हिमपातले रुकुमका डाँडा सेताम्मे देखिन्छन् भने रुकुमका पूर्वी भेगका बासिन्दालाई चिसोका कारण बाहिर निस्कनसमेत अप्ठेरो परेको बताइएको छ।
हिमपातका कारण दैनिक मजदुरी गरेर बिहान र बेलुकाको छाक टार्नसमेत धौधौ परेको मजदुर बताउँछन्। सिस्ने हिमालमा गत वर्षको तुलना यस वर्ष धेरै बढी हिउँ परेको स्थानीय बलबरी पुनले बताए।
जिल्लाका हुकाम, मैकोट, तकसेरा, राङसी, जाङ, मोराबाङ, महत, क्षेत्रमा करिब एक फिट बाक्लो हिउँ परेको मैकोटबाट कृष्णप्रसाद पुनले जानकारी दिएका छन्।
यता आफ्ना खेतबारीमा लगाएको तोरी, गहुँलगायत अन्नबाली असिनापानीका कारण नष्ट भएपछि कृषक चिन्तित भएका छन्।
स्यालाखदी-२ का कृषक लालबहादुर एरी भन्छन्- ‘अन्नबाली धेरै फल्दैन, फले पनि खानलाई बेसाउनुपर्छ, बाली भित्र्याउने बेलामा असिनापानीले सबै झारिदियो अब के खाने, यसपाला पनि जिल्लामा खाद्यान्न सङ्कट पर्ने भयो।’
त्यस्तै, बिहीबार दिउँसो ४ बजेदेखि रातभर सदरमुकाम आसपासमा परेको असिनापानीले रुकुम जिल्लाका सदरमुकाम आसपासका गाविसमा लगाइएको गहुँबालीमा व्यापक क्षति पुगेको छ।
जिल्लाको दुली, घेत्मा, सिम्ली, गरायला छिबाङ्ग, आठबीसकोटलगायतका गाविसमा लगाएको गहुँबालीमा असिनाले पानीले क्षति पुर्याएको किसानले बताएका छन्।-रासस



