

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) सन् २०२६ को टी-२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा गरेको छ । घोषित टोलीमा भारतका चार खेलाडी समावेश भएका छन् ।
टुर्नामेन्टका उत्कृष्ट खेलाडी घोषित सञ्जु सामसनसँगै जसप्रित बुमराह, ईशान किशन र हार्दिक पाण्ड्या आईसीसीले छनोट गरेको उत्कृष्ट टोलीमा परेका भारतीय खेलाडी हुन् ।

प्रतियोगितामा सर्वाधिक ३८३ रन बनाएका पाकिस्तानका ब्याट्सम्यान साहिबजादा फरहानलाई सञ्जु सामसनको ओपनिङ जोडीदार बनाइएको छ । सामसनले पनि प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पाँच खेलमा ३२१ रन बनाएका थिए ।
दक्षिण अफ्रिकालाई सेमिफाइनलसम्म पुर्याउने कप्तान एडेन मार्करम पनि टोलीमा परेका छन् । उनले आठ खेलमा १६५ को स्ट्राइक रेटमा २८६ रन बनाएका थिए ।
त्यस्तै बलिङको नेतृत्व जसप्रित बुमराहलाई दिइएको छ । उनले प्रतियोगितामा आठ खेल खेल्दै १४ विकेट लिएका थिए र संयुक्त रूपमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका थिए । बुमराहलाई साथ दिन लुंगी एनगिडी, ब्लेसिङ मुजरबानी र जेसन होल्डर छनोट भएका छन् । एकमात्र स्पिनरका रूपमा आदिल राशिदलाई टोलीमा राखिएको छ ।

त्यसैगरी अमेरिकाका तीव्र गेंदबाज श्याड्ली भान शाल्कविकलाई १२औँ खेलाडीका रूपमा राखिएको छ । उनले प्रतियोगितामा खेलेका चार खेलमै १३ विकेट लिएका थिए ।
आईसीसीले घोषणा गरेको टुर्नामेन्टको उत्कृष्ट टोलीमा साहिबजादा फरहान, सञ्जु सामसन (विकेटकिपर), ईशान किशन, एडेन मार्करम (कप्तान), हार्दिक पाण्ड्या, विल ज्याक्स, जेसन होल्डर, जसप्रित बुमराह, लुंगी एनगिडी, आदिल राशिद र ब्लेसिङ मुजरबानी रहेका छन् । १२औँ खेलाडीका रूपमा श्याड्ली भान शाल्कविक रहेका छन् ।
#T20WorldCup #TeamOfTheTournament #CricketNews #CricketUpdate #NepalSports #CricketFans #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



