काठमाडौं – विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ समय बढाएर दिनको १४ घण्टासम्म गर्ने भएको छ। जाडो समयसँग बिजुलीको माग ह्वात्तै बढेको र उत्पादन भने घटेकोले लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले जनाएको छ।
हप्ताको तीन दिन १० घण्टा, दुई दिन १२ घण्टा र बाँकी दुई दिन १४ घण्टा लोडसेडिङ हुने तालिका प्राधिकरणले सार्वजनिक गरेको छ।
‘सोमबारदेखि सातामा ८२ घण्टा घण्टा लोडसेडिङ गर्दैछौं,’ प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख चिरन्जिबी शर्माले भने। बढी बिजुली चुहावट हुने स्थानहरुमा थप तीन घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार आइतबार, सोमबार र मंगलबार दैनिक १० घण्टा लोडसेडिङ हुनेछ। बुधबार र शनिबार १२/१२ घण्टा र विहीबार, शुक्रबार भने १४/१४ घण्टा लोडसेडिङ हुने जनाइएको छ।



