नै ढिलो धकेल्न सकिने अनुसन्धानकर्ताहरूको भनाइ छ ।

यो अध्ययन रश विश्वविद्यालय मेडिकल सेन्टरका अनुसन्धानकर्ता आन्द्रे जामिटको नेतृत्वमा गरिएको हो । अनुसन्धानमा करिब १९ सय ३९ जना वृद्धवृद्धालाई आठ वर्षसम्म अध्ययन गरिएको थियो, जसको औसत उमेर लगभग ८० वर्ष थियो।

अध्ययनले मानसिक रूपमा सक्रिय व्यक्तिहरूमा मानसिक कमजोरी सुरु हुने उमेरमा करिब सात वर्षको फरक देखाएको छ । अनुसन्धानकर्ताहरूका अनुसार पुस्तकालय पहुँच, प्रारम्भिक शिक्षा कार्यक्रम र सिकाइप्रति उत्साह जगाउने गतिविधिले डिमेन्सिया कम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
मृत्यु भएका सहभागीहरूको शव परीक्षणमा पनि उच्च बौद्धिक सक्रियता भएका व्यक्तिहरूको सोच्ने–बुझ्ने क्षमता अन्तिम समयसम्म राम्रो रहेको पाइएको छ।
बाल्यकालदेखि वृद्धावस्थासम्म किताब, पत्रपत्रिका पढ्ने, लेख्ने र भाषा सिक्ने गतिविधिमा सक्रिय रहने व्यक्तिहरूमा अल्जाइमरको जोखिम ३८ प्रतिशत कम रहेको अध्ययनले देखाएको छ ।
औसत रूपमा सक्रिय व्यक्तिहरूमा अल्जाइमरको लक्षण ९४ वर्षमा देखिएको थियो भने कम सक्रिय व्यक्तिहरूमा ८८ वर्षमै देखिन थालेको पाइएको छ ।
भविष्यका लागि आशाको संकेत
वैज्ञानिकहरूले यो अध्ययनले प्रत्यक्ष कारण–परिणाम पूर्ण रूपमा प्रमाणित नगरे पनि ठूलो आशा जगाएको बताएका छन्। सन् २०५० सम्म विश्वभर डिमेन्सिया बिरामीको संख्या १५ करोड नाघ्ने अनुमान गरिएको छ। यस्तो अवस्थामा पढ्ने–लेख्ने बानीलाई सरल र प्रभावकारी बचाउ उपायका रूपमा लिन सकिने अनुसन्धानकर्ताहरूको निष्कर्ष छ ।
#HealthNews #MemoryLoss #BrainHealth #MedicalResearch #WellnessUpdate #HealthyLiving #NepalHealth #ScienceNews #Awareness #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



