

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- प्रधानमन्त्री सुशीला कार्कीले आज गण्डकी प्रदेशका विभिन्न जिल्ला भ्रमण गरी निर्वाचन तयारीको अनुगमन तथा समीक्षा गरेकी छन् । प्रधानमन्त्री कार्कीले मुस्ताङ जिल्लामा पुगेर मुक्तिनाथ मन्दिर, जोमसोम लगायतका क्षेत्रको अवलोकन गरेकी थिइन् । उनले स्थानीय बासिन्दा, सुरक्षा निकायका प्रमुखहरू तथा निर्वाचन तयारीमा खटिएका कर्मचारीहरूसँग प्रत्यक्ष छलफल गरेकी थिइन् । जोमसोममा आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकारी (जिल्ला न्यायाधीश) तथा सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचनको अवस्था, सम्भावित चुनौती तथा विशेष गरी मौसमी प्रतिकूलताका विषयमा विस्तृत छलफल भएको थियो । हिमाली तथा माथिल्लो भेगमा हिमपात वा वर्षा भएमा मतदान प्रभावित हुन सक्ने विषय उठेपछि प्रधानमन्त्री कार्कीले त्यस्ता क्षेत्रमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीका लागि आवश्यक औषधी, प्राथमिक उपचार सामग्री र अन्य उपकरणको पर्याप्त व्यवस्था गर्न निर्देशन दिएकी थिइन् ।

प्रधानमन्त्रीले मुस्ताङका विभिन्न हिमाली बस्तीहरूको हवाई निरीक्षणसमेत गरेकी थिइन् । शान्ति सुरक्षाको कुनै समस्या नरहेको स्थानीय अधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई ब्रिफिङ गरेका थिए । सहर झरेका मतदाता अरु बेला चैतमा फर्किने गरेका भए पनि यसपालि निर्वाचनकै कारण महिना दिनअगावै फर्किरहेको जानकारी पनि दिएका थिए । मुस्ताङबाट फर्किएपछि प्रधानमन्त्री पोखरा पुग्नुभयो । विजयपुरस्थित नेपाली सेनाको पश्चिम पृतना मुख्यालयमा गण्डकी प्रदेश कमान्ड पोस्ट तथा निर्वाचन सेलमा उच्चस्तरीय बैठक सम्पन्न भएको थियो । बैठकमा प्रमुख सचिव डण्डुराज घिमिरे, पृतनापति उपरथी भोला थापा, कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासे, नेपाल प्रहरीका डीआईजी दीपेन्द्र जीसी, सशस्त्र प्रहरीका डीआईजी दीपेन्द्र शाह, प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा लगायतको उपस्थिति थियो । प्रमुख सचिव र पृतनापतिले निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन, मतदान स्थल, मौसमी चुनौती तथा आकस्मिक योजनासम्बन्धी प्रस्तुतीकरण गरेका थिए । त्यसपछि विभिन्न निकायका प्रमुखहरूले आफ्नो धारणा राखेका थिए । बैठकमा प्रस्तुत जानकारीअनुसार राजनीतिक दलहरूमा निर्वाचनप्रति उत्साह देखिएको, मतदातामा पनि जागरण रहेको, आचारसंहिता पालनाका सन्दर्भमा सम्झाउने र सहकार्यको वातावरण रहेको, उग्र गतिविधि कम रहेको, प्रचारप्रसार शान्तिपूर्ण, शिष्ट र मितव्ययी ढंगले भइरहेको ब्रिफिङ गरिएको थियो । यद्यपि, केही समूहले सामाजिक सञ्जालमार्फत बहिष्कारका नाममा वातावरण धमिल्याउन प्रयास गरेको विषय उठेको र त्यस्ता गतिविधिलाई कानूनी दायरामा ल्याउने क्रम पनि चलिरहेको बताइएको थियो । गण्डकी प्रदेशमा कुल १८ लाख ४४ हजार ३५५ मतदाता रहेका छन्। १८ निर्वाचन क्षेत्रमा ३१४ उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमध्ये २९ जना महिला उम्मेदवार रहेका छन् । प्रदेशभर १,२६९ मतदान स्थल तोकिएका छन् । हाल मौसम अनुकूल रहेको र मौसमविद्हरूले प्रतिकूलताको पूर्वानुमान नगरेकाले तोकिएको मिति फागुन २१ गते एकै दिन निर्वाचन सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरिएको छ । प्रधानमन्त्री कार्कीले हालसम्मको तयारीलाई सन्तोषजनक र उत्साहप्रद भन्दै सम्बन्धित अधिकारीहरूलाई धन्यवाद दिएकी थिइन् । उनले निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र विवादमुक्त रूपमा सम्पन्न गराउन फिल्डमा खटिएका कर्मचारी तथा सुरक्षा निकायको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गरेकी थिइन् । राष्ट्रलाई निकास दिने माध्यमका रूपमा यस निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा लिएर सबैले मिलेर दायित्व पूरा गर्नुपर्ने उनको भनाइ थियो ।

२- दाङको तुलसीपुर उप–महानगरपालिका–५ स्थित बिरेन्द्र चोकमा भएको झण्डा जलाउने घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिबार राति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा आयोजित स्वागत कार्यक्रममा भीडभाडका बीच केही अपरिचित व्यक्तिहरूले नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी दाङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम वोहराका अनुसार सो घटनामा संलग्न रहेका तुलसीपुर उप–महानगरपालिका–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिइएको छ । पक्राउ परेका बस्नेतमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताउँदै जिल्ला प्रहरी कार्यालय दाङले समाजमा शान्ति–सुरक्षा र सामाजिक सद्भावमा खलल पुर्याउने यस्ता गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ । साथै, सम्पूर्ण सरोकारवाला पक्षलाई संयमित र जिम्मेवार बन्न समेत अनुरोध गरिएको छ ।
३- रूस-युक्रेन युद्धका बीच युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रूससँग वार्ताका लागि आफूहरू तयार रहेको बताएका छन् । तर कुनै पनि सम्झौता युक्रेनको स्वतन्त्रता र सार्वभौमिकताको मूल्यमा स्वीकार्य नहुने उनले स्पष्ट पारेका छन् । जापानी समाचार संस्था क्योडोसँगको अन्तर्वार्तामा उनले अमेरिका लगायत साझेदार मुलुकसँग वार्ता गर्न तयार रहेको उल्लेख गर्दै रूसबाट बारम्बार अल्टिमेटम स्वीकार गर्न नसकिने बताए । उनले भने- ‘रूस आक्रमणकारी राष्ट्र हो भन्ने कुरा अन्तर्राष्ट्रिय समुदायले स्वीकार गरिसकेको छ । युद्धको सुरुदेखि मध्यस्थताको प्रयास गर्ने देशहरूले समेत यही तथ्य मानेका छन् ।’ जेलेन्स्कीका अनुसार युक्रेनले ठूलो सम्झौताको संकेतस्वरूप आक्रमणकारी पक्षसँग शान्ति वार्ताको ढोका खुला राखेको छ । उनले बताए- ‘रूसले हाम्रो करिब २० प्रतिशत भूभाग कब्जा गरिसकेको छ । त्यस अवस्थामै हामी शान्तिको कुरा गर्न तयार छौँ, जहाँ छौँ त्यही अवस्थाबाट अघि बढ्ने आधारमा वार्ता गर्न इच्छुक छौँ । यो आफैंमा ठूलो सम्झौता हो ।’ तर उनले सम्झौता गरेपछि रूसले हामीलाई के ग्यारेन्टी दिन्छ ? भन्ने प्रश्न उठाएका छन् । उनले भने- ‘ उनीहरू भन्छन् कि बाँकी भूभाग कब्जा गर्दैनौँ, त्यो धम्कीपूर्ण भाषा हो। यस्तो प्रस्ताव सम्झौता होइन, अल्टिमेटम हो ।’ राष्ट्रपति जेलेन्स्कीले युक्रेनको सार्वभौमिकता, क्षेत्रीय अखण्डता, सेना र नागरिकको सम्मान हुने आधारमा मात्र सम्झौता सम्भव हुने दोहोर्याए । उनले भने- ‘हामी शान्तिका लागि तयार छौँ, तर धम्की र दबाबका आधारमा हुने कुनै पनि प्रस्ताव स्वीकार्य छैन ।’

४- सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपालका संयोजकतथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । शुक्रबार बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रसाईलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो । दुर्गा प्रसाईंको हकमा उमा प्रसाईंले दर्ता गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले यस्तो आदेश गरेको छ । उनलाई फागुन ४ गते पक्राउ गरेर चार दिन म्याद थपिएको छ । यसअघि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्युरोले हाजिरी जमानीमा छोडेको थियो । प्रसाईंले निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको भन्दै प्रहरीले उनलाई पटकपटक पक्राउ गर्दै आएको छ । उनी यसअघि माघ ५ मा पनि पोखराबाट पक्राउ परेका थिए र हाजिरी जमानीमा छुटेका थिए ।
५- काठमाडौँ महानगरले बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा अब अनधिकृत व्यक्तिको प्रवेश पूर्णरूपमा निषेध गरेको छ । महानगरको वातावारण विभागका अनुसार उक्त स्थलमा दैनिक रूपमा २४ स्थानीय तहबाट संकलित फोहरमैलाको अन्तिम व्यवस्थापन हुँदै आएको छ । तर पछिल्लो समय फोहरमैला तथा कवाडी संकलन गर्ने अनधिकृत व्यक्तिहरू र अन्य असम्बन्धित व्यक्तिहरूको प्रवेशका कारण स्वास्थ्य र सुरक्षासम्बन्धी जोखिम बढ्दै गएको जनाइएको छ । ल्यान्डफिल क्षेत्रमा फोहर विसर्जनका क्रममा डोजर, एक्साभेटर, लोडर, जेट, ट्रिपर लगायतका भारी सवारी साधन निरन्तर सञ्चालनमा रहने भएकाले अनधिकृत व्यक्तिको उपस्थितिले सवारी दुर्घटनाको सम्भावना उच्च हुने महानगरले जनाएको छ । यही जोखिमलाई ध्यानमा राख्दै २०८२ फागुन ८ गतेदेखि ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश पूर्णरूपमा रोक लगाइएको हो । महानगरले अनुमति प्राप्त कर्मचारी, सुरक्षाकर्मी तथा आधिकारिक रूपमा खटिएका व्यक्तिबाहेक अन्य कसैलाई पनि उक्त क्षेत्रमा प्रवेश नगर्न र नगराउन अनुरोध गरेको छ । सूचनाको उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ । साथै अनधिकृत रूपमा प्रवेश गरी कुनै दुर्घटना भएमा कार्यालय जिम्मेवार नहुने र सम्बन्धित व्यक्तिलाई कानुनी सजाय हुने स्पष्ट गरिएको छ ।
६- भारतको नयाँ दिल्लीमा जारी ‘इन्डिया एआई इम्प्याक्ट समिट २०२६’ का क्रममा टाटा ग्रुप र ओपनएआईबीच रणनीतिक सहकार्य घोषणा गरिएको छ । यस सहकार्यअन्तर्गत भारतमै कृत्रिम बुद्धिमत्तामा आधारित अत्याधुनिक डाटा केन्द्र स्थापना गरिने जनाइएको छ, जसले देशभित्रै डाटा सुरक्षित भण्डारण र उच्चस्तरीय गणनात्मक पूर्वाधार विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । समारोहमा विश्वका अग्रणी प्रविधि क्षेत्रका नेतृत्वहरूले कृत्रिम बुद्धिमत्ताको भविष्य, यसको सामाजिक प्रभाव र जिम्मेवार प्रयोगबारे व्यापक छलफल गरेका छन् । सहभागीहरूले आगामी वर्षहरूमा भारत कृत्रिम बुद्धिमत्ता नवप्रवर्तनको प्रमुख केन्द्रका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले उक्त मञ्चले कृत्रिम बुद्धिमत्ताप्रति भारतको स्पष्ट दृष्टिकोण र गम्भीर प्रतिबद्धता विश्वसामु प्रस्तुत गरेको बताए । उनका अनुसार भारतले विकास, सुशासन र आर्थिक रूपान्तरणसँग कृत्रिम बुद्धिमत्तालाई जोड्ने दीर्घकालीन योजना अघि सारेको छ । सहकार्यअनुसार टाटा कन्सल्टेन्सी सर्भिसेसको ‘हाइपरभल्ट तथ्याङ्क केन्द्र’ को पहिलो सेवाग्राही ओपनएआई हुनेछ । परियोजना प्रारम्भमा १०० मेगावाट क्षमताबाट सुरु गरिनेछ र भविष्यमा १ हजार मेगावाटसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ । यसले कृत्रिम बुद्धिमत्ता प्रणालीहरूलाई देशभित्रै तीव्र, सुरक्षित र प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने जनाइएको छ, जसबाट सरकारी तथा अत्यावश्यक सेवाहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । टाटा समूहले आफ्ना लाखौँ कर्मचारीलाई ‘च्याटजीपीटी इन्टरप्राइज’ सेवाको पहुँच उपलब्ध गराउने योजना पनि सार्वजनिक गरेको छ । यसको सुरुवात टाटा परामर्श सेवा कम्पनीका कर्मचारीबाट गरिनेछ । यसलाई विश्वमै कुनै संस्थाद्वारा कृत्रिम बुद्धिमत्ताको व्यापक आन्तरिक प्रयोगमध्ये एक मानिएको छ । फेब्रुअरी १६ देखि २० सम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय कार्यक्रममा कृत्रिम बुद्धिमत्ताको अवसर, सम्भावित चुनौती तथा मानवहितमा यसको उपयोगबारे विस्तृत बहस भएको छ। बिहीबार आयोजित विशेष सत्रमा गुगलका प्रमुख सुन्दर पिचाई, ओपनएआईका प्रमुख साम अल्टम्यान र एन्थ्रोपिकका प्रमुख डारियो अमोडेइ लगायतका प्रविधि नेतृत्वहरू सहभागी भएका थिए । टाटा समूह र ओपनएआईबीचको सहकार्य भारतलाई कृत्रिम बुद्धिमत्ता पूर्वाधार र अनुसन्धानका क्षेत्रमा नयाँ उचाइमा पुर्याउने महत्वपूर्ण कदमका रूपमा विश्लेषण गरिएको छ ।

७- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ७ महिनामा नेपालको वैदेशिक व्यापारमा आयात १३.६५ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो ७ महिनामा आयात १३.६५ प्रतिशत बढेको छ भने निर्यात ३२.१९ प्रतिशतले बढेको छ । रिपोर्ट अनुसार ७ महिनमा ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख १३ हजार बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ७ महिनामा ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख बराबरको आयात भएको थियो । यस्तै यस आर्थिक बर्षको ७ महिनामा एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख २४ हजार बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा एक खर्बं २७ अर्ब २० करोड ४८ लाख २९ हजार बराबरको निर्यात भएको थियो । यस आर्थिक बर्षको ७ महिनामा व्यापार घाटा उच्च देखिएको छ । यस अवधिमा व्यापार घाटा १०.९१ प्रतिशतले बढेको छ । व्यापार घाटा चालु आर्थिक वर्षको ७ महिनामा ९ खर्ब ५५ अर्ब ३४ लाख पुगेको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ८ खर्ब ६१ अर्ब ३८ करोड रहेको थियो । भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको ७ महिनामा कुल वैदेशिक व्यापार १५.७६ प्रतिशतले बढेको छ । यस अवधिमा कुल वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब ६३ करोड पुगेको छ, जबकी अघिल्लो बर्षको ७ महिनामा कुल बैदेशिक व्यापार ११ खर्ब १५ अर्ब ७९ करोड रहेको थियो । त्यसैगरी ७ महिनामा आयात–निर्यात अनुपातमा सुधार देखिएको छ । गत वर्ष ७.७७ गुणा रहेको अनुपात निर्यात बढेपछि यस वर्ष घटेर ६.६८ गुणामा झरेको छ ।
८- पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले देशको विकास र समृद्धिका लागि दक्ष, नैतिक र जिम्मेवार जनशक्ति उत्पादनमा जोड दिएकी छन् । पोखरामा आयोजित समारोहमा उनले दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै उच्च शिक्षा केवल प्रमाणपत्रमा सीमित नरही राष्ट्र निर्माणको आधार बन्नुपर्ने बताइन् । उनले प्राप्त गरेको उपाधि जीवनको नयाँ यात्राको प्रारम्भ भएको उल्लेख गर्दै ज्ञान, सीप र सकारात्मक सोचलाई समाज र राष्ट्रको हितमा प्रयोग गर्न आग्रह गरिन्। प्रधानमन्त्री कार्कीले युवाहरू नै भावी नीति-निर्माता, प्रशासक र समाज रूपान्तरणका संवाहक भएको उल्लेख गर्दै जटिल राष्ट्रिय समस्याको समाधान खोज्न सक्षम नेतृत्व विकास आवश्यक रहेको बताइन् । भदौ २३ र २४ गते जेन्जी युवाले उठाएका सवालहरूलाई स्मरण गर्दै उनले आत्ममूल्यांकन र जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्ने धारणा राखिन् । विश्वव्यापी प्रतिस्पर्धा र तीव्र गतिमा परिवर्तन भइरहेका प्रविधिको सन्दर्भमा उनले नवप्रवर्तन, उद्यमशीलता र अनुसन्धानमा आधारित शिक्षामा जोड दिनुपर्ने बताइन् । विश्वविद्यालयले प्रदान गर्ने शिक्षा समकालीन समाजको आवश्यकता, रोजगारी सिर्जना र आर्थिक सुदृढीकरणसँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने उनको भनाइ थियो । उनले उच्च शिक्षा सम्पन्न गरेपछि ठूलो संख्यामा युवाहरू विदेश पलायन हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण निर्माणमा विश्वविद्यालय, सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताइन् । पाठ्यक्रम र पठन पद्धतिलाई समयसापेक्ष र व्यावहारिक बनाउनुपर्नेमा उनले जोड दिइन् । प्रधानमन्त्री कार्कीले अनुशासन, परिश्रम र मानवीय मूल्यहरू दीर्घकालीन सफलताको आधार भएको उल्लेख गर्दै विश्वविद्यालयलाई पूर्वाधार विकास, अनुसन्धान प्रवर्द्धन तथा विद्यार्थीलाई व्यावहारिक अनुभव उपलब्ध गराउनेतर्फ ध्यान दिन आग्रह गरिन् । समारोहको अन्त्यमा उनले लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्द्धन र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि निकट भविष्यमा हुने निर्वाचनमा सक्रिय र जिम्मेवार सहभागिताका लागि सबैलाई आह्वान गरेकी थिइन् ।
९- नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न सूर्य अङ्कित झण्डा जलाएको घटनाको निन्दा गरेको छ । एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै देश जलाउनेहरुले नै झण्डा जलाएको बताउदै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दसहित नाराबाजी तथा महासचिव शंकर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताबाट गरिएको व्यबहारले झण्डामा आगो लगाउनेहरू उनै देश जलाउनेहरू हुन् भन्ने यो घटनाले पुष्टि गरेको बताएका छन् । उनले भनेका भन्छन्- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङ तुल्सीपुरमा नेकपा (एमाले) को चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । लाखौ जनतामा लोकप्रिय हाम्रो पार्टीको आस्थामा चोट पुऱ्याउने गरी ‘सूर्य’ चिन्ह अंकित झण्डामा आगो लगाउनेहरू उनै देश जलाउनेहरू हुन् भन्ने यो घटनाले पुष्टि गरेको छ । र, यो अराजकता, उद्दण्डता र अपराधिक घटनाको नेकपा (एमाले) घोर भर्त्सना गर्दछ ।’ विज्ञप्तिमा एमाले अनुशासित पार्टी भएकाले यो घट्नाबाट उत्तेजित नभएको उल्लेख गर्दै संयमता, धैर्यतालाई कमजोरी नठान्न चेतावनी दिइएको छ । विज्ञप्तिमा भनिएको छ- ‘एमाले अनुशासित पार्टी भएकाले यो घटनाबाट उत्तेजित भएको छैन । यद्यपि हाम्रो संयमता, धैर्य हामी कमजोर भएर होइन । एमाले कानुनी शासनको सम्मान गर्ने भएकाले झण्डा जलाउने रास्वपाका कार्यकर्ताहरूलाई तत्काल पहिचान गरी कानुनी दायरामा लिई कारवाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छ । अतः सरकार भयरहित, निष्पक्ष र निर्भिक ढंगले मतदातालाई मतदान गर्ने अधिकारलाई सुरक्षित गर्न सकिरहेको छैन भन्ने हाम्रो तर्कलाई यस घटनाले पुष्टि त गर्दैन ? भन्ने प्रश्न उब्जिएको छ ।’ झण्डा जलाउने कार्यबाट निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको बताउदै एमालेले निर्वाचन आयोगले सम्बन्धित दललाई तत्कालै प्रष्टीकरण लिई उनीहरूको जवाफ सार्वजनिक गर्न एमा जोड्दार माग गरेको छ । साथै एमालेले झण्डा जलाउने दल र त्यसका कार्यकर्ताहरू माथि कानुनी कारवाही नगरिए त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थिति र घट्नाको जिम्मेवार सरकार, निर्वाचन आयोग र झण्डा जलाउने दल रास्वपा हुने चेतावनी दिएको छ ।
१०- निर्वाचन आयोगकी आयुक्त डा. जानकी कुमारी तुलाधरले आयोग प्रेसलाई नियन्त्रण गर्ने होइन, सहकार्य र समन्वयका साथ अघि बढ्ने पक्षमा रहेको बताएकी छन्। निर्वाचनका बेला पत्रकारिताको भूमिका अत्यन्त संवेदनशील र महत्वपूर्ण हुने उल्लेख गर्दै उनले सत्य, पुष्टि गरिएका तथा सन्तुलित समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरिन् । नेपाल पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै आयुक्त डा. तुलाधरले स्वतन्त्र र जिम्मेवार पत्रकारिताले मात्र स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सक्ने धारणा राखिन् । महासंघकी अध्यक्ष निर्मला शर्माले निर्वाचनपूर्व आयोजित यस्ता कार्यक्रमले पत्रकारहरूको आत्मविश्वास बढाउनुका साथै के गर्ने र के नगर्ने भन्ने विषयमा स्पष्टता दिने विश्वास व्यक्त गरिन्। उनले सञ्चारकर्मीलाई भयरहित वातावरणमा सूचना संकलन र समाचार सम्प्रेषण गर्न सहयोग गर्न सबै सरोकारवालासँग अपिल गरिन्। महासंघका सचिव प्रकाश धौलाकोटीले उपत्यकामा कार्यरत पत्रकारहरूका लागि निर्वाचन आचारसंहितासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनले शनिबारदेखि सातै प्रदेशमा यस्ता कार्यक्रम विस्तार गरिने पनि बताए । निर्वाचन रिपोर्टिङलाई तथ्यपरक, सन्तुलित र विश्वसनीय बनाउन महासंघले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा आचारसंहिताको प्रभावकारी पालना, जिम्मेवार समाचार सम्प्रेषण र पेसागत मर्यादाबारे स्पष्ट मार्गदर्शन दिइएको थियो । सहभागी सञ्चारकर्मीहरूले निर्वाचनका क्रममा निष्पक्षता, व्यावसायिकता र आचारसंहिताको पूर्ण पालना गर्दै विश्वसनीय पत्रकारिता गर्ने प्रतिबद्धता जनाएका थिए।

११- नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले एमालेको झण्डा जलाएको घटनाको कडा निन्दा गरेको छ । अनेरास्ववियुका अध्यक्ष दिपक धामीले शुक्रबार विज्ञप्ति जारी गरेर राजनीतिक मतभिन्नता लोकतन्त्रको स्वाभाविक विशेषता भए पनि फरक आस्था र विचारप्रति असहिष्णुता प्रदर्शन गरी अरुको आस्थामा आक्रमण गर्नु लोकतान्त्रिक संस्कारविपरीत रहेको बताएका छन् । अनेरास्ववियुले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ भने सरकार मौन बसेर अराजकतालाई प्रोत्साहन दिएमा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
१२- रौतहटको गौर नगरपालिका-६ स्थित सनगढा गाउँमा दुई समुदायबीच झडप भएपछि अवस्था तनावपूर्ण बनेको छ । सो क्षेत्रमा घटनाले उग्र रूप लिएसँगै शान्ति-सुरक्षा कायम गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । बिहीबार राति हिन्दू समुदायको विवाह जाँदा बाजागाजा बजाइएको विषयलाई लिएर मुस्लिम समुदायसँग विवादबाट सुरु भएको बताइएको छ । मस्जिदमा रात्री प्रार्थना भइरहेको समयमा बाजा बजाएको भन्दै भनाभन बढेपछि केही व्यक्तिमाथि कुटपिट समेत भएको थियो । सो घटनापछि शुक्रबार बिहानैदेखि पुनः दुवै पक्षबीच झडप शुरु भएको थियो । यसले गाउँमा त्रासको वातावरण सिर्जना गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रशासनले तत्काल सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । अहिले घटना भएको क्षेत्रमा ठुलो संख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी अढाई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको र अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको प्रशासनले बताएको छ ।
१३- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी निकायहरूलाई यूएफओ र एलियनहरूसँग सम्बन्धित फाइलहरू फेला पार्ने र जारी गर्ने प्रक्रिया सुरु गर्न आदेश दिइरहेको बताएका छन् । वर्षौंदेखि केही मानिसहरूले यी फाइलहरू सार्वजनिक गर्न माग गर्दै आएका छन् । ट्रम्पले रक्षा सचिव र अन्य सम्बन्धित विभागहरूलाई एलियन जीवन, अज्ञात हवाई घटना र अज्ञात उडान वस्तुहरू (यूएफओ) सँग सम्बन्धित सरकारी फाइलहरू पहिचान गर्न र जारी गर्न निर्देशन दिएको बताएका छन् । उनले गोप्य कागजातहरू पनि सार्वजनिक गरिनेछ कि गरिनेछैन भनेर निर्दिष्ट गरेनन्, केवल यी मामिलाहरूसँग सम्बन्धित सबै जानकारी समावेश गरिनुपर्ने बताएका छन् । यसअघि ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामाले हालै भाइरल पोडकास्टमा एलियनहरूको अस्तित्वको बारेमा गोप्य जानकारी सार्बजनिक गरेको दाबी गरेका थिए । ओबामाले पोडकास्ट होस्ट ब्रायन टायलर कोहेनसँगको कुराकानीमा एलियनहरू ‘वास्तवमा रहेको’ दाबी गरेका थिए, तर उनले तिनीहरूलाई नदेखे र तिनीहरूलाई क्षेत्र ५१ मा नराखिएको बताएका थिए । क्षेत्र ५१ एक अत्यन्त गोप्य अमेरिकी सैन्य अड्डा हो, जुन धेरै षड्यन्त्र सिद्धान्तहरूको विषय भएको छ । ओबामाले यो पनि भने कि त्यहाँ कुनै गोप्य बंकर सुविधा नरहेको बताएका थिए । ओबामाको बयानप्रति टिप्पणी गर्दै ट्रम्पले गोप्य जानकारी सार्बजनिक गरेको आरोप लगाएका थिए । उनले ओबामाले ठूलो गल्ती गरेको पनि बताएका थिए ।
१४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवा र कास्कीको पोखरामा गर्ने भनिएको चुनावी सभा स्थगन गरेको छ । पार्टी उपसभापति डोल प्रसाद अर्यालले पत्र लेख्दै फागुन ९ गते भैरहवामा र फागुन १० गते पोखरामा गर्ने भनिएको परिवर्तन उदघोष सभा स्थगन गर्ने निर्णय भएको पत्र पठाएका हुन् । पत्रमा भनिएको छ- प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ को तयारीको क्रममा परिवर्तन उद्धघोष सभा गर्ने भनिएकोमा संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनैतिक व्यवस्थापन लगाएतका विषेश कारण उक्त कार्यक्रम हालका लागि स्थगन गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराउदछु । यस निर्णयबाट यहाँहरूमा पर्न सक्ने असुविधाप्रति हार्दिक क्षमायाचना व्यक्त गर्दै यहाँहरूको साथ, सहयोग तथा सहकार्यको अपेक्षा गर्दछु ।’
१५- प्रेम सम्बन्धलाई औपचारिक रूप दिँदै अभिनेत्री नीति शाह वैवाहिक जीवनमा प्रवेश गरेकी छन् । उनले शुक्रबार प्रेमी याञ्चित राणासँग पारम्परिक विधिअनुसार विवाह गरेकी हुन् । काठमाडौंस्थित एक होटलमा सम्पन्न समारोहमा दुवै परिवार, आफन्त र निकट मित्रहरूको उपस्थिति रहेको थियो । यसअघि गत बैशाखमा उनीहरूले काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह दर्ता गरिसकेका थिए । करिब चार वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले विवाहअघि प्रि-वेडिङ फोटोसुट तथा निकट साथीहरूसँग गोप्य रूपमा ब्याचलर पार्टीसमेत मनाएका थिए । बुधबार आयोजित संगीत समारोहमा पल शाह, बेनिशा हमाल, सन्ध्या केसी र आकृति राजभण्डारीलगायतले प्रस्तुति दिएका थिए । शनिबार साँझ भव्य स्वागत समारोह आयोजना गरिएको छ। कार्यक्रममा राजेश हमालदेखि अनमोल केसीसम्मका कलाकारलाई निमन्त्रणा गरिएको बताइएको छ । नीतिका पति याञ्चित पेशाले विमान मर्मत इन्जिनियर हुन् र हेलिकप्टर सेवा प्रदायक कम्पनी एयर डाइनेस्टीमा कार्यरत छन् । सन् २०१७ मा मिस इन्टरनेशनल नेपालको उपाधि जितेकी नीतिले फिल्म ‘खजुरे ब्रो’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । प्रारम्भिक केही फिल्मले अपेक्षित सफलता नपाए पनि यस वर्ष प्रदर्शन भएको ‘मोहर’ले उनलाई व्यावसायिक सफलता दिलाएको थियो । हाल उनी आधा दर्जनभन्दा बढी फिल्ममा व्यस्त रहेकी छन् ।
१६- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको झण्डा जलाउने कार्यलाई आपराधिक गतिविधि भएको बताएका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै झण्डा जलाएर अरूको आस्थामा चोट पुर्याउनेहरू सम्मानका हकदार हुन नसक्ने बताउदै यस्ता तत्वलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्ने बताएका छन् । दाङको तुलसीपुरस्थित वीरेन्द्र चोकमा गएराती रवि लामिछानेको स्वागतका लागि उपस्थित समर्थकहरूले एमालेविरुद्ध नाराबाजी गर्दै एमालेको झण्डा जलाइदिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

१७- नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य स्थिर रहदै तोलाको ३ लाख ४ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार पनि सोहि मुल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ५०५० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५०६० मा कारोबार भएको थियो ।
१८- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी १० दिनभित्र अमेरिका इरानसँग सहमतिमा पुग्ने कि सैनिक कारबाही गर्ने भन्ने विषय स्पष्ट हुने बताएका छन् । वासिङ्टन डिसीमा आयोजित ‘शान्ति बोर्ड’ को उद्घाटन बैठकलाई सम्बोधन गर्दै उनले इरानको आणविक कार्यक्रमबारे जारी वार्ताका सन्दर्भमा यस्तो अभिव्यक्ति दिएका हुन् । उनले भने- ‘हामीले अर्थपूर्ण सहमति गर्नैपर्छ, नत्र नराम्रा परिणाम आउन सक्छन् ।’ ट्रम्पले विगतका अनुभवले इरानसँग सार्थक सम्झौता गर्न सजिलो नभएको प्रमाणित गरेको पनि उल्लेख गरेका छन् । पछिल्ला दिनहरूमा अमेरिकाले पश्चिम एसियामा आफ्नो सैनिक उपस्थिति बढाएको छ । यता, स्विट्जरल्यान्डमा अमेरिकी र इरानी प्रतिनिधिबीच भएको वार्तामा केही प्रगति भएको समाचारसमेत सार्वजनिक भएको छ । यसैबीच, अमेरिकी संसदका डेमोक्रेटिक दलका सांसदहरू तथा केही रिपब्लिकन नेताहरूले संसदको स्वीकृतिविना इरानमाथि सम्भावित सैनिक कारबाही नगर्न चेतावनी दिएका छन् । सम्बोधनका क्रममा ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरले इरानसँग धेरै सकारात्मक बैठकहरू गरेको दाबी गरेका छन् ।

१९- बेलायतका राजा चार्ल्स तृतीयका भाइ एन्ड्रयू माउन्टबेटन-विन्डसर) लाई प्रहरीले रिहा गरेको छ । उनलाई सार्वजनिक पदको दुरुपयोग गरेको आशंकामा बिहीबार पक्राउ गरिएको थियो । थेम्स भ्याली पुलिसले एन्ड्रयूलाई अनुसन्धानको प्रक्रियाअन्तर्गत रिहा गरिएको पुष्टि गरेको बिबिसीले उल्लेख गरको छ । प्रहरीका अनुसार नोरफोक क्षेत्रमा गरिएको खानतलासीसमेत सम्पन्न भइसकेको छ । यद्यपि, उनीविरुद्धको अनुसन्धान भने जारी रहने जनाइएको छ । राजा चार्ल्स तृतीयले भाइको पक्राउबारे प्रतिक्रिया दिँदै कानूनलाई आफ्नो काम गर्न दिनुपर्ने बताएका छन् । उनले प्रहरी अनुसन्धानमा दरबारको पूर्ण समर्थन र सहयोग रहने पनि स्पष्ट पारेका छन् । यसअघि थेम्स भ्याली प्रहरीले कुख्यात यौन अपराधी जेफ्री एपस्टाइनसँग एन्ड्रयूको सम्बन्धबारे उठेका आरोपको अनुसन्धान गर्ने विषयमा विचार गरिरहेको जनाएको थियो । साथै, एपस्टाइनसँग गोप्य सूचनाहरू आदानप्रदान गरिएको भन्ने आरोपको पनि समीक्षा भइरहेको बताइएको छ । हालै अमेरिकी सरकारद्वारा सार्वजनिक गरिएका कागजातहरूमा एपस्टाइन र एन्ड्रयूबीचको संवाद समेटिएको उल्लेख गरिएको छ । ती कागजात सार्वजनिक भएसँगै बेलायती राजपरिवारमाथि थप दबाब बढेको विश्लेषण गरिएको छ ।
२०- क्यानडालाई ८२ रनले पराजित गर्दै अफगानिस्तानले जारी टी-२० विश्वकपमा आफ्नो अभियान समाप्त गरेको छ । बिहीबार चेन्नईमा खेलिएको ३९औं खेलमा अफगानिस्तानले इब्राहिम जद्रानको शक्तिशाली ९५ रनको पारीको मद्दतले २० ओभरमा चार विकेट गुमाएर २०० रन बनाएको थियो । जवाफमा, क्यानडाले तोकिएको ओभरमा आठ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो । मोहम्मद नाबीले चार विकेट लिए भने रशिद खानले एक विकेट लिए । अफगानिस्तानको जितका नायक इब्राहिम जद्रान थिए, जसले ९५ रनको शानदार अविजित इनिङ खेले । जद्रानले ५६ बलमा सात चौका र पाँच छक्का प्रहार गरेका थिए । त्यस्तै सेदिकुल्लाह अटलले पनि ४४ रनको महत्वपूर्ण इनिङ खेले । यी दुईले तेस्रो विकेटको लागि ९५ रनको साझेदारी गरे जसले खेललाई आफ्नो पक्षमा पारेका थिए । २०० रनको लक्ष्य पछ्याउँदै, क्यानडाको सुरुवात खराब भयो । टोलीले पहिलो छ ओभरमा तीन विकेट गुमायो । कप्तान दिलप्रीत बाजवा १३ रनमा आउट भए । त्यसपछि नियमित अन्तरालमा विकेट झर्यो । अनुभवी अफगान अलराउन्डर मोहम्मद नाबीले उत्कृष्ट बलिङ गरे, चार ओभरमा केवल सात रन दिएर चार विकेट लिए । कप्तान रशिद खानले पनि दुई विकेट लिएर जित सुनिश्चित गरे । योसँगै अफगानिस्तानले ४ खेलमा २ जित र २ हारसहित आफ्नो विश्वकप यात्रा समाप्त गरेको छ भने क्यानडाले समुह चरणका चारै खेलमा हार बेहोरेर विश्वकप समाप्त गरेको छ ।
#मुख्यसमाचार #समाचारबुलेटिन #Top20News #NepalNews #समसामयिकसमाचार #राष्ट्रियसमाचार #PoliticalNews #EconomicNews #SocialUpdate #BreakingNews #DailyNews #NewsHighlights #NepalUpdate #CurrentAffairs #NewsSummary #NationalNews #TodayNews #NewsNepal #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



