

काठमाडौँ । रङहरूको पर्व होली मंगलवार तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।

आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदैछ ।

मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई विशेष महत्वका साथ मनाउने गरिएको छ । सबै प्रकारका भेद्भावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ ।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको हो । रसरङ्ग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङ्गमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु , मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा रहेको छ ।


#होली #HoliFestival #तराई_होली #रङ्ग_पर्व #सद्भाव_र_एकता #रंगीन_होली #फागुपूर्णिमा #NepalCulture #Holi2026 #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



