एपस्टाइनसँग सम्बन्ध राख्नु गल्ति भएको बिल गेट्सको स्वीकारोक्ति

 

काठमाडौँ । विश्वप्रसिद्ध उद्योगपति तथा परोपकारी बिल गेट्सले यौन अपराध अभियोगमा दोषी ठहरिएका जेफ्री एपस्टाइनसँगको आफ्नो सम्बन्धलाई ‘ठूलो गल्ती’ भएको स्वीकार गरेका छन् ।

गेट्स फाउन्डेशनमा आयोजित एक आन्तरिक बैठकमा कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले एपस्टाइनसँग भेटघाट गर्नु गलत निर्णय भएको बताएका हुन् ।

गेट्सले कर्मचारीहरूलाई एपस्टाइनसँग समय बिताउनु र फाउन्डेशनका अधिकारीहरूलाई समेत ती भेटमा सहभागी गराउनु अनुचित भएको स्वीकार गरेका थिए । उनले भनेका छन्- ‘मेरो निर्णयका कारण यस विषयमा तानिएका सबैसँग म माफी चाहन्छु ।’

अमेरिकी न्याय विभागले सार्वजनिक गरेको कागजातअनुसार एपस्टाइनले सजाय भोगिसकेपछि पनि गेट्स र एपस्टीनबीच पटक-पटक भेटघाट भएको उल्लेख छ। ती भेटमा गेट्सका परोपकारी पहल विस्तार गर्ने विषयमा छलफल भएको बताइएको छ ।

रिपोर्टमा गेट्सले दुई रुसी महिलासँग आफ्नो व्यक्तिगत सम्बन्ध रहेको स्वीकार गरेको पनि उल्लेख छ, जसबारे एपस्टाइनलाई जानकारी भएको बताइएको छ । तर उनले ती सम्बन्ध एपस्टाइनका पीडितहरूसँग सम्बन्धित नभएको स्पष्ट पारेका छन् । गेट्सले कर्मचारीहरूलाई आफूले कुनै अवैध कार्य नगरेको र त्यस्तो कुनै गतिविधि नदेखेको दाबी गरेका छन् ।

न्याय विभागका कागजातमा केही तस्बिरहरू पनि समावेश छन्, जसमा गेट्स महिलाहरूसँग देखिएका छन् । ती तस्बिर एपस्टाइनको आग्रहमा बैठकपछि खिचिएको गेट्सले बताएका छन् । उनले आफूले कहिल्यै पनि एपस्टाइनका पीडितहरूसँग समय नबिताएको दाबी गरेका छन् ।

बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनका प्रवक्ताले उक्त बैठक पूर्वनिर्धारित रहेको र गेट्सले विभिन्न विषयमा उठेका प्रश्नहरूको जवाफ दिएको बताएका छन् । फाउन्डेशनले यस विषयमा यही नै आधिकारिक धारणा भएको जनाउँदै थप टिप्पणी नगर्ने स्पष्ट पारेको छ । यसअघि पनि फाउन्डेशनले एपस्टाइनलाई कुनै आर्थिक सहयोग नगरेको र कुनै पदमा नियुक्ति नदिएको स्पष्ट पारेको थियो ।

गेट्स फाउन्डेशन सन् २००० मा स्थापना भएको विश्वकै ठूलो परोपकारी संस्थामध्ये एक हो । सन् २०२४ मा मेलिन्डा गेट्सले सहअध्यक्ष पदबाट राजीनामा दिएपछि संस्थाको नेतृत्व गेट्सले सम्हाल्दै आएका छन् । गेट्सले सन् २०४५ को डिसेम्बर ३१ मा संस्था स्थायी रूपमा बन्द गर्ने घोषणा गरिसकेका छन् । उनले सन् २०२६ का लागि करिब ९ अर्ब डलर र आगामी २० वर्षका लागि २०० अर्ब डलर बराबरको परोपकारी बजेट तय गरेको बताएका छन् । साथै आगामी दिनमा कर्मचारी संख्या घटाउँदै क्षतिपूर्ति उपलब्ध गराउने योजना पनि सार्वजनिक गरेका छन्।

#BillGates #EpsteinCase #InternationalNews #GlobalUpdate #Confession #WorldNews #TechWorld #समसामयिकसमाचार #मुख्यसमाचार #अन्तर्राष्ट्रियसमाचार #NepalNews #WorldUpdate #NepalUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages