महिलाको सहभागिता मात्र होइन, अब अर्थपूर्ण र गुणस्तरीय उपस्थिति आवश्यक छः प्रधानमन्त्री कार्की

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राज्यका हरेक निकायमा महिलाको सहभागिता बढाएर मात्र नपुग्ने बताउनुभएको छ ।११६औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आईतवार सिंहदरबारमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अब अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री कार्कीले हिजो चुलाचौकामा सिमित विभेदको स्वरूप आज कार्यस्थलमा सरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । पछिल्ला दशकमा राज्यका विभिन्न संरचनादेखि स्थानीय तह र संघीय संसदसम्म महिलाको प्रतिनिधित्व बढेको र शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा पहुँच विस्तार भएपनि पर्याप्त नभएको उहाँको भनाइ छ । विशेषगरी दलित, कर्णाली, मधेस तथा सीमान्तकृत समुदायका महिलाहरूको आवाज राज्यको नीति निर्माणमा अझ स्पष्ट रूपमा प्रतिविम्वित हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महिला लगायत विकासको मूल धारबाट पछि परेको वर्गलाई मूल धारमा ल्याउँदै अवसर र स्रोतहरुमा पहुँच सुनिश्चित गर्दै राष्ट्र निर्माणमा प्रत्येक नागरिकको सम्मानयुक्त सहभागिता सुनिश्चित गर्नु नै आजको लोकतन्त्रको मूल अभीष्ट हुनुपर्छ । आज हामी नारीको स्रोत, साधन र अवसरमा पहुँच अवश्य बढेको छ । तर त्यसको तुलनामा आत्मसम्मान पाउन मुस्किल परिरहेको छ । समान अवसर र पहुँचको सुनिश्चितता भन्नुको अर्थ हो, यहाँ विभेद र पक्षपात नहोस्। अन्याय र भ्रष्टाचार नहोस्। सबै नागरिकप्रति उत्तिकै जिम्मेवार र समान व्यवहार गर्ने संस्कृतिको विकास होस् भन्ने नै हो ।’

अन्तर्राष्ट्रिय महिला दिवसलाई केवल एउटा उत्सवको दिन मात्र नभई महिला अधिकार, समानता र सम्मानका लागि गरिएको ऐतिहासिक संघर्षको स्मरण गर्ने दिनको रूपमा लिनुपर्ने उहाँले बताउनु भयो । महिलाले सम्मान, सुरक्षा र समान अवसर प्राप्त गरेपछि मात्रै लोकतन्त्र सुदृढ हुने र संविधानको मर्म कार्यान्वयन हुने प्रधानमन्त्री कार्कीको दाबी छ । उहाँले समानता, सशक्तिकरण र सामाजिक न्यायको आधारमा समतामूलक समाज निर्माण गर्नु आजको ऐतिहासिक दायित्व भएको भन्दै यसका लागि राज्य, राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्र सबैले हातेमालो गर्नुपर्ने बताउनु भयो ।

#WomenEmpowerment #PMKarki #NepalPolitics #Leadership #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages