जमानत जोगाउन नसकेका ‘हेभिवेट’

 

काठमाडौँ । सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा केहि चर्चित उम्मदवारको जमानत जफत भएको छ ।

निर्वाचन आयोगको प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ ।

Nepal life insurance

रास्वपाले देशभरमा सुनामी ल्याए पनि उसकै उम्मेदवारको जुम्लामा जमानत जफत भएको छ  । जुम्लामा उम्मेदवार बनेकी पुर्व सांसद विनिता कठायतले केवल ४२१ मत प्राप्त गरेकी छन् । उनी यसअघि रास्वपाबाट समानुपातिक सांसद रहेकी थिइन् ।

त्यस्तै हुम्लाबाट रास्वपा उम्मेदवार बनेकी टासी ल्हान्जोमको पनि जमानत जफत भएको छ  । २१ हजार ९३५ मत सदर भएको हुम्लामा जमानत जोगाउन २ हजार १९४ मत आवश्यक पर्नेमा ल्हान्जोमको १ हजार ६४ मत मात्रै आएको छ ।

त्यस्तै जमानत जफत हुने उमेदवारमध्ये २०७९ को प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित निवर्तमान सांसद तथा राप्रपाका उमेदवार दीपकबहादुर सिंह पनि परेका छन् । यसपटकको निर्वाचनमा मकवानपुर-१ बाट उनले जम्मा चार हजार ५७४ मत प्राप्त गरेका छन् । २०७९ मा सत्ता गठबन्धनलाई हराउँदै मकवानपुर- १ बाट निर्वाचित भएका सांसद सिंहले यसपटक भने पाँच हजार मत समेत कटाउन सकेनन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने सिंहले २७ हजार ८१६ मत प्राप्त गर्दै विजय हाँसिल गरेका थिए ।

त्यस्तै रुपन्देही- ३ बाट उमेदवार बनेका एमालेका चर्चित नेता बासुदेव घिमिरेको जमानत जफत भएको छ । उनले ८ हजार २७५ मत मात्र पाएका थिए ।   उनले मुलुक संघीयतामा गएपछि तिलोत्तमा नगरपालिकाको नगर प्रमुख भएर देशकै नमुना पालिका बनाएका थिए । यसअघि उनी रुपन्देही- ४ बाट सांसद थिए । रुपन्देही- ३ मा रोचक के छ भने विजयी रास्वपाका डा. लेखजंग थापा बाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ ।

त्यसैगरी नेकपा एमालेबाट तनहुँ – १ मा उम्मेदवार बनेकी पूर्वमन्त्री भगवती न्यौपानेको जमानत जफत भएको छ । तनहुँ- १ मा ६५ हजार ४१९ मत सदर भएकोमा न्यौपानेले ५ हजार ८३० मत प्राप्त गरेपछि उनको जमानत जफत भएको हो ।

त्यस्तै सप्तरी- २ बाट उम्मेदवार बनेका मधेशका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहको पनि जमानत जफत भएको छ । उनले केवल ३ हजार ५५७ मत प्राप्त गरेका थिए ।

त्यसैगरी सर्लाही-२ बाट उम्मेदवार बनेका पूर्व मन्त्री राजेन्द्र महतोले पनि ५ हजार ९९२ मत मात्र ल्याए पछि जमानत जोगाउन सकेनन् ।  त्यस्तै बारा-३ बाट उम्मेवार बनेकी एमाले नेतृ ज्वालाकुमारी साहको पनि जमानत जफत भएको छ । पूर्व मन्त्रीसमेत रहेकी शाहले ५ हजार २७१ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी काठमाडौं- ५ बाट उम्मेदवार बनेका राप्रपा नेता कमल थापाको पनि जमानत जफत भएको छ । उनले केवल एक हजार ९२२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी दाङ- १ मा लुम्बिनीका पूर्व मुख्यमन्त्री कुलबहादुर केसी र पूर्व मन्त्री मेटमणि चौधरीको पनि जमानत जफत भएको छ । चौधरी नेकपाबाट उम्मेदवार रहेर ४ हजार ९६५ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार बनेका केसीले केवल एक हजार ३८४ मत मात्र प्राप्त गरेका छन् ।

#Heavyweight #NepalPolitics #ElectionUpdate #NepalNews #PoliticalAnalysis #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages