

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको महासंग्राम भएको बताउनुभएको छ ।
झापाको दमकमा धिमाल समुदायका अगुवाहरूसँगको भेटघाटमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले यो निर्वाचन केवल प्रतिनिधि छान्ने कुरा मात्र नभइ धिमाल जातिको विकासका लागि बजेट राख्ने र भएका बजेट काट्नेहरू बीचको निर्वाचन भएको बताउनु भयो । आफू नेतृत्वको सरकारले धिमाल जातिको संग्रहालय, होमस्टे र सडकका लागि छुट्याएको करोडौँको बजेट वर्तमान सरकारले अनधिकृत रूपमा काटेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो । वर्तमान सत्ता गठबन्धनले विकास विरोधी काम गरेको आरोप लगाउनु भयो ।

धिमाल समुदायलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘यस पल्टको चुनाव जलाउने कि बनाउनेहरुको बिचको चुनाव हो । देश बनाउने, बचाउने कि देश जलाउनेका बिचको चुनाव हो । हामीले जलाउने खालकालाई, बिगार्ने खालकालाई भोट दिनु हुन्न भन्नुभयो उहाँले । बनाउने खालकालाई दिनुपर्छ भन्नुभयो । त्यो सही कुरा हो । तर यस पल्टको चुनाव यस ठाउँमा मैले भन्नु पर्दा धिमाल जातिका लागि विकासका लागि बजेट राख्ने र बजेट काट्नेहरुका बिचको चुनाव पनि हो यो । प्रथम नागरिकहरुको नगरपालिका यस ठाउँको जनप्रतिनिधी संस्था नगरपालिकामा प्रथम नागरिक भनेर शालिक राख्नेहरु र शालिक भत्काउनेहरुका बीचको चुनाव पनि हो । भत्काउनेहरुलाई यस पल्ट साथ दिनु हुँदैन, मत दिनु हुँदैन । र यो चिया बगान बाट गेट बाट उत्तर आउने बाटो त्यसका लागि ३ करोड छुट्याइएको थियो । त्यो एडीबीले बनाउने भनेको थियौ हामीले, एडीबीले बनाउने भनेको थियो । त्यो पनि यहाँ आएर त धेरै उपयोग गर्ने होइन यहाँका जनताले गर्थे तर म सरकारबाट हटेपछि त्यो बजेट काटि दियो, त्यो योजना नै काटि दियो, अहिले त्यो छैन । यस्तै स्थितिमा त्यो बाटो बन्दैन तर २१ गते हामीले फैसला गर्नुपर्ने छ, २१ गते पछिको सरकार हामी बनाउछौ र फेरि त्यो बजेट ल्याउछौ । त्यसकारण तपाईँहरुले किन भोट हाल्नु पर्छ भन्दा तपाईँहरुलाई मैले यो कुरा बताए । ग्राम थान र संग्रहालय विकासका लागि केन्द्र बाट ३ करोड रुपैयाँ छुट्याइएको थियो, तपाईँहरुले कत्तिको थाहा पाउनु भएको थियो, थाहा छैन मलाई । ३ करोड रुपैयाँ छुट्याइएको थियो, म सरकारबाट हटेपछि अनधिकृत ढंगले, अहिलेको सरकारले काट्नै पाउँदैन त्यो बजेट । तर बलजस्ती त्यो बजेट काटिदिएको छ, संग्रहालय बनाउने बजेट । कति ५ करोड माग्नु भएको थियो है ? माग्दाखेरी ५ करोड माग्नु भएको थियो, मैले भने ५ करोड अहिले पर्दैन ३ करोड बाट काम थालौँ, काम अगाडी बढाउ अनि पछि अरु गर्दै जाउँला भनेर ३ करोड छुट्याएको थियो । मलाई राम्रैसँग सम्झना छ साथीहरुले भेटेरै पनि कुरा गर्नुभएको थियो मलाई र बजेट राखिएको थियो । त्यो बजेट अहिले काटिएको छ । त्यसकारण बजेट राख्ने र बजेट काट्नेका बीचमा यो चुनाव हुँदैछ तपाईँहरुले बुझ्नु पर्ने कुरा त्यो छ । धिमाल होमस्टेका लागि पनि ३ करोड बजेट छुट्याइएको थियो, त्यो बजेट पनि मैले छुट्याएको थिए । म सरकारबाट हटेपछि यिनीहरुले काटे । अहिले यहाँ चुनावमा केपी ओलीसँग प्रतिष्पर्धा गर्न आउँछु भन्ने मान्छेहरु यिनीहरुकै टिम हो जलाउने पनि र कटाउने पनि । त्यसो भएर यस्ताहरुलाई झुक्किएर पनि बढावा दिनुहुन्न प्रोत्साहित गर्नुहुन्न भन्ने दाजुभाइ दिदीबहिनीहरुलाई थाहा छ भन्ने मलाई लाग्छ ।’

अध्यक्ष ओलीले धिमाल जातिलाई ‘धर्तीपुत्र’ र ‘प्रथम नागरिक’ को संज्ञा दिँदै उनीहरूको पहिचान मेटाउन खोजिएको बताउनु भयो । आफू २०२० सालदेखि नै धिमाल समुदायसँग निकट रहेको स्मरण गर्दै ओलीले वि.सं. २०५१ सालमा गृहमन्त्री हुँदा धिमाल जातीय विकास केन्द्रका नाममा संग्रहालय र उद्योग सञ्चालन गर्न १० बिगाहा जमिन भोगाधिकार दिएको तथ्य उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले धिमाल समुदायबाट शिक्षित युवाहरू नेतृत्वमा आउन थालेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा राज्यका विभिन्न निकायमा उनीहरूको उपयुक्त प्रतिनिधित्वका लागि एमालेले विशेष ध्यान दिने समेत बताउनु भयो । शिक्षा, स्वास्थ्य र मौलिक पहिचानको संरक्षण नै आफ्नो मुख्य एजेण्डा रहेको भन्दै उहाँले कसैको भ्रममा नपर्न आग्रह गर्नुभयो ।
#केपीशर्माओली #निर्वाचन२०८२ #NepalPolitics #BudgetElection #PoliticalUpdate #DemocracyNepal #ElectionNepal #NepalNews #PoliticalSpeech #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



