

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै नीतिगत व्यवस्थामा आवश्यक परिमार्जन र निरन्तरताका उपायहरू अघि सारेको छ । समीक्षाअनुसार ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात तथा वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थाहरू यथावत् कायम राखिएको छ । कृषि, ऊर्जा र लघु, घरेलु तथा साना उद्यम–व्यवसायमा कर्जा विस्तार प्रोत्साहन गर्न लागू गरिएको क्षेत्रगत कर्जा सीमाको दायरामा अब पर्यटन, सूचना प्रविधि तथा स्वदेशी कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योगहरूलाई समेत समावेश गरिने भएको छ । साथै, बैंक तथा वित्तीय संस्थाले ती प्रत्येक क्षेत्रमा अनिवार्य रूपमा कायम गर्नुपर्ने न्यूनतम कर्जा अनुपातसम्बन्धी व्यवस्था परिमार्जन गरिने राष्ट्र बैंकले जनाएको छ ।

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जन गर्दै ऋणीको नगद प्रवाह र वित्तीय विवरणको विश्लेषणका आधारमा स्थायी चालु पुँजी कर्जाको अवधि निर्धारण गर्न सकिने व्यवस्था मिलाइने राष्ट्र बैंकले उल्लेख गरेको छ । त्यसैगरी, वर्षमा लगातार कम्तीमा ७ दिन चालु पुँजी कर्जाको बक्यौता १० प्रतिशतभन्दा कम गर्नुपर्ने व्यवस्था संशोधन गरी अब ३० प्रतिशतभन्दा कम गर्नुपर्ने प्रावधान लागू गरिने बैंकले जनाएको छ । त्यसैगरी महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित उद्यम-व्यवसायलाई राहत दिने उद्देश्यले त्यस्ता क्षेत्रमा प्रवाहित कर्जामा न्यूनतम १० प्रतिशत ब्याज असुल गरी २०८३ असार मसान्तसम्म पुनरसंरचना वा पुनरतालिकीकरण गर्न सकिने व्यवस्था गरिने मौद्रिक नीतिको समिक्षामा उल्लेख छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले गर्ने ननडेलिभरेबल फरवार्ड कारोबारमा कायम प्राथमिक पुँजीको २५ प्रतिशत सीमा बढाएर ३० प्रतिशत पुर्याइने भएको छ । अर्कोतर्फ डाटा केन्द्र, क्लाउड कम्प्युटिङ, रोबोटिक प्रयोगशाला तथा कृत्रिम बौद्धिकता लगायतका पूर्वाधार निर्माणमा हुने वैदेशिक लगानीलाई सहजीकरण गरिनेछ। यस्ता परियोजनामा बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरण कर्जा प्रवाहलाई समेत प्रोत्साहन गरिने राष्ट्र बैंकले जनाएको छ । विद्युतीय भुक्तानी कारोबारलाई थप प्रोत्साहन गर्न चेकमार्फत हुने कारोबार क्रमशः घटाउँदै लैजाने रणनीति अवलम्बन गरिने भएको छ । परिस्थितिजन्य कारणले तत्काल ऋण चुक्ता गर्न नसक्ने ऋणीलाई कालोसूचीमा समावेश नगर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ। साथै, कालोसूचीमा परेका ऋणीले कर्जा चुक्ता गर्ने उचित कारण पेश गरेमा बैंक तथा वित्तीय संस्थाले ६ महिनासम्म कालोसूचीबाट हटाई बक्यौता असुल गर्न पाउने व्यवस्थालाई कडाइका साथ लागू गरिने मौद्रिक नीतिको समीक्षामा उल्लेख छ । यसैगरी, नेपाल सरकारबाट स्वीकृत दोस्रो वित्तीय क्षेत्र विकास रणनीति (२०८२–८३ देखि २०८६–८७) अन्तर्गत राष्ट्र बैंकसँग सम्बन्धित कार्यक्रमहरू चरणबद्ध रूपमा कार्यान्वयन गरिने जनाइएको छ ।

२- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षाअनुसार चालु आर्थिक वर्षमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५ प्रतिशतको हाराहारीमा सीमित गर्ने लक्ष्य राखिएकोमा पहिलो छ महिनामा औसत १.७० प्रतिशत मात्र कायम भएको छ । विदेशी विनिमय सञ्चिति कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने लक्ष्य राखिएकोमा २०८२ पुस मसान्तसम्मको सञ्चिति १८.१ महिनाको आयात धान्न सक्ने अवस्थामा पुगेको बैंकले जनाएको छ । मुद्रास्फीति र विदेशी विनिमयको अवस्था सहज रहेकाले नीतिगत दर घटाएर ४.२५ प्रतिशत तथा बैंकदर ५.७५ प्रतिशत कायम गरिएको छ भने स्थायी निक्षेप सुविधा दर यथावत् राखिएको छ । बैंकिङ प्रणालीमा रहेको संरचनागत तरलता व्यवस्थापनका लागि २०८२ पुसमा एक वर्षे अवधिको दुई खर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरिएको छ। चालु वर्षमा विस्तृत मुद्राप्रदाय १३ प्रतिशत र निजी क्षेत्रतर्फ कर्जा प्रवाह १२ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएकोमा पहिलो छ महिनामा क्रमशः ५.४ र ३.८ प्रतिशत वृद्धि भएको छ । वित्तीय स्थायित्व सुदृढ गर्न व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा बढाएर एक करोड रुपैयाँ तथा लघुवित्त संस्थाले धितोमा प्रवाह गर्ने कर्जाको सीमा १५ लाख रुपैयाँ पुर्याइएको छ। ट्रष्ट रिसिट आयात कर्जाको जोखिम भार घटाइएको र कर्जा वर्गीकरण व्यवस्था थप सहजीकरण गरिएको बैंकले जनाएको छ। विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापनसम्बन्धी विनियमावली संशोधन गरी सूचना प्रविधि उद्योगलाई २० हजार अमेरिकी डलर वा सो बराबर रकम विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिएको छ। साथै विदेशी ऋण भित्र्याउने तथा लगानीबाट आर्जित रकम फिर्ता लैजाने प्रक्रिया पनि सहज बनाइएको छ । नगद कारोबार नियन्त्रणका लागि पाँच लाख रुपैयाँ वा सोभन्दा बढीको भुक्तानी अनिवार्य रूपमा खातामार्फत वा खातावाला चेकबाट मात्रै गर्नुपर्ने व्यवस्था लागू गरिएको छ ।
३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी सरुवा सहमतिका नाममा घुस लिएको आरोपमा एक अधिकृत र एक बिचौलियालाई नियन्त्रणमा लिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत छैटौं अमृत भेटुवालले सेवाग्राहीसँग घुस मागिरहेको भन्ने उजुरीका आधारमा आयोगको टोली खटिएको थियो। अनुसन्धानका क्रममा बिचौलिया लेखापढी व्यवसायी खगेन्द्र पौडेलले सेवाग्राहीबाट ११ हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा फेला पारेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको हो । आयोगका अनुसार उनीहरूलाई तीन थान मोबाइल सेटसहित मंगलबार कार्यालय परिसरबाट पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
४- प्रधानमन्त्री सुशिला कार्कीले ललितपुरमा आयोजित एक समारोहबीच समाज कल्याण परिषद्को डिजिटल सेवा प्रवाह प्रणाली शुभारम्भ गरेकी छन् । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले प्रविधिमैत्री प्रणालीले सेवाग्राहीलाई छिटो, छरितो र पारदर्शी सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेकी थिइन् । प्रधानमन्त्री कार्कीले सामाजिक सेवा विकास सहायताको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै समाजका सबै वर्गलाई विकासको मूलधारमा समेट्नु राज्य र नागरिक संस्थाको साझा दायित्व भएको बताइन् । उनले गैरसरकारी संघ–संस्थाले स्वास्थ्य, शिक्षा, सशक्तीकरण, गरिबी निवारण र विपद् व्यवस्थापनलगायत क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय रहेको धारणा राखिन् । नयाँ प्रणालीमार्फत गैरसरकारी संस्थाको कार्यसम्पादन र विकास सहायतासम्बन्धी एकीकृत तथ्यांक तयार हुने तथा अनुगमन प्रक्रिया थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरिएको छ । परिषद्लाई नियमन, सहजीकरण र मूल्यांकन कार्यमा थप सक्षम बनाउन आवश्यक पूर्वाधार र स्रोतसाधन उपलब्ध गराउनुपर्नेमा पनि जोड दिइएको छ ।

५- इरानमा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । मंगलबार इरानको इस्फहान प्रान्तको फलफूल र तरकारी बजारमा सैनिक हेलिकप्टर दुर्घटना हुदा पाइलट र सह-पाइलटसहित चार जनाको मृत्यु भएको छ । इरानी सरकारी टिभीका अनुसार, सैन्य हेलिकप्टर प्रशिक्षण अभियानमा थियो। दुर्घटनापछि बजार क्षेत्रबाट धुवाँ उडेको थियो र घटनास्थल वरिपरि भग्नावशेष छरिएको थियो । फार्स समाचार एजेन्सीका अनुसार, बजारमा उपस्थित दुई नागरिकको पनि मृत्यु भएको छ । यो एक हप्ता भित्र इरानमा दोस्रो सैन्य विमान दुर्घटना हो । यसअघि, पश्चिमी शहर हमेदान नजिकै एफ-४ लडाकु विमान दुर्घटनाग्रस्त भएको थियो, जसमा एक पाइलटको मृत्यु भएको थियो । इरानको सैन्य र व्यावसायिक उड्डयन फ्लीट धेरै पुरानो छ । पश्चिमी प्रतिबन्धहरूले स्पेयर पार्ट्सको आपूर्तिलाई रोकेको छ, जसले गर्दा मर्मतसम्भार र सञ्चालन प्रभावित भएको छ ।
६- सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश गरेको हो । प्रसाईको रिहाईका लागि गैरकानुनी रुपमा थुनामा राखिएको दाबीसहित उमा प्रसाईंले गतसाता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । प्रसाई फागुन ४ गते भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको थियो । यसअघि उनी माघ २३ गते काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका उनी हाजिरी जमानीमा छुटेका थिए ।
७- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नियुक्त पाँच देशका नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहित बग्गीमा सवारी गराइएको थियो । ओहोदाको प्रमाणपत्र पेश गर्ने राजदूतहरूमा अष्ट्रेलियाका साइमन जर्ज अर्न्स्ट (आवासीय), साउदी अरबका फहद मोहम्मद अज्मी मनिख्र (आवासीय), जनवादी गणतन्त्र चीनका झाङ माओमिङ (आवासीय), माल्दिभ्सकी आइशथ अजिमा (गैरआवासीय) तथा तुर्किये गणतन्त्रका अली मुरात एर्सोय (गैरआवासीय) रहेका छन् ।

८- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै अब आर्थिक सहयोग रोक्न आग्रह गरेकी छन् । पछिल्लो २४ घण्टामा उपचारका लागि उल्लेखनीय साथ, विश्वास र सहयोग प्राप्त भएको उल्लेख गर्दै उनले नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी तथा विदेशी माध्यममार्फत करिब ४५ लाख रुपैयाँ संकलन भएको जानकारी दिएकी हुन् । साम्बाले भनेकी छन्- ‘आज ‘धन्यवाद’ शब्द निकै सानो लागेको छ । पछिल्लो २४ घण्टामा मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दिन । आर्थिक रुपमा त यहाँहरुले मेरो उपचारका लागि लाग्ने खर्च जुटाइदिनु भयो नै, मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ । यहि उर्जाले म आफ्नो शल्यक्रिया र पुनर्स्थापनामा शत प्रतिशत मिहिनेत गर्नेछु ।’ साम्बाले विभिन्न संघ-संस्था र व्यक्तित्वले नगद तथा अन्य सुविधा सहयोगको प्रतिबद्धता जनाएकाले उपचार, आवास र यातायात खर्च पुग्ने देखिएको उनले बताइन् । कतारमा उपचारको तयारी भइरहेका बेला आफू आबद्ध क्लब वेलिङ्टन फिनिक्सले पनि बीमा रकम निकासा गरी थप सहयोग गरिरहेको उनले उल्लेख गरेकी छन् । चाँडै शल्यक्रियाको मिति तय हुने विश्वास व्यक्त गर्दै उनले पूर्ण मेहनतसाथ पुनर्स्थापनामा लाग्ने प्रतिबद्धता जनाइन् । चोटका कारण शारीरिक र मानसिक रूपमा कठिन समय गुजारे पनि समर्थकको मायाले पुनः उठ्ने साहस दिएको भन्दै साम्बाले अझ सशक्त रूपमा मैदानमा फर्कने अठोट दोहोर्याएकी छन् ।
९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश उपसभापतिबाट राजीनामा दिएका दिनेश हुमागाईं काँग्रेस प्रवेश गरेका छन् । हुमागाईंलाई काँग्रेस सभापति गगन थापाले पार्टी प्रवेश गराएका छन् । सभापति थापाले सर्लाहीमा चुनाव प्रचारकै क्रममा उनलाई पार्टी प्रवेश गराएका हुन् । हुमागाईंले केहि दिनअघि रास्वपाको प्रदेश उपसभापति पदसहित साधारण सदस्यता समेत त्यागेको घोषणा गरेका थिए । हुमागाईं २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे- २ बाट उम्मेदवार बनेका थिए । उनले रास्वपा भित्र संरचनागत विकृति मौलाउँदै गएको, आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको तथा आर्थिक अपारदर्शिता बढेको आरोप लगाएका थिए ।
१०- सरकारले निर्वाचन केन्द्रित तीन दिन सार्बजनिक बिदा दिएको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । त्यस्तै सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ । बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको उनले बताए । त्यस्तै बैठकले चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बुढीगण्डकी जलाशय युक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरेको छ भने काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश डा दिवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने निर्णय गरेको प्रवक्ता अर्यालले बताए । मन्त्रिपरिषदले बिमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने र २०८३ वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म एक वर्षभरी दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय समेत गरेको छ ।
११- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यस पटक देशले इतिहास लेख्न लागेको भन्दै सबैलाई निर्वाचनमा भाग लिन आग्रह गरेका छन् । कोशी प्रदेशको इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछाने देशले यस पटक इतिहास लेख्न लागेको भन्दै सबैले निर्वाचनमा भाग लिन आग्रह गरेका हुन् । लामिछानेले चुनाव सार्नुपर्छ भन्नेहरुलाई चार दिन अगाडी सार्न प्रस्ताव गर्दै लोकतन्त्रको चिन्ता नगर्न र यसलाई जनताले बचाउने स्पष्ट गरेका छन् । लामिछानेले आफुहरुले विधिको शासन चाहेको भन्दै सबैको रक्षा कुनै दलले होइन देशको कानुनले गर्ने बताए । लामिछानेले निर्माण व्यवसायीले निकालेको विज्ञप्तिको जवाफ दिदै रुखमा बाध्ने भनेको कानुनले बाध्ने भनेको भन्दै आफ्नो काममा ध्यान दिन आग्रह गरे । उनले २०४६ पछिका सबै काण्डको छानबिन हुने बताउदै प्रतिशोध होइन छानबिन हुने बताएका छन् । लामिछानेले रास्वपा सरकार बनेको सय दिनमा सहकारी ठगिको पैसा फिर्ता गर्ने बताएका छन् ।
१२- नेप्से २१.६२ अंकले बढेको छ । मंगलबार नेप्से २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा पुगेर रोकिएको छ । आज ३२८ कम्पनिका ९३ लाख ६४ हजार ९३८ कित्ता शेयर ४ अर्ब २३ करोड २४ लाख ७ हजार ६१३ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.३१ प्रतिशतले बढेको छ । त्यसैगरी आज एसबीआई बैंकको सेयर ३.५८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ३७ करोड ७२ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको २४ करोड ६९ लाख बराबरको कारोबार भएको छ ।

१३- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न स्थानमा देखिएका गतिविधिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ । आयोगले निर्वाचनपूर्व अनुगमन कार्यलाई तीव्र बनाउँदै शान्तिसुरक्षा र निष्पक्ष निर्वाचन वातावरण सुनिश्चित गर्न सबै पक्षलाई सचेत रहन आग्रह गरेको छ । दाङ, रौतहट, पर्सा लगायतका जिल्लामा दल र समूहबीच विवाद बढ्दै निषेधाज्ञासम्म जारी गर्नुपरेका घटनाले निर्वाचन र शान्तिसुरक्षामा चुनौती थपिएको आयोगको भनाइ छ । दलका नेता तथा कार्यकर्ताबाट हुने अमर्यादित र घृणायुक्त अभिव्यक्तिले वातावरण झनै बिग्रन सक्ने चेतावनी दिइएको छ । आयोगले निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा प्रत्यक्ष वा परोक्ष रूपमा बालबालिकाको प्रयोग भएकोप्रति पनि चिन्ता व्यक्त गरेको छ । सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत बालबालिकालाई संलग्न गराइएको विषय अनुगमनका क्रममा देखिएको जनाएको छ । निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानवअधिकारमैत्री ढङ्गले सम्पन्न गर्न सबै दल, उम्मेदवार, नागरिक समाज, विद्यालय, अभिभावक तथा सरोकारवालाले संयमता अपनाउन, घृणायुक्त अभिव्यक्ति नदिन र बालबालिकाको प्रयोग नगर्न आयोगले आग्रह गरेको छ ।
१४- नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा सिरिज २०२६ अन्तर्गत थाइल्यान्डमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । ‘फिफा सिरिज’ कार्यक्रम अन्तर्गत नेपालले कंगो, थाइल्यान्ड र ओएफसी क्षेत्रको एक टोलीसँग खेल्ने भएको एन्फाले जानकारी दिएको छ । यस प्रतियोगिताका खेल थाइल्यान्डको राचाबुरीस्थित राचाबुरी रंगशालामा आयोजना हुनेछन् । प्रतियोगिताअन्तर्गत अप्रिल १२ मा पहिलो खेलमा नेपालले कंगोसँग प्रतिस्पर्धा गर्नेछ। सोही दिन दोस्रो खेलमा थाइल्यान्डले ओएफसी टोलीसँग खेल्नेछ । त्यसपछि अप्रिल १५ मा पहिलो खेलका विजेता र दोस्रो खेलका विजेताबीच फाइनल खेल हुनेछ भने पराजित टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
१५- अमेरिकाको भर्जिनियामा एक नेपाली मूलका पुरुषले आफ्नै परिवारमाथि घातक आक्रमण गरेका छन् । भर्जिनियाको फेयरफ्याक्स काउन्टीको पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा सोमबार बिहान उदयपुरको बेलका नगरपालिका घर भएका ५० वर्षीय छत्रबहादुर थापा (मिलन) ले करिब १० इन्च लामो धारिलो हतियार प्रयोग गरी ५१ वर्षीया पत्नी बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेक छन् । घटनामा ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार बस्नेत पनि गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार स्थानीय समय अनुसार बिहान करिब ५:१५ बजे घरेलु हिंसासम्बन्धी सूचना पाएपछि टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा थापा बस्नेतमाथि आक्रमण गरिरहेकै अवस्थामा थिए । हतियार छाड्न दिएको निर्देशन नमानेपछि प्रहरीले गोली चलाउदा थापाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । घटनाका बेला घरभित्र रहेका एक वर्षका शिशु भने सकुशल फेला परेका छन् । प्रारम्भिक अनुसन्धानमा परिवारसँग सम्बन्धित कुनै अघिल्लो आपराधिक अभिलेख नदेखिएको बताइएको छ । घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
१६- नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको १३ सयले बढेर तोलाको ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख १३ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ५५८५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५५९५ मा कारोबार भएको थियो ।
१७- प्रधानमन्त्री सुशीला कार्कीले मानवअधिकार संरक्षण र प्रवर्द्धनप्रति नेपालको प्रतिबद्धता दोहोर्याएकी छन् । जेनेभामा आयोजित मानवअधिकार परिषद्को ६१औँ नियमित सत्रको उच्चस्तरीय बैठकलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अहिले जलवायु परिवर्तन, द्वन्द्व र प्राकृतिक विपद्जस्ता बहुआयामिक संकटको सामना गरिरहेको उल्लेख गर्दै यस्ता चुनौतीबीच पनि मानवअधिकारको सार्वभौमिकता कायम राख्नुपर्नेमा जोड दिइन् । उनले बहुपक्षीय प्रणाली स्वयं परीक्षामा परेको वर्तमान सन्दर्भमा साझा प्रयास आवश्यक रहेको बताइन् । नेपालको संविधानले समानता, सामाजिक न्याय र मौलिक हकलाई सुनिश्चित गरेको उल्लेख गर्दै उनले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, दलित, सीमान्तकृत समुदाय तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यकका अधिकार संरक्षणमा नेपाल प्रतिबद्ध रहेको स्पष्ट पारिन् । शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा र स्वच्छ वातावरणजस्ता अधिकारलाई व्यवहारमा उतार्न विभिन्न कानुन तथा नीतिहरू कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिइन् । प्रधानमन्त्री कार्कीले शान्ति प्रक्रियामार्फत दशक लामो सशस्त्र द्वन्द्व अन्त्य गरिएको स्मरण गर्दै संक्रमणकालीन न्याय प्रक्रियालाई विश्वसनीय, समावेशी र पीडितकेन्द्रित रूपमा टुंग्याउने प्रतिवद्धता व्यक्त गरिन्। साथै, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा नेपाल अग्रणी सैनिक योगदानकर्ता मुलुक रहेको उल्लेख गर्दै नेपाली शान्ति सैनिकहरूले विश्व शान्ति र मानवअधिकार संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कडाइ सरकारको प्राथमिकता रहेको जनाउँदै आगामी ५ मार्च २०२६ मा प्रतिनिधिसभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइन् । त्यस्तै प्रधानमन्त्री कार्कीले मानवअधिकार विश्वव्यापी साझा सम्पत्ति भएकाले यसको संरक्षण र प्रवर्द्धनका लागि नेपाल अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न तयार रहेको बताइन् ।

१८- आज बिहान ७ बजेर १३ मिनेटको शुभसाइत हनुमानढोकामा चीर ठड्याई फागुको सुरुवात गरिएको छ । हरेक वर्ष हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ बसन्तपुरमा तीनतले चीर ठड्याएसँगै होली पर्व सुरु हुने गर्दछ । फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ । परम्परा अनुसार रंगी चंगी कपडाका टुक्राहरु झुण्ड्याइएको तीन तले चीर ठड्याएपछि हर्ष र बधाईका साथ अबीर छर्की चीरलाई पूजा गरी होली खेल्न प्रारम्भ गरिन्छ । तीन तले छत्र र त्यसमा रंगीचंगी कपडाका टुक्राहरु झुण्डिएका करिब ३० फीट अग्लो चीरलाई ठड्याइएको छ । वसन्त उत्सवका रुपमा समेत मानाइने रंगहरुको पर्व होलीको पौराणीक तथा सांस्कृतिक महत्व रहेको छ । यसै शुभसाइतमा हनुमानढोका परिसर, हनुमानढोका भित्र डाखचोक र मोहनकाली चोकमा पनि मयलरुखको हाँगामा रंगी चंगी कपडाका टुक्राहरु झुण्ड्याईएको चीर गाडिएको छ । बसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रुपमा लिइन्छ । आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र बसन्त राग गाउँदै नाच्दै अविर लगाएर शुभकामना आदानप्रदान गरिन्छ । धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखी आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त मार्ने प्रयास गर्ने होलिका नै भष्म भइन् । आगोले प्रह्लादलाई छोएन । यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुंडिखेलमा र्पुयाई दाह गरेपछि होली पर्व समाप्त हुन्छ । यसको भोलिपल्टबाटै बसन्त ऋतु प्रारम्भ हुन्छ । आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र बसन्त राग गाउँदै नाच्दै अविर लगाएर शुभकामना आदानप्रदान गरिन्छ । यसैगरी भक्तपुरमा दत्तात्रय मन्दिर संगै रहेको भैरब मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरूवात गरिएको छ । फागुन शुक्ल अष्टमीको दिन भिमसेन मन्दिरमा राखिएको लिङ्ग लाई टोलटोलमा घुमाएर पुन मन्दिरको पाटीमा राखिन्छ । नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू भनिन्छ । होली पर्व दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहे पनि भक्तपुरमा भिमसेनसँग सम्बन्धित रहने गरेको छ । होली पर्व सुरू भएपछि फागुन नवमीको दिनमा भिमसेनको लिङ्गलाई दुई जनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, ब्रम्हायणी, च्यामासिंह हुँदै, दत्तात्रय मन्दिर वरिपरी रहेको घर, पसलपिच्छे लिङ्ग दर्शनका लागि लगिने परम्परा रहेको छ । यो वर्ष होली पहाडी जिल्लामा फागुन १८ गते र तराईका जिल्लामा चैत १९ गते मनाइँदै छ। उक्त दिन सरकारले सार्वजनिक बिदा दिएको छ।
१९- मेक्सिकोका कुख्यात लागूऔषध गिरोह प्रमुख एल मेन्चोको मृत्यु भएपछि देशभर हिंसात्मक प्रदर्शन चर्किएको छ । उनका समर्थकहरूले करिब २० राज्यमा सडक अवरोध, सवारीसाधन तथा २० भन्दा बढी सरकारी बैंक शाखामा आगजनी गरेका छन् । जालिस्को राज्यमा कर्फ्युजस्तै अवस्था सिर्जना भएको छ । विभिन्न स्थानमा भएको झडपमा कम्तीमा ३२ जनाको मृत्यु भएको जनाइएको छ, जसमा २५ सैनिक रहेका छन् । आइतबार सेनाले विशेष कारबाही गर्दै एल मेन्चोलाई मारिएको घोषणा गरेको थियो । कारबाहीका क्रममा उनी घाइते भएका थिए र उपचारका लागि मेक्सिको सिटी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ । उक्त कारबाहीमा अन्य आठ अपराधी पनि मारिएका थिए । रक्षा मन्त्री रिकार्डो ट्रेविलाका अनुसार मेन्चोको अवस्थिति उनकी प्रेमिकामार्फत पत्ता लागेको थियो । लामो समयदेखि निगरानीमा राखिएको सूचनाका आधारमा सुरक्षा बलले जालिस्को नजिकको एक सुरक्षित परिसर घेराबन्दी गरी कारबाही थालेको थियो । झडपका क्रममा दुवै पक्षबीच भीषण गोली हानाहान भएको थियो । एल मेन्चो जालिस्को न्यू जेनेरेशन कार्टेल नामक शक्तिशाली गिरोहका प्रमुख थिए । उक्त गिरोह मेक्सिकोमा लागूऔषध उत्पादन र तस्करी, जबर्जस्ती असुली तथा हिंसात्मक गतिविधिका लागि कुख्यात मानिन्छ । अमेरिकी सरकारले उनको गिरफ्तारीका लागि डेढ करोड डलर रकम इनाम घोषणा गरेको थियो ।
२०- यौन अपराधी जेफ्री एपस्टाइनसँग सम्बन्धित प्रकरणमा बेलायत प्रहरीले दोस्रो ठूलो कारबाही गरेको छ । अमेरिकास्थित बेलायतका पूर्व राजदूत पिटर म्यान्डेलसनलाई सार्वजनिक पदको दुरुपयोगको आशंकामा पक्राउ गरिएको हो । लन्डन महानगरीय प्रहरीले उत्तर लन्डनको एक ठेगानाबाट ७२ वर्षीय व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी वक्तव्यमा नाम उल्लेख नगरिए पनि पक्राउ परेका व्यक्ति म्यान्डेलसन नै भएको पुष्टि भएको छ । उनीमाथि यौन दुर्व्यवहारको आरोप भने छैन । रिपोर्टअनुसार अमेरिकी न्याय विभागले सार्वजनिक गरेका थप कागजातपछि अनुसन्धान अघि बढाइएको हो । ती विवरणमा सन् २००९ को विश्व आर्थिक संकटका बेला व्यापार मन्त्री रहेका म्यान्डेलसनले एपस्टीनसँग बजारसम्बन्धी संवेदनशील सरकारी सूचना साझा गरेको संकेत भेटिएको दाबी गरिएको छ । त्यसबेला बेलायतका प्रधानमन्त्री गोर्डन ब्राउन थिए । म्यान्डेलसन यसअघि युरोपेली आयोगका आयुक्तसमेत भइसकेका थिए र पछि अमेरिका लागि बेलायतका राजदूत नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री किर स्टार्मरले उनलाई सन् २०२४ को डिसेम्बरमा राजदूत नियुक्त गरेका थिए भने सन् २०२५ को सेप्टेम्बरमा पदबाट हटाएका थिए । यसअघि यही प्रकरणमा बेलायती शाही परिवारसँग सम्बन्धित एन्ड्रु माउन्टब्याटेन- विन्डसरलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिएर ११ घण्टापछि रिहा गरिएको थियो । प्रहरीले करिब १५ वर्षअघिको सम्भावित सूचना चुहावटबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।
#मुख्यसमाचार #Top20News #NewsBulletin #NepalNews #समसामयिकसमाचार #राष्ट्रियसमाचार #अन्तर्राष्ट्रियसमाचार #राजनीति #अर्थतन्त्र #समाज #SportsNews #EntertainmentNews #BreakingNews #DailyUpdate #NepalUpdate #PoliticalUpdate #EconomicUpdate #SocialUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



