आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । 

१- सरकारले पश्चिम एसियामा रहेका नेपाली नागरिकको सुरक्षाका लागि सरकारले निरन्तर काम गरिरहेको र आवश्यक परे सुरक्षित रूपमा स्वदेश फर्काउने तयारीसमेत भइरहेको बताएको छ । परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा देखिएका पछिल्ला घटनाक्रम, त्यहाँ रहेका नेपाली नागरिकको अवस्था बारे जानकारी दिदै आवश्यक परे सुरक्षित रूपमा स्वदेश फर्काउने तयारीसमेत भइरहेको जानकारी दिएको हो ।  सो अवसरमा परराष्ट्रमन्त्री बालानन्द शर्मा र परराष्ट्र सचिव अमृतबहादुर राईले नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारले गरिरहेका प्रयासबारे जानकारी गराएका थिए । सरकारले परराष्ट्र सचिवको नेतृत्वमा आपत्कालीन प्रतिक्रिया टोली गठन गरेको, कन्सुलर सेवा विभागमार्फत डिजिटल दर्ता प्रणाली सञ्चालनमा ल्याइएको तथा मन्त्रालयको आपत्कालीन नियन्त्रण कक्षबाट २४ सै घण्टा हटलाइन सेवा सञ्चालन गरिएको सचिव राईले बताए ।

२- नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको सात महिना (माघ मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ। सार्वजनिक प्रतिवेदनअनुसार समग्र आर्थिक सूचकहरू सन्तोषजनक देखिएका छन् । आर्थिक वर्ष २०८२-८३ को सात महिनामा कुल वस्तु निर्यात ३२.२ प्रतिशतले वृद्धि भई रु. १६८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४०.३ प्रतिशत र ९.४ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५५.३ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान तथा अन्य हस्तकलालगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०८२-८३ को सात महिनामा कुल वस्तु आयात १३.६ प्रतिशतले वृद्धि भई रु.११२३ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.१ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.५ प्रतिशत, २२.३ प्रतिशत र २९.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, सुनलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, दाल, एम.एस.विलेट, एम.एस. तार, छड, बार, क्वाइललगायतका वस्तुको आयात घटेको छ । आर्थिक वर्ष २०८२-८३ को सात महिनामा कुल वस्तु व्यापार घाटा १०.९ प्रतिशतले वृद्धि भई ९५५ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात १५.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२.९ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.१०३ अर्ब ९२ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.१०३ अर्ब ९४ करोड बराबरको भएको थियो । त्यस्तै बृहत्आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ६९.७ प्रतिशत, २९.३ प्रतिशत र १.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ६१.८ प्रतिशत, ३७.४ प्रतिशत र ०.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भएको कुल आयातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ३७.० प्रतिशत, ५३.८ प्रतिशत र ९.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरू क्रमशः ३९.९ प्रतिशत, ५१.२ प्रतिशत र ८.९ प्रतिशत रहेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ माघ महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्कमा २.१ प्रतिशतले र आयात मूल्य सूचकाङ्क ०.६ प्रतिशतले वृद्धि भएको छ । २०८२ माघ महिनामा व्यापारको सर्त १.४ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

images

३- इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ का सुरुआती २० खेलको तालिका बुधबार सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेल मार्च २८ मा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदराबादबीच हुनेछ । उक्त खेल बैंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा हुने तालिकामा उल्लेख गरिएको छ । यही रंगशालामा गत वर्ष जुन ४ मा रोयल च्यालेन्जर्स बैंग्लोरको विजय उत्सवका क्रममा भागदौड मच्चिँदा ११ जनाको मृत्यु भएको थियो । सार्वजनिक तालिकाअनुसार पहिलो चरणमा १६ दिनभित्र २० खेल खेलाइनेछ । तीमध्ये ४ दिन दुई-दुई खेल हुनेछन् । पाँच पटकको विजेता मुम्बई इन्डियन्सले मार्च २९ मा कोलकाता नाइट राइडर्सविरुद्ध आफ्नो पहिलो खेल मुम्बईस्थित वानखेडे रंगशालामा खेल्नेछ । साविक विजेता भएकाले परम्पराअनुसार प्रतियोगिताको उद्घाटन खेल, दोस्रो क्वालिफायर र फाइनल खेल पनि रोयल च्यालेन्जर्स बैंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी रंगशालामै हुने व्यवस्था गरिएको छ । बैंगलुरुले गत सिजनको फाइनलमा पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । यस वर्ष देशका पाँच राज्यमा निर्वाचन हुने भएकाले प्रतियोगिताको सुरुआती खेल दुई दिन पछि सारिएको हो। यसअघि प्रतियोगिता मार्च २६ बाट सुरु गर्ने योजना थियो । निर्वाचन हुने राज्यहरूमा पर्ने केही मुख्य रंगशालामा पनि खेल हुने भएकाले तालिका दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिएको छ । तमिलनाडुको चेन्नईस्थित एमए चिदम्बरम रंगशाला चेन्नई सुपर किंग्सको घरेलु मैदान हो भने पश्चिम बंगालको कोलकातास्थित इडेन गार्डेन्स कोलकाता नाइट राइडर्सको घरेलु मैदान हो । असमको गुवाहाटीस्थित बारसापारा क्रिकेट रंगशाला भने राजस्थान रोयल्सको दोस्रो घरेलु मैदानका रूपमा प्रयोग हुँदै आएको छ । प्रतियोगिताको दोस्रो चरणको तालिका भने निर्वाचन मितिको घोषणा भएपछि मात्र सार्वजनिक गरिने भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जनाएको छ ।

४-  नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको सात महिना (माघ मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ। सार्वजनिक प्रतिवेदनअनुसार समग्र आर्थिक सूचकहरू सन्तोषजनक देखिएका छन् । राष्ट्र बैंकका अनुसार गत माघ मसान्तसम्म मुलुकको विदेशी मुद्रा सञ्चिति ३३ खर्ब २ अर्ब पुगेको छ । गत असार मसान्तको तुलनामा यो २३.३ प्रतिशतको वृद्धि हो । गत असारमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको कुल विदेशी मुद्रा सञ्चिति पुससम्म बढेर ३३ खर्ब २ अर्ब रुपैयाँ पुगेको हो ।  अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ माघ मसान्तमा १६.७ प्रतिशतले वृद्धि भई २२ अर्ब ७६ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु. २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ माघ मसान्तमा २१.२ प्रतिशतले वृद्धि भई रु.२९ खर्ब २६ अर्ब ९९ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु.२ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ माघ मसान्तमा ४२.८ प्रतिशतले वद्धि भई रु.३ खर्ब ७५ अर्ब ६७ करोड कायम भएको छ । २०८२ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२-८३ को सात महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.३ महिनाको वस्तु आयात र १८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५४.१ प्रतिशत, १५०.२ प्रतिशत र ३९.७ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।

५- बंगलादेशले पाकिस्तानलाई एकदिवसीय सिरिजको पहिलो खेलमा ८ विकेटले पराजित गर्दै तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । बुधबार ढाकास्थित शेर ए बांग्ला राष्ट्रिय रंगशालामा भएको खेलमा पाकिस्तान ११४ रनमै समेटिएको थियो । पाकिस्तानले दिएको ११५ रनको सामान्य लक्ष्य बंगलादेशले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । बंगलादेशका तन्जिद हसन तमीमले आक्रामक ब्याटिङ गर्दै अविजित ६७ रन बनाए भने नजमुल हुसैन शान्तोले ३३ बलमा २७ रन बनाए भने लिटन दास ३ रनमा अविजित रहे । लक्ष्य पछ्याउने क्रममा बंगलादेशको सुरुआत राम्रो हुन सकेन। सैफ हसन ४ रनमै आउट भए । त्यसपछि तन्जिद हसन तमीम र नजमुल हुसैन शान्तोले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गर्दै खेल लगभग एकतर्फी बनाएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ३०.४ ओभरमा ११४ रनमै अलआउट भएको थियो । बंगलादेशका तीव्र गतिका बलर नाहिद राणाले उत्कृष्ट प्रदर्शन गर्दै ७ ओभरमा २४ रन खर्चेर ५ विकेट लिए । कप्तान मेहदी हसन मिराजले पनि १० ओभरमा २९ रन दिएर ३ विकेट लिए। तस्किन अहमद र मुस्तफिजुर रहमानले एक–एक विकेट लिए। पाकिस्तानका लागि साहिबजादा फरहानले २७ रन र माज सादाकतले १८ रन बनाए। अन्य ब्याटरले ठूला इनिङ खेल्न सकेनन्। मध्यक्रमका खेलाडी हुसैन तलात ४, अब्दुल समद शून्य र कप्तान शाहिन अफ्रिदी ४ रनमै आउट भए। अन्तिमतिर अलराउन्डर फहीम अशरफले ४७ बलमा ६ चौका र एक छक्कासहित ३७ रन बनाए, जुन पाकिस्तानका लागि सबैभन्दा ठूलो इनिङ रह्यो। फहीम अशरफ र अबरार अहमदले अन्तिम विकेटका लागि ३२ रनको साझेदारी गर्दै टोलीको स्कोर ११४ रनसम्म पुर्‍याएका थिए । यस खेलमा पाकिस्तानका चार खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक खेल्ने अवसर पाएका थिए । अब्दुल समद, माज सादाकत, साहिबजादा फरहान र शमिल हुसैनले डेब्यु गरे पनि ठूलो इनिङ खेल्न सकेनन् । यसैबीच बंगलादेश टोलीले टी-२० विश्वकप बहिष्कार गरेपछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेको हो । सुरक्षा चिन्ताका कारण भारत यात्रा नगर्ने निर्णय गरेपछि बंगलादेशलाई उक्त प्रतियोगिताबाट हटाइएको थियो र त्यसको स्थानमा स्कटल्यान्डलाई सहभागी गराइएको थियो। पाकिस्तानविरुद्ध ढाकामा खेलिएको यो खेल सोही निर्णयपछि बंगलादेशको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता बनेको छ । अब सिरिजको दोस्रो खेल शुक्रबार मिरपुरमा खेल्ने तालिका रहेको छ ।

६- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को सात महिना अर्थात् माघ मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार सो अवधिमा विप्रेषण आप्रवाह उल्लेखनीय रूपमा बढेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सात महिनामा विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले मात्र बढेको थियो । माघ महिनामा मात्र १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा भने १ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ विप्रेषण आएको थियो । डलरमा हेर्दा पनि विप्रेषण आप्रवाह बढेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण ३३ प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड डलर पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो वृद्धि ५.५ प्रतिशत मात्र थियो । यस अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर पनि बढेर १३ खर्ब ८४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब ८६ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ४५ हजार १५३ पुगेको छ। पुनः श्रम स्वीकृति लिनेको संख्या भने २ लाख २७ हजार ४२४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको राष्ट्र बैंकले जनाएको छ।

७- नेपाल आयल निगमले ग्यासको अभावसम्बन्धी केही उद्योगमा देखिएको समस्यालाई ध्यानमा राख्दै उपभोक्तालाई इन्धन र ग्यासको खपत कम गर्न आग्रह गरेको छ । निगमले जारी गरेको सूचनामा एलपी ग्यासको सहज आपूर्ति र बिक्री वितरणका विषयमा यसअघि माघ १९ र माघ २६ गते प्रेस विज्ञप्तिमार्फत जानकारी गराइसकेको उल्लेख गरिएको छ । निगमका अनुसार मध्यपूर्वमा देखिएको तनावका कारण हालसम्म नेपालमा प्रत्यक्ष प्रभाव नपरे पनि विश्वका कतिपय देशले पेट्रोलियम पदार्थको प्रयोग र वितरणमा सुरक्षात्मक उपाय अपनाउन थालेका छन् । नेपाल पूर्ण रूपमा आयातमा निर्भर भएकाले खपतमा सावधानी अपनाउन उपभोक्तालाई आग्रह गरिएको हो । निगमले आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ तथा ग्यास खरिद र प्रयोग गर्न उपभोक्तालाई अनुरोध गरेको छ । मासिक एक सिलिन्डर ग्यास प्रयोग गर्ने अवस्थामा अतिरिक्त सिलिन्डर नभराउन, अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न तथा सम्भव भएसम्म ग्यासको सट्टा विद्युत प्रयोग बढाउन आग्रह गरिएको छ । यसैगरी सवारी साधन प्रयोगमा राइड सेयरिङ अपनाउन र विद्युतका लागि जेनेरेटर प्रयोग नगर्न पनि निगमले सुझाव दिएको छ । उद्योगहरूलाई पनि पेट्रोलियम पदार्थ र ग्यासको खपत कम गर्न आग्रह गरिएको छ । निगमले हाल इन्धन र एलपी ग्यासको आयात तथा वितरण नियमित रूपमा भइरहेको जनाएको छ । तर विश्व बजारमा देखिने सम्भावित प्रभावलाई ध्यानमा राख्दै आवश्यक मात्रामा मात्र इन्धन र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न अनुरोध गरिएको छ । साथै निगमका निर्देशन विपरीत ग्यास सिलिन्डर अनावश्यक रूपमा जम्मा गर्ने, बढी मूल्यमा बिक्री गर्ने वा नयाँ सिलिन्डरको अवैध बजारिकरण गरेको पाइएमा नेपाल सरकारको कानुन अनुसार कारबाही गरिने चेतावनी पनि निगमले दिएको छ ।

८- मध्यपूर्वमा जारी युद्धका बीच होर्मुज जलडमरूमध्यमा थाइल्याण्डको एक कार्गो जहाजमाथि आक्रमण भएको छ ।  ओमान नजिकै यात्रा गरिरहेको उक्त जहाजलाई प्रोजेक्टाइल प्रहार गरी निशाना बनाइएको बताइएको छ । आक्रमणपछि थाइल्याण्डको नौसेनाले उद्धार अभियान सुरु गरेको जनाएको छ । अधिकारीहरूका अनुसार थाइल्याण्डको झण्डा बोकेको बल्क क्यारियर ‘मयुरी नारी’ ओमानको उत्तरतर्फ करिब ११ नटिकल माइल अर्थात् झण्डै १८ किलोमिटर दूरीमा यात्रा गरिरहेका बेला आक्रमणमा परेको हो । थाइल्याण्डका सञ्चार माध्यमका अनुसार जहाजमा रहेका २० जना चालक दलका सदस्यलाई सुरक्षित रूपमा उद्धार गरिएको छ । यद्यपि तीन जना अझै जहाजमै रहेको बताइएको छ । रोयल थाइ नौसेनाले अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गरेर जहाज र चालक दलको सुरक्षाका लागि आवश्यक सहयोग गरिरहेको जनाएको छ।

९- नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले पर्वतारोहण-ट्रेकिङ क्षेत्रमा भएको ‘फेक रेस्क्यू’ प्रकरणमा संलग्न थप एक जना ट्रेकिङ कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्यानारोमा हिमालय ट्रेकिङ एण्ड एक्सपेडिसन प्रालिका सञ्चालक पासाङ शेर्पा रहेका छन् । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका-१ का शेर्पाको  कम्पनीले उच्च हिमाली क्षेत्रमा ट्रेकिङ गर्ने क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकहरुको उद्धार गरेको देखाएर बीमा रकम दाबी गरी गैरकानूनी आर्थिक लाभ लिएको आरोप लागेको छ । अनुसन्धानका क्रममा माउन्टेन रेस्क्यू सर्भिस प्रालि, एभरेष्ट एक्स्पेरियन्स एण्ड असिस्टेन्स प्रालि र नेपाल चार्टर सर्भिस प्रालिलगायत कम्पनीहरूले सरकारी अभिलेख, विमानस्थल र नागरिक उड्डयन प्राधिकरणका कागजातमा पनि फेरबदल गरी आफ्नो बिल र इन्भोइस बनाएको पाइएको सीआइबीले उल्लेख गरेको छ । उद्धार गरिएको भनिएका पर्यटकहरुलाई अस्पताल भर्ना गरेर उपचार बिल तथा मेडिकल रिपोर्ट तयार गराई बीमा रकम दाबी गरिएको भेटिएको छ । जाँच अनुसार सन् २०२५ मा दुई जना विदेशी नागरिकले सगरमाथा बेसक्याम्प ट्रेकिङ गर्ने क्रममा गाईड र कम्पनीको स्वीकृति बिना हेलिकप्टर मार्फत काठमाडौं ल्याई अस्पताल भर्ना गराइएको र रेस्क्यू तथा स्वास्थ्य बीमा रकम दाबी गरिएको उजुरी पाइएको सिआईबीले जनाएको छ । यस विषयमा राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र नेपालको पर्यटन छवि हानि हुने भएकाले मुलुकी अपराध संहिता २०७४ को दफा ५१ (राष्ट्रहित प्रतिकूल काम) र संगठित अपराध निवारण ऐन, २०७० अनुसार मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको सिआईबीले उल्लेख गरेको छ । हालसम्म ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बीमा कम्पनीका नेपाल स्थित एजेन्ट र हेलिकप्टर कम्पनीका शेयरधनी सहित जम्मा १० जनालाई पक्राउ गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Nepal life insurance

१०- पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नेपालमा सम्पन्न निर्वाचनमा जित हासिल गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको विजयमा बधाई दिएका छन् । शरीफले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै यो विजयले नेपाली जनताले नयाँ र गतिशील नेतृत्वप्रति देखाएको विश्वासलाई प्रतिबिम्बित गरेको उल्लेख गरेका छन् । उनले नव निर्वाचित नेपाल सरकारसँग मिलेर दुई देशबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा पाकिस्तानले राखेको पनि उल्लेख गरेका छन् ।

११- नेपाली कांग्रेसका राष्ट्रिय सभामा सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामाको माग गरेका छन् । बुधबार सिंहदरबारमा पार्टीका राष्ट्रिय सभाका बहालवाला सांसद र नयाँ सांसदहरूबीचको परिचयसहितको अन्तरक्रिया कार्यक्रमपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै बस्नेतले सभापति थापाले राजीनामा दिनुपर्ने बताएका हुन् ।  उनले विशेष महाधिवेशनको औचित्य पनि समाप्त भएको बताउदै कांग्रेसले जनताले दिएको म्यान्डेटलाई स्वीकार गर्दै अघि बढ्ने पनि बताए । उनले गगन थापालगायतका नेताहरूले विशेष महाधिवेशनको नाममा निर्वाचन आयोगसँग सेटिङ गरेर कांग्रेस कब्जा गरेको आरोप समेत लगाए । साथै उनले विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपरेको दाबी गर्दै विशेष महाधिवेशन औचित्य सकिएको जिकिर गरेका थिए । बस्नेत कांग्रेसमा पूर्व सभापति शेरबहादुर देउवा पक्षका नेता मानिन्छन् ।

१२- नेप्सेमा आज पनि गिरावट आएको छ । बुधबार नेप्से ४६.७८ अंकले घटेर २७९६. ५७ विन्दुमा पुगेर रोकिएको छ । आज ३२९ कम्पनिका ३ करोड ६० लाख ४९ हजार ४५१ कित्ता शेयर १३ अर्ब १८ करोड २ लाख ५५ हजार १५७ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै नेशनल हाइड्रोको शेयर ९.९६ प्रतिशतले बढेको छ भने रिलायन्स स्पिनिंग मिल्सको शेयर ९. ३३ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी कालिका पावरको शेयर ८.४७ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिढी पावरको ८५ करोड ९४ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ५१ करोड २९ लाख बराबरको कारोबार भएको छ । त्यस्तै नेशनल हाइड्रोको ४९ करोड ५७ लाख बराबरको कारोबार भएको छ ।

१३- फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना लगभग सकिएको छ । प्रत्यक्षको पछि समानुपातिक तर्फको मत गणनापनि अब सकिएको छ ।  निर्वाचन आयोगले सार्वजनिक गरेको मत अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ६ दल राष्ट्रिय दल बनेका छन् ।  निर्वाचन आयोगले अब अन्तिम मतपरिणाम रुजु गरेर समानुपातिक तर्फको सिट बाँडफाँड गर्ने तयारीमा लागेको छ । आयोगले मत परिणाम रुजु गरेपछि दलहरुले जित्ने सिटको टुंगो लगाउने र समानुपातिक सांसद छनौट गर्न दलहरूलाई केहि दिन समय दिने तयारीमा रहेको छ । दलहरुले गत पुस १३ र १४ गते निर्वाचन आयोगमा पेश गरेको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीबाट सांसद चयन गर्नुपर्ने व्यवस्था रहेको छ । त्यस्तै मतपरिणाम आएसँगै अब प्रतिनिधि सभाको बैठक बोलाउने तयारी समेत शुरु भएको छ । नेपालको संविधानको धारा ९३ मा संसद् अधिवेशनको आह्वान र अन्त्यको व्यवस्था उल्लेख छ । उक्त प्रावधानअनुसार राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने उल्लेख गरिएको छ ।  निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र दिएपछि निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी गरेको छ । त्यस्तै सांसदहरुले शपथ शुरुमा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिने र उनले अन्य सांसदलाई शपथ गराउने प्रचलन छ । सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले सभामुखको भूमिका निर्वाह गर्नेछन् । त्यस्तै आयोगले राष्ट्रपतिलाई निर्वाचनको प्रतिवेदन बुझाएपछि सरकार गठनको प्रक्रिया पनि अगाडि बढ्ने छ । रास्वपा स्पष्ट बहुमतसहितको ठुलो दल भएकाले औपचारिक रुपमा निर्वाचन परिणामपछि संसदीय दलको नेता चयन गरेपछि सरकार गठनको प्रक्रिया शुरु हुने छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फमा सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिट जितेको छ। दोस्रोमा नेपाली कांग्रेसले १८, तेस्रोमा नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले १ र एक जना स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन् । त्यस्तै राष्ट्रिय दल भएका दलहरुले समानुपातिक तर्फ सिट पाउने छन् । अहिलेसम्मको प्राप्त मतको आधारमा रास्वपाले करिब ५७ सिट, काँग्रेसले २० सिट, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति र राप्रपाले ४-४ सिट पाउने देखिन्छ । यद्यपी आयोगले यसको अन्तिम निर्णय गर्नेछ ।  यस आधारमा रास्वपा दुई तिहाई बहुमतबाट २ सिट पछि परेको देखिन्छ । नयाँ सरकार गठनसँगै पहिलो संसद् बैठक नयाँ भवनबाट नै गर्ने तयारी सरकारले गरिरहेको छ । यसअघि नयाँ वानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संघीय संसद् भवन रहेको थियो । गत भदौ २३ र २४ को प्रदर्शनका क्रममा आगजनीपछि उक्त भवन पूर्णरूपमा क्षतिग्रस्त छ । २०७६ सालबाट नै सरकारले सिंहदरबारभित्र नयाँ संसद् भवन निर्माण गर्दैछ । तर, ३ वर्षमा निर्माण गरिसक्नुपर्ने नयाँ संसद् भवनको भौतिक प्रगति करिब ९३ प्रतिशत छ । नयाँ संसद् भवन निर्माणका लागि अहिलेसम्म ५ पटक म्याद थपिए पनि पूरा हुन सकेको छैन । भवन निर्माणको सम्पूर्ण काम नसकिए पनि बैठक बस्न मिल्ने गरी हल निर्माण सकिने बताइएको छ । न्यूनतम पूर्वाधारसहित बैठक सञ्चालन गर्न आवश्यक केही सभाकक्ष र संरचना तयार हुने बताइएको छ ।

१४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट अब पूर्ण इजलासमा सुनुवाई हुने भएको छ । मंगलबार हेर्न नभ्याइने सूचीमा राखिएको उक्त रिटमाथि आज न्यायाधीश सपना मल्ल प्रधान र श्रीकान्त पौडेलको संयुक्त इजलासले यो रिटलाई पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । अधिवक्ता दिनेश त्रिपाठी,युवराज सफलगायतले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।  महान्यायाधिवक्ता कार्यालय,विभिन्न सरकारी वकिल कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई रिटमा विपक्षी बनाइएको छ। रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन् । साथै महान्यायाधिवक्ता कार्यालयको उक्त निर्णय मुद्दाको अन्तिम निर्णय नभएसम्म कार्यान्वयन नगर्नु र कार्यान्वयन गर्न कुनै पनि कानुनी प्रक्रिया अवलम्बन नगर्नु नगराउन अन्तरिम आदेशको माग समेत गरिएको छ । महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते रास्वपा सभापति लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने  निर्णय गरेको थियो । महान्यायाधिवक्ता सविता भण्डारीले आसन्न निर्वाचनलाई लक्षित गरी लामिछानेलाई उम्मेदवारी दिन र निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्ने  बाटो खुल्ने गरी अभियोग संशोधनको निर्णय गरेकी थिइन् ।  लामिछानेले आफूविरुद्ध लगाइएका मुद्दामध्ये सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी कसूर गरेको भन्दै सरकारी वकिल कार्यालयले लगाएको अभियोग फिर्ता लिइदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए । त्यसपछि महान्यायाधिवक्ता भण्डारीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने निर्णय फिर्ता लिएकी थिइन् ।

१५- अस्ट्रेलियामा शरण लिएकी एक इरानी महिला फुटबल खेलाडी स्वदेश फर्किने भएकी छन् । एसियाली कपबाट बाहिरिएपछि धेरै खेलाडीहरू अष्ट्रेलिया छोडेका छन् भने शुरुमा ५ र त्यसपछि २ खेलाडीले अस्ट्रेलियामा शरण लिएको बताइएको थियो ।  खेल अघि राष्ट्रिय गान गाउन असफल भएपछि आफ्नो देश फर्कँदा उनीहरूले आफ्नो सुरक्षाको चिन्ता गरेको रिपोर्ट गरिएको थियो । पछि, टोलीका अन्य दुई सदस्यहरूले पनि अष्ट्रेलियामै बस्ने प्रस्ताव स्वीकार गरेका थिए । यद्यपि, अब भने शरण दिइएको एक खेलाडीले आफ्नो मन परिवर्तन गरेकी छिन् र इरान फर्कने निर्णय गरेकी छिन् । खेलाडीको पहिचान सार्वजनिक गरिएको छैन । अष्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले नलाई आज स्थानीय समय अनुसार बिहान १० बजे यो निर्णयको बारेमा जानकारी गराइएको बताएका छन् । उनले अष्ट्रेलियामा, मानिसहरूलाई आफ्नो मन परिवर्तन गर्ने र यात्रा गर्ने स्वतन्त्रता रहेको बताउदै उनीहरूको निर्णयको सम्मान गर्ने बताएका छन् । टोनी बर्कले भिसा प्राप्त गर्ने बाँकी छ इरानी महिला खेलाडीहरू स्थानान्तरण गर्नुपरेको पनि खुलासा गरे । उनका अनुसार, फर्कने निर्णय गर्ने खेलाडीलाई उनका टोलीका साथीहरू र प्रशिक्षकले इरानी दूतावासलाई सम्पर्क गर्न र उठाउन भनिएको छ । यसपछि, सुरक्षा कारणले गर्दा बाँकी खेलाडीहरूलाई स्थानान्तरण गरिएको थियो ।

१६-  नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको २ हजारले बढेर तोलाको ३ लाख १९ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख १७ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५७२० मै कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि चाँदी तोलाको ५७२० मा नै कारोबार भएको थियो ।

१७-  नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न र वायु गुणस्तर व्यवस्थापनलाई सुदृढ बनाउन विश्व बैंकले ५२ मिलियन अमेरिकी डलर (करिब साढे ७ अर्ब रुपैयाँभन्दा बढी) बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना’ का लागि उक्त रकम स्वीकृत गरेको हो । यस परियोजनामार्फत उद्योग तथा व्यावसायिक क्षेत्रबाट हुने वायु प्रदूषण घटाउने र देशको वायु गुणस्तर व्यवस्थापन प्रणालीलाई मजबुत बनाउने लक्ष्य राखिएको छ । परियोजनाले विशेषगरी उद्योग र व्यापारिक क्षेत्रमा प्रयोग हुने बोइलर तथा भट्टीबाट निस्कने सूक्ष्म कण (पीएम २.५) उत्सर्जन घटाउन सहयोग गर्नेछ । परियोजना मुख्य रूपमा काठमाडौँ उपत्यका, तराई क्षेत्र र आसपासका पहाडी भेगमा केन्द्रित हुनेछ, जहाँ वायु प्रदूषणले स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि डिभिजन निर्देशक डेभिड सिसलेनले वायु प्रदूषण नेपालका लागि केवल स्वास्थ्य समस्या मात्र नभई ठूलो आर्थिक चुनौती भएको बताएका छन् । उनका अनुसार प्रदूषणका कारण स्वास्थ्य खर्च बढ्नु र श्रम उत्पादन घट्नुले नेपालको कुल राष्ट्रिय उत्पादनको ६ प्रतिशतभन्दा बढी बराबरको आर्थिक क्षति प्रत्येक वर्ष भइरहेको छ । उनले यस परियोजनाले नेपाली उद्योगहरूलाई स्वच्छ र प्रभावकारी प्रविधि अपनाउन सहयोग गर्ने बताए । यसबाट सञ्चालन खर्च घट्ने, उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता बढ्ने र दीगो औद्योगिक विकासलाई पनि टेवा पुग्ने अपेक्षा गरिएको छ । नेपालमा औद्योगिकीकरण विस्तार हुँदै जाँदा आगामी वर्षहरूमा उद्योगबाट हुने प्रदूषण वायु प्रदूषणको सबैभन्दा ठूलो स्रोत बन्न सक्ने अनुमान गरिएको छ । यही जोखिमलाई ध्यानमा राख्दै परियोजनामार्फत स्वच्छ उत्पादन प्रविधि प्रयोगलाई प्रोत्साहन गरिनेछ । यस योजनाअन्तर्गत करिब ४०० उद्योग तथा व्यावसायिक प्रतिष्ठानलाई विद्युतीय बोइलर र भट्टी, आधुनिक बायोमास प्रविधि तथा उन्नत उत्सर्जन नियन्त्रण प्रविधि अपनाउन आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ। यसबाट वायु गुणस्तरमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ । विश्व बैंकका दक्षिण एशिया क्षेत्रका वरिष्ठ वातावरणीय अर्थशास्त्री मार्टिन हेगरका अनुसार नेपालमा स्वच्छ प्रविधि अपनाउन उच्च प्रारम्भिक लगानी, दीर्घकालीन वित्तीय पहुँचको कमी र प्राविधिक क्षमताको अभाव प्रमुख चुनौतीका रूपमा देखिएका छन् । परियोजनाले दीर्घकालीन वित्तीय सुविधा, पूँजी प्रोत्साहन र प्राविधिक सहयोग उपलब्ध गराएर उद्योगहरूलाई स्वच्छ उत्पादनतर्फ रूपान्तरण गर्न सहयोग गर्ने उनले बताए । यो परियोजना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभाग र वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले कार्यान्वयन गर्नेछन्। स्वच्छ प्रविधि वित्तीय सुविधाको व्यवस्थापन राष्ट्रिय वाणिज्य बैंकमार्फत गरिने जनाइएको छ । विश्व बैंकको ऋण सहयोगसँगै यस परियोजनामा ५० लाख अमेरिकी डलर अनुदान पनि समावेश गरिएको छ । यो अनुदान बेलायतको विदेशी, राष्ट्रमण्डल तथा विकास कार्यालय र स्विट्जरल्यान्डको विकास तथा सहयोग एजेन्सीले सहयोग गरेको ‘रेजिलियन्ट एशिया कार्यक्रम’ बाट प्राप्त भएको हो । उक्त परियोजना विश्व बैंकले इन्डो-गंगेटिक मैदान र हिमालय आसपासका क्षेत्रमा सञ्चालन गरिरहेको क्षेत्रीय वायु गुणस्तर व्यवस्थापन कार्यक्रमको एक हिस्सा पनि हो । यी क्षेत्रहरू विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने क्षेत्रमध्ये मानिन्छन् ।

१८- संयुक्त राष्ट्र संघमा नेपालले राखेको अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित भएको छ । महासभाले उक्त प्रस्ताव पारित गरेसँगै अब विश्वका विभिन्न भर हरेक वर्ष अप्रिल १५ मा ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने भएको छ । संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार उक्त प्रस्तावले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गरिएको छ । राजदूत थापाले नेपालले राखेको सो प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको बताएका छन् । यसलाई नेपालका लागि महत्त्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताइएको छ ।

images

१९- अमेरिका, इजरायल र इरानबीच जारी युद्ध आज १२औँ दिनमा प्रवेश गरेको छ । युद्ध थप चर्किँदै गएको बेला रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका राष्ट्रपति मसुद पेजेशकियानसँग टेलिफोनमा कुराकानी गरेका छन् । रुसको राष्ट्रपति कार्यालय क्रेमलिनका अनुसार पुटिनले कुराकानीका क्रममा युद्ध यथाशीघ्र रोक्नुपर्ने र क्षेत्रमा बढ्दो तनाव घटाउन आवश्यक रहेको बताएका छन् । उनले यो संघर्षको समाधान सैन्य उपायभन्दा पनि राजनीतिक संवादमार्फत खोजिनुपर्ने धारणा दोहोर्‍याएका थिए । कुराकानीका क्रममा इरानी राष्ट्रपति पेजेशकियानले रुसले देखाएको समर्थन र मानवीय सहयोगका लागि धन्यवाद दिएका थिए । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफूले पुटिनसँग फोनमा कुराकानी गरेको बताएका थिए । ट्रम्पका अनुसार उनीहरूबीच इरानमा भइरहेको युद्ध र युक्रेनको अवस्थाबारे समेत छलफल भएको थियो । ट्रम्पले पुटिनले इरान युद्ध अन्त्य गर्न सहयोग गर्ने प्रस्ताव गरेको बताए । तर ट्रम्पले पुटिनलाई रुस-युक्रेन युद्ध अन्त्य गराउन सहयोग गर्न सके त्यो अझ राम्रो हुने प्रतिक्रिया दिएको बताएका छन् । यसैबीच इजरायलले इरानका विभिन्न शहरमा हवाई आक्रमण तीव्र बनाएको जनाएको छ। इरानको राजधानी तेहरानमा रातभर शक्तिशाली विस्फोटका आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । इजरायली रक्षा बलले तेहरान र तब्रिज शहरका विभिन्न स्थानमा एकैपटक आक्रमण गरेको जनाएको छ । इजरायलका अनुसार तब्रिजमा रहेको एक विशेष सैन्य इकाइको कमाण्ड केन्द्रलाई निशाना बनाइएको थियो । तेहरानमा भने ‘इमाम हसन’ सुरक्षा इकाइको सैन्य परिसर तथा ब्यालिस्टिक मिसाइल प्रक्षेपणसँग सम्बन्धित एक कमाण्ड केन्द्रमा आक्रमण गरिएको बताइएको छ । त्यसैगरी माराघेह प्रान्तमा रहेको गुप्तचर तथा सुरक्षा प्रहरीको कमाण्ड केन्द्र र तब्रिजस्थित बासिज फोर्सको ठूलो सैन्य परिसरलाई पनि लक्षित गरिएको इजरायलले जनाएको छ । अर्कोतर्फ इजरायलले इरानबाट प्रहार गरिएका केही मिसाइललाई आकाशमै अवरोध गरेर नष्ट गरिएको पनि दाबी गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले भने इजरायल र मध्यपूर्वका अमेरिकी सैन्य ठिकानामा आक्रमण गरेको दाबी गरेको छ । इरानले तेल अवीभको दक्षिणमा रहेको हेला उपग्रह सञ्चार केन्द्र, बियर याकुब, पश्चिम यरुशलम र हाइफा क्षेत्रका सैन्य स्थलहरूलाई निशाना बनाइएको जनाएको छ । त्यसैगरी इराकको एरबिलमा रहेको अमेरिकी सैन्य आधार र बहराइनको मनामामा रहेको अमेरिकी पाँचौँ नौसैनिक फ्लीटको मुख्यालयमा पनि आक्रमण गरिएको इरानले दाबी गरेको छ । इरानी रिभोलुसनरी गार्डले आफ्नो लक्ष्य पूरा नभएसम्म यस्ता आक्रमण जारी रहने चेतावनी पनि दिएको छ ।

२०- युइएफए च्याम्पियन्स लिगको नकआउट चरण (राउण्ड १६) का खेल शुरु भएका छन् । गएराती सम्पन्न पहिलो लिगका खेलमा बायर्न म्युनिख एटलेटिको म्याड्रिडले शानदार जित हासिल गरेका छन् भने बार्सिलोना बराबरीमा रोकिएको छ । त्यस्तै लिभरपुल  भने पराजित भएको छ । पहिलो लिगको खेलमा बायर्न म्युनिखले इटालियन क्लब एटलान्टालाई ६-१ गोल अन्तरले पराजित गरेको छ । बायर्नको जितमा माइकल ओलीसले २ गोल गरेका थिए भने जोसिप स्टानिसिक, सर्ज ग्नाबेरी, निकोलस क्याक्सन र जामल मुसियालाले एक एक गोल गरेका थिए । त्यस्तै एटलान्टाका लागि मारियो पासालिकले एक एक गोल गरेका थिए । त्यस्तै अर्को खेलमा एटलेटिको म्याड्रिडले टोटनह्यामलाई ५-२ गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामका लागि जुलियन अल्भारेजले २ गोल गरे भने मार्कोस लिओरेन्ट, एन्टोनी ग्रीजम्यान र रोबिन नोरमाण्डले एक एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि पेड्रो पोरो र डोमिनिक सोलान्केले एक एक गोल गरेका थिए । त्यसैगरी अर्को खेलमा बार्सिलोना र न्यूक्यासल युनाइटेड भने १-१ गोलको बराबरी खेलेका छन् । खेलको ८६औं मिनेटमा न्यूक्यासलले हार्भी बार्नेजको गोलमा अग्रता लिए पनि खेलको इन्जुरी समय पछि ९६औं मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टीलाई लामिन यमलले गोल गर्दै बार्सिलोनालाई हारबाट बचाएका थिए । त्यस्तै गएराती नै भएको अर्को खेलमा लिभरपुल टर्कीको क्लब गालाटासारेसँग १-० गोल अन्तरले पराजित भएको छ । गालाटासारेको जितमा खेलको सातौं मिनेटमा मारियो लेमिनाले गरेको गोल नै खेलको निर्णायक गोल भएको थियो । अब राउण्ड १६ का दोस्रो लिगका खेल मार्च १८ मा हुने तालिका रहेको छ ।

#NepalNews #NewsBulletin #Top20News #DailyUpdate #BreakingNews #NepalUpdate #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages