भारत भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारसंगको भेटले अवसरमार भारतीय प्रधानमन्त्री सिंह नेपालको राजनीतिक अवस्थाप्रति गहिरो चासो ब्यक्त गरेका हुन् ।
गच्छदारसंगै भारतमा रहेका रिपोर्टर्स क्लवका अध्यक्ष ऋषी धमलाका अनुसार प्रधानमन्त्री सिंहसँग झण्डै ४५ मिनेट भेटवार्ता गरेका गच्छदारले प्रधानमन्त्री सिंहले छिट्टै नेपालको भ्रमण गर्न चाहेको बताएका हुन् ।
‘म छिटो नेपाल भ्रमणमा आउन ईच्छुक छु भन्नु भएको छ’ गच्छदारको भनाई उदृत गर्दै धमलाले भने ।
भेटमा भारतीय प्रधानमन्त्री सिंहले नेपालमा जारी शान्ति प्रक्रिया अवरुद्ध हुनुको कारण, पुर्नवर्गिकरणपछि काम हुन नसकेको, संविधान निर्माणमा देखिएको विवाद र दलहरुवीच पछिल्लो समयमा देखिएको असहमतिको अवस्थाको विषयमा गंभिर चासो प्रकट गरेको पनि गच्छदारले जनाए ।
‘नेपालमा प्रजातन्त्रको अवस्था कस्तो छ, संविधान कस्तो आउँछ र माओवादी शान्ति प्रक्रियाप्रति प्रतिबद्ध छ कि छैन भनेर उहाँले गंभिर चासो राख्नु भएको थियो’ गच्छदारले भने ।
त्यसैगरी नेपालमा तोकिएकै समयमा शान्ति प्रक्रिया पुरा भएर लोकतान्त्रिक संविधान जारी हुनुपर्ने पक्षमा भारत रहेको भन्दै प्रधानमन्त्री सिंहले शान्ति, संविधान र आर्थिक प्रगतिको लागि भारत जस्तोसुकै सहयोग गर्न तयार रहेको आश्वासन दिएका पनि बताए ।
गच्छदारका अनुसार भारतीय प्रधानमन्त्रीले नेपालमा दलहरुवीचको सहमति र एकताले नै शान्ति र संविधानको कार्यभार पुरा हुने भन्दै दलहरुलाई मिलेर अगाडि बढ्न सुझाव दिएका थिए । त्यसैगरी भेटको क्रममा हालै नेपालमा भएको चिनियाँ प्रधानमन्त्री बेन जियावाओको नेपाल भैमण, सीमा सुरक्षा र नेपालको भूमि प्रयोग गरी हुन सक्ने भारत विरोधी गतिविधीको विषमा पनि कुराकानी भएको गच्छदारले बताएका छन् ।
भेटमा गच्छदारले दलहरुवीचको सहमतिमै निर्धारित समयमा शान्ति र संविधान निर्माण गरेर नेपाल राजनीतिक स्थायीत्वकालागि आम निर्वाचनमा जाने मार्गमा अग्रसर रहेको भन्दै माओवादी पनि शान्ति र संविधानको लागी प्रतिबद्ध रहेको भनि आश्वास्त पार्ने प्रयास गरेका थिए ।
त्यसैगरी गच्छदारले नेपालको भूमि प्रयोग गरी कुनै पनि हालतमा भारत विरोधी गतिविधी हुन नदिने भन्दै नेपालको सुरक्षाको चासो समेत ब्यक्त गरेको बताइएको छ ।



