विद्यार्थीहरुलाई सहुलियत दरको रासन कार्ड

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विद्यार्थीहरुलाई सहुलियत दरको रासन कार्ड निर्देशिका तयार गर्न मातहत निकायलाई निर्देशन दिनुभएको छ ।

 

ग्याँस, मट्टितेल, र खाद्यान्नमा ५० प्रतिशत सहुलियत दिनुपर्ने मागका साथ आन्दोलनमा रहेको अखिल क्रान्तिकारीसँगको वार्तामा प्रधानमन्त्री भट्टराईले यस्तो निर्देशन दिनुभएको हो । क्रान्तिकारीका अरु मागबारे निर्णय लिन प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलको संयोजकत्वमा समिति बनाइएको छ ।

 

पौडेलको संयोजकत्वमा रहने ११ सदस्यीय समितिमा अर्थ, आपूर्ति, शिक्षा र श्रम तथा यातायात मन्त्रालयका सहसचिवहरु र क्रान्तिकारीका तर्फबाट अध्यक्ष हिमाल शर्मा सहितका विद्यार्थी रहनेछन् ।

उक्त समितिले विद्यार्थीका मागमाथि अध्ययन गरी निर्णयका लागि सिफारिश गर्नेछ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको वार्तामा प्रधानमन्त्री भट्टराई, अर्थमन्त्री वर्षमान पुन, शिक्षामन्त्री दीनानाथ शर्मा र आपूर्तिमन्त्री लेखराज भट्ट तथा क्रान्तिकारीबाट अध्यक्ष शर्मासहित पदाधिकारीको टोली सहभागी थियो ।