काठमाडौ – मधेसी जनअधिकार फोरम नेपालले बाबुराम भट्टराई नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । फोरमले आइतबार पत्रकार सम्मेलन गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको हो ।
फोरमले वर्तमान सरकार इतिहाँसमै सबैभन्दा बढी भ्रष्ट भएको आरोप लगाएको छ । दुई महिना भित्र शान्ति प्रक्रिया पूरा नगरेको, १० हजार मधेशी युवालाई नेपाली सेनामा भर्ति गर्ने सहमति कार्यान्वयन नगरेकोले समर्थन फिर्ता लिएको फोरम नेपालले जनाएको छ ।
पत्रकार सम्मेलनमा फोरम अध्यक्ष उपेन्द्र यादवले सरकारलाई समर्थन कायम राख्नुको औचित्य नरहेकोले अब शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । उनले वर्तमान सरकारबाट शान्ति र संविधानको कार्यभार पूरा नहुने भन्दै आफूहरुको समर्थन फिर्ताको निर्णयले नयाँ सरकार निर्माणको लागि सहयोगी हुने उल्लेख गरे ।
उनले राज्यपुर्नसंरचना समितिले प्रतिवेदन बुझाईसकेको अवस्थामा आयोग गठन गरेर संघीयता विरुद्ध षडयन्त्र थालिएको दावी गर्दै संघीयता विनाको संविधान आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने चेतावनी दिए । उनले सहमति कार्यान्वयन गराउन नसक्ने मधेशी मोर्चाले पनि सरकारमा बस्ने नैतिक हैसियत गुमाएको बताए ।फोरम नेपालले सरकारलाई बाहिरैबाट समर्थन दिंदै आएको थियो । फोरमले समर्थन फिर्ता लिएपनि सरकारको संसदमा बहुमत कायम छ ।



