

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी छोडेकी छन् ।
हाल पार्टीको केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी शर्माले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएकी छन् ।
उनले राजीनामामा संगठनमा दिनरात खटिएका कार्यकर्ताको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको , पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मुलत: आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएको आरोप लगाउदै सबै क्रियाकलापहरुको साक्षी बसेर अब मौन रहिरहन असमर्थ रहेको भन्दै पार्टीको साधारण सदस्य नरहने गरि राजीनामा दिएको घोषणा गरेकी छन् ।

उनले ‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ’ र ‘जान्नेलाई छान्ने’ भन्ने मूल नाराले प्रेरित भई यस पार्टीमा आवद्ध भएको उल्लेख गर्दै आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालिन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरित भएको अनुभव गरेको समेत उल्लेख गरेकी छन् ।
शर्मा पार्टीको प्रारम्भिक चरणदेखि मधेश प्रदेशमा संगठन विस्तार र संरचना निर्माणमा सक्रिय भूमिका खेलेकी नेता हुन् ।



