काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महिला, बालबालिका तथा समाजकल्याण मन्त्री दानबहादुर चौधरी (कुर्मी)ले लिएको दोहोरो सुविधा फिर्ता गर्न पत्राचार गरेको छ ।
अख्तियारले मन्त्री चौधरीले मन्त्रालय मातहतको समाजकल्याण परिषद्बाट लिएको सुविधा फिर्ता गर्न मन्त्रालयका सचिवलाई पत्राचार गरेको छ । अख्तियारका अनुसार मन्त्री चौधरीले परिषद्बाट बा २ च ७०९ नम्बरको गाडी, २ सय ८५ लिटर डिजेल, ३५ लिटर पेट्रोल र ९ सय रुपैयाँका साथै जिल्ला भ्रमणमा जाँदा मन्त्री चौधरीले १ सय १२ लिटर डिजेल लिएका छन् ।
‘माननीय मन्त्रीजस्तो पदमा रहेको व्यक्तिबाट दोहोरो सुविधा लिएको देखिंदा समाज कल्याण परिषद्को अध्यक्षको हैसियतबाट निजले पाउने सुविधा बाहेक अन्य कुनै सुविधा उपलब्ध नगराउन र लिएको सवै सुविधाहरु तत्काल फिर्ता गर्न महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिवलाई लेखी पठाउने,’ अख्तियार प्रवक्ता ईश्वरीप्रसाद पौड्यालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्री परिषद्का पदेन अध्यक्ष हुन्छन् ।



