

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर बिक्री गर्ने निर्णय गरेको छ । निगमका अनुसार पछिल्ला दुई-तीन महिनादेखि काठमाडौँ उपत्यकामा एलपी ग्यासको माग असामान्य रूपमा बढ्दै गएको बताउदै मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी असर परेको निगमले जनाएको छ । नेपाललाई ग्यास आपूर्ति गर्ने भारतमै पनि सर्वसाधारण उपभोक्ताले ग्यास पाउन कठिनाइ भोगिरहेको समाचार सार्वजनिक भएपछि नेपालमा आवश्यकता भन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढेको निगमको भनाइ छ । यही अवस्थालाई ध्यानमा राख्दै आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित बनाउन तथा सबै उपभोक्ताले ग्यास पाउने अवस्था सुनिश्चित गर्न निगमले नयाँ व्यवस्था लागू गरेको हो । निगमले फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म प्रत्येक सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरेर प्रति सिलिन्डर ९५५ रुपैयाँमा बिक्री वितरण गरिने जानकारी दिएको छ । निगमले आम उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न पनि अनुरोध गरेको छ ।

२- सर्वोच्च अदालतले किशोरी साह कमललाई कालोसूचीबाट हटाउन राष्ट्र बैंकलाई निर्देशन दिएको छ । साहले आफूलाई कालो सूचीमा राखेको विषयमा अदालतमा रिट दायर गरेकोमा आज सर्वोच्च अदालतकी न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले आज साहको पक्षमा अन्तरिम आदेश दिएको हो । अब शाहले आफ्नो उम्मेदवारी खारेजी विरुद्ध दायर गरेको रिटको पेसी भने शुक्रबारका लागि तोकिएको छ । निर्वाचनको मौन अवधि शुरु भएपछि निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो । सो क्षेत्रमा उनको उम्मेदवारी खारेज भएपछि नेकपाका मातृका यादवलाई निर्वाचित भएको घोषणा गरिनुको साथै प्रमाणपत्र प्रदान गरिएको थियो । मतदानमा शाहको उम्मेदवारी खारेज भएपनि उनले सबै भन्दा बढी मत पाएका छन् । तर आयोगले भने उनको उम्मेदवारी खारेज भएकाले ति मतलाई मान्यता नदिएर दोस्रो धेरै मत ल्याउने नेकपाका यादवलाई विजयी भएको प्रमाण पत्र दिएको थियो ।
३- स्वीस प्रशिक्षक गुग्लिएल्मो एरेना नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल संघको सातदोबाटोस्थित परिसरमा बिहीबार आयोजित कार्यक्रममा एन्फाका महासचिव किरण राईले एरेनालाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । एरेनाको पहिलो जिम्मेवारीका रूपमा नेपालले यही मार्च २६ मा दशरथ रंगशालामा हङकङ चीनविरुद्ध खेल्ने खेल रहनेछ । ५२ वर्षीय एरेनाको यसअघि विभिन्न अन्तर्राष्ट्रिय क्लब र टोलीको प्रशिक्षण सम्हालेको अनुभव रहेको छ ।
४- अमेरिका र इजरायलसँग जारी युद्धका कारण इरानभित्र करिब ३२ लाख मानिस घर छोड्न बाध्य भएका छन् । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले सार्वजनिक गरेको जानकारी अनुसार युद्धका कारण ठूलो संख्यामा नागरिक आफ्नै देशभित्र विस्थापित भएका हुन् । एजेन्सीका अनुसार यो तथ्यांक देशभर विस्थापित भएका परिवारहरूको प्रारम्भिक मूल्याङ्कनका आधारमा तयार गरिएको हो । युद्ध जारी रहेमा विस्थापित हुनेहरूको संख्या अझ बढ्न सक्ने र त्यसले मानवीय संकट झन गहिरिन सक्ने चेतावनी पनि दिइएको छ । गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि त्यहाँ युद्धको अवस्था जारी छ। त्यसपछि लाखौँ मानिस आफ्नो घर छोडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका बताइएको छ ।
५- जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी विश्व व्यापार संगठन (डब्लुटीओ) अन्तर्गतको व्यापार र वातावरण समितिको अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार मार्च ११ मा जेनेभामा बसेको विश्व व्यापार संगठनको महासभा बैठकबाट सुवेदीलाई एक वर्षका लागि उक्त समितिको अध्यक्षमा चयन गरिएको हो । व्यापार र वातावरण समिति विश्व व्यापार संगठनका सदस्य राष्ट्रहरूबीच व्यापार नीतिले वातावरणमा पार्ने प्रभाव तथा वातावरणीय नीतिले व्यापारमा पार्ने असरबारे छलफल गर्ने स्थायी मञ्च हो । यसले वातावरणमैत्री व्यापार प्रवर्द्धन तथा जलवायुसँग सम्बन्धित व्यापारिक उपायहरूबारे संवादलाई सहजीकरण गर्ने काम गर्छ । नेपालका लागि यो नेतृत्व भूमिका महत्वपूर्ण मानिएको छ । नेपाल अति कम विकसित मुलुकको श्रेणीबाट स्तरोन्नति हुने तयारीमा रहेको अवस्थामा विश्व व्यापार संगठनका सदस्य राष्ट्रहरूसँग सहकार्य गर्दै नेपालको व्यापारलाई विश्व बजारसँग अझ सुदृढ रूपमा जोड्ने प्रयास भइरहेका बेला यो जिम्मेवारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

६- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा तनहुँको देवघाट गाउँपालिकामा कार्यरत होमबहादुर भारतीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार देवघाट गाउँपालिकामा कार्यरत भारतीले नक्कली प्रमाणपत्र प्रयोग गरेर सरकारी सेवामा प्रवेश गरेको भन्ने उजुरीपछि अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा उनले २०५५ सालमा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण भएको भनी सिनं ०२५२४३१एम उल्लेख गरिएको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएको जनाइएको छ। अख्तियारका अनुसार उक्त नक्कली प्रमाणपत्रका आधारमा उनले देवघाट गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयमा सामाजिक परिचालक, सरसफाइ सुपरीवेक्षक र उत्प्रेरक संयोजक पदमा काम गर्दै राष्ट्रसेवकको हैसियतमा विभिन्न सुविधा लिएका थिए । यसरी झुट्टा प्रमाणपत्र प्रयोग गरी पद प्राप्त गरी गैरकानुनी लाभ लिएको पुष्टि भएपछि भारतीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ उपदफा १ बमोजिम कैद र जरिवाना सजाय माग गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
७- नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाको निधन भएको छ । बिहीबार जिल्ला कमिटीको निर्वाचन समीक्षा बैठकमा बोल्ने क्रममा अचानक ढलेका थापालाई बैठकस्थलमै हृदयघात भएको बताइएको छ । ढलेलगत्तै उनलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । हाल उनको शव मणिपाल अस्पतालमै राखिएको छ । थापा लामो समयदेखि एमालेको सक्रिय राजनीतिमा रहँदै आएका थिए । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनका लागि उनलाई कास्की- २ बाट एमालेले उम्मेदवार बनाएको थियो । तर पार्टीभित्रै विरोध भएपछि उनको टिकट खोसेर रश्मि आचार्यलाई उम्मेदवार बनाइएको थियो ।
८- अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका नेतृत्वबीच समसामयिक आर्थिक विषयमा छलफल भएको छ । विहिबार अर्थ मन्त्रालयमा भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खेमराज भण्डारी सहभागी थिए । छलफलका क्रममा अर्थमन्त्री खनालले आफ्नो कार्यकालमा निजी क्षेत्रबाट प्राप्त सहयोग र सुझावका लागि आभार व्यक्त गर्दै आफ्नो कार्यकालको सुरुआती चरणमा भदौ २३ र २४ मा भएको आन्दोलनका कारण बिग्रिएको व्यवसायिक वातावरण र खस्किएको निजी क्षेत्रको मनोबल पुनःउत्थान गर्नु ठूलो चुनौती रहेको बताए । सबैको साझा प्रयासबाट ती समस्या समाधान हुँदै व्यवसायिक वातावरणमा सुधार आएको विषयमा पनि समीक्षा भएको उनले बताए । अर्थमन्त्री खनालले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न, घरेलु उद्योगको संरक्षण गर्दै निर्यात प्रवर्द्धन गर्न, पुँजी बजारलाई पारदर्शी र लगानीमैत्री बनाउन तथा आर्थिक सुशासन कायम गर्न विभिन्न सुझावका आधारमा केही विषय सम्बोधन गरिएको बताए। साथै वर्तमान परिस्थिति र नीतिगत जटिलताका कारण आफ्नो कार्यकालमा पूरा हुन बाँकी रहेका कामबारे आगामी अर्थमन्त्रीलाई जानकारी गराइने पनि उनले उल्लेख गरे । छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले अर्थमन्त्री खनालले निजी क्षेत्रका मुद्दा र मागप्रति देखाएको चासो र पहलप्रति धन्यवाद व्यक्त गरेका थिए । उनीहरूले मुलुकको समग्र विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको र हालै सम्पन्न निर्वाचनको परिणामप्रति निजी क्षेत्र आशावादी रहेको धारणा पनि राखे । निजी क्षेत्रले निर्वाचनका लागि भयरहित वातावरण निर्माण गरी निष्पक्ष रूपमा सम्पन्न गराएको भन्दै सरकारलाई धन्यवादसमेत दिएको थियो। साथै मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागू गर्नुपर्ने, कच्चा पदार्थको आयातमा लाग्ने कर र तयारी वस्तुको आयातमा लाग्ने करबीच कम्तीमा दुई तहको फरक हुनुपर्ने, उत्पादन र निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने, नियमनकारी निकायहरूको प्रभावकारिता परीक्षण गर्नुपर्ने तथा अन्तःशुल्कका उच्च दर घटाउनुपर्ने जस्ता विषयमा ध्यानाकर्षण गराइएको थियो ।
९- नेप्सेमा आज वृद्धि देखिएको छ । साताको अन्तिम कारोबार दिन आज विहिबार नेप्से २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेर रोकिएको छ । आज ३३५ कम्पनिका ४ करोड १६ लाख ८६ हजार ४०५ कित्ता शेयर १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार २३० मा कारोबार भएको थियो । आज होटल्स, निर्जीव बीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज सालपा विकास बैंक र रिलायन्स स्पिनिंग मिल्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै नेशनल हाइड्रोको शेयर ९.९७ प्रतिशतले बढेको छ भने होटेल फरेष्ट इनको शेयर ९.९३ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी कुमारी सबल योजनाको शेयर ३.८२ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी नेशनल हाइड्रोको ६७ करोड ७९ लाख बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनिको ५६ करोड ८३ लाख बराबरको कारोबार भएको छ ।
१०- कम्बोडियामा अनलाइन ठगी लगायत गैरकानुनी काममा लगाइएका तथा बिना भिसा बसिरहेका १६ जना नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ । नेपाली राजदूतावास बैंककका अनुसार मानव तस्करको प्रलोभनमा परेर विभिन्न माध्यमबाट कम्बोडिया पुगेका ती नेपालीहरू अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्याम केन्द्र र क्यासिनोमा ठगीसम्बन्धी गतिविधि तथा अन्य गैरकानुनी काममा संलग्न गराइएको अवस्थामा फेला परेका थिए । राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूलाई उद्धार गरी गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा नेपाल फर्काइएको जनाइएको र अलपत्र परेका वा कठिन अवस्थामा रहेका अन्य नेपाली नागरिकलाई पनि स्वदेश फर्काउने प्रयास जारी रहेको राजदूतावासले जनाएको छ । राजदूतावासका अनुसार कम्बोडियामा केही नेपाली नागरिक बिना भिसा वा भिसाको अवधि सकिएपछि पनि बसिरहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै यस्तो अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्किन सहयोगका लागि नेपाली राजदूतावास बैंकक वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरिएको छ । राजदूतावासले स्क्याम केन्द्रहरूमा काम लगाइएका धेरै नेपालीको राहदानी कम्पनीले राख्ने वा स्थानान्तरणका क्रममा हराउने समस्या पनि देखिएको जनाएको छ । यस्तो अवस्थामा स्वदेश फर्किन राजदूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउँदै आएको पनि जानकारी दिएको छ । यसैबीच राजदूतावासले नेपाल सरकारले तोकेको प्रक्रिया अनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ । छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता मुलुकमा भ्रमणको बहानामा काम गर्न नजान पनि सबै नेपालीलाई अनुरोध गरिएको छ ।
११- प्रतिनिधिसभाको निर्वाचन सकिएसँगै आज निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीको आज बिदाई गरिएको छ । निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि ७७ जिल्ला बाटै बिदाई गरिएको छ । यस वर्ष नेपाल प्रहरी मातहत रहनेगरी १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार ११० सहित १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन गरिएको थियो । निर्वाचन प्रहरीलाई ४० दिन निर्वाचन सुरक्षामा खटिएबापत सरकारले ३४ हजार ७७६ रूपैयाँ तलब दिइएको छ भने उनीहरूले रासन र आउजाउ गर्न ८४६ रुपैयाँ थप तयारी खर्च पाएका छन् । निर्वाचन प्रहरीले चार दिनको लागि दैनिक तीन सयको दरले खाजा खर्च पाएका छन् भने पोसाकबापत छुट्टै रकम उपलब्ध गराइएको छ । निर्वाचन प्रहरी राख्दा उनीहरूलाई दिइने तलब र अन्यमा गरी सात अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ ।

१२- बुद्ध एयरले आफ्नो एटिआर ७२-५०० विमानलाई लामो सेवापछि औपचारिक रूपमा अवकाश दिएको जनाएको छ । कम्पनीका अनुसार ९ एन-एजेओ दर्ता भएको उक्त विमानले करिब ७० हजार उडान चक्र पूरा गरेपछि सेवा समाप्त गरेको हो । यो विमान विश्वमै प्रारम्भिक रूपमा अवकाश लिने एटिआर ७२-५०० विमानमध्ये एक बनेको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरका अनुसार उक्त विमानले नेपालभित्र तथा बाहिरका आकाशमा हजारौँ यात्राको अनुभव सँगाल्दै यात्रुहरूलाई सेवा दिएको थियो । लामो समयसम्म सेवा दिँदै कम्पनीको यात्रामा महत्वपूर्ण योगदान पुर्याएको विमानले अब औपचारिक रूपमा आकाशलाई विदाइ दिएको जनाइएको छ । कम्पनीले उक्त विमानलाई बुद्ध एयर परिवारको विशेष सदस्यका रूपमा सधैँ सम्झिरहने पनि जनाएको छ ।
१३- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रति ब्यारेल १०१ डलर नाघेको छ । विश्व बजारमा केही दिनयता तेलको मूल्य निरन्तर उकालो लागिरहेको बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब ९२ डलर रहेको थियो। तर एकै दिनमा उल्लेखनीय वृद्धि भई मूल्य १०१ डलरभन्दा माथि पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसैबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीमा आबद्ध ३२ देशले बजारमा ४० करोड ब्यारेल तेल उपलब्ध गराउने योजना बनाएको भए पनि त्यसले बजारको चिन्ता कम गर्न सकेको छैन । प्रतिवेदनहरूका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्यमा करिब २० प्रतिशतसम्म वृद्धि देखिएको छ । विशेषज्ञहरूका अनुसार होर्मुज जलडमरूमध्य क्षेत्रमा जहाज आवतजावत प्रभावित हुन सक्ने आशंकाले बजारमा चिन्ता बढेको छ। यही कारणले कच्चा तेलको मूल्य लगातार बढिरहेको बताइएको छ ।
१४- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको २ हजारले घटेर तोलाको ३ लाख १७ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख १९ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २०५ रुपैयाँले घटेर ५५१५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५७२० मा कारोबार भएको थियो ।
१५- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले इनिशा मृत्यु प्रकरणमा पीडित परिवारलाई भेटेर समवेदना व्यक्त गरेको विषयलाई लिएर सामाजिक सञ्जाल र केही अनलाइन माध्यममा आएका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । मुख्यमन्त्री कँडेलले यस्तो दुःखद घडीमा पीडित परिवारलाई सान्त्वना दिनु, उनीहरूको पीडा सुन्नु र न्यायका लागि पहल गर्नु मानवियताको सामान्य दायित्व भएको बताए । उनले भेटका क्रममा इनिशाकी आमासँग कुराकानी गर्दै घटनाको निष्पक्ष र कानुनी ढंगले अनुसन्धान हुने तथा कानूनअनुसार न्याय सुनिश्चित गरिने विश्वास दिलाएको बताएका छन् । उनले परिवारमाथि कुनै प्रकारको दबाब दिने वा प्रभाव पार्ने प्रयास भएको भन्ने आरोप पूर्ण रूपमा निराधार भएको स्पष्ट पारेका छन् । मुख्यमन्त्री कँडेलले प्रदेश सरकारका तर्फबाट घटनाको सत्यतथ्य बाहिर ल्याउने र कानूनअनुसार कारबाही गर्ने प्रक्रिया स्वतन्त्र र निष्पक्ष रूपमा अघि बढ्ने बताए। घटना सार्वजनिक हुनासाथ संलग्न व्यक्तिमाथि अनुसन्धान गरी कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देशन दिइएको पनि उनले जानकारी दिए । उनले पीडितलाई न्याय दिलाउने र अपराधमा संलग्नमाथि कडा कारबाही गर्ने विषयमा आफू सधैं अग्रपंक्तिमा रहने प्रतिबद्धता व्यक्त गरे। साथै सञ्चार माध्यमलाई भ्रमपूर्ण र असत्य सूचना प्रसारण नगर्न तथा त्यस्ता सूचनामा विश्वास नगर्न सबैमा अपिल गरेका छन् । गत शनिबार वीरेन्द्रनगर नगरपालिका-४, सुर्खेतस्थित शहीद उद्यानभित्र रहेको जनजागरण सामुदायिक वनमा १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या भएको थियो ।
१६- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालैको निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको बताएका छन् । उनले आफ्नो पार्टीले पनि सोचेअनुसारको नतिजा ल्याउन नसकेको स्वीकार गर्दै लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुने बताएका छन् । जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्नु आफू र आफ्नो पार्टीको कर्तव्य भएको उनले उल्लेख गरे । अध्यक्ष ओलीले सूर्य चिन्हमा मतदान गरेर साथ दिएका सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले निर्वाचनको परिणाम अनुकूल नभए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नभएको स्पष्ट पारेका छन् । ओलीले पार्टी आगामी दिनमा पनि जनतामाझ रहेर उनीहरूको हितका लागि काम गर्दै विश्वासको सम्बन्ध अझ बलियो बनाउँदै अघि बढ्ने बताएका छन् ।

१७- इरानले जारी युद्ध अन्त्य गर्न तीन वटा मुख्य सर्त अघि सारेको छ । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले युद्ध रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायले केही आधारभूत सर्त स्वीकार गर्नुपर्ने बताएका छन् । उनका अनुसार पहिलो सर्त इरानका कानुनी अधिकारलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिनु हो । दोस्रो, युद्धका कारण इरानले भोगेको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनले बताएका छन् । तेस्रो सर्तका रूपमा उनले भविष्यमा इरानमाथि पुनः आक्रमण नहुने गरी बलियो अन्तर्राष्ट्रिय प्रत्याभूति दिनुपर्ने माग गरेका छन् । राष्ट्रपति पेजेश्कियानले यी तीन सर्त स्वीकार गर्नु नै युद्ध अन्त्य गर्ने एक मात्र उपाय भएको बताएका छन् ।
१८- गण्डकी प्रदेशका पूर्वसांसद तथा मन्त्री राजीव गुरुङ (दीपक मनाङे) एक वर्ष कैद छुटको सुविधा पाई डिल्लीबजार कारागारबाट रिहा भएका छन् । बुधबार जिल्ला अदालत, काठमाडौंले उनलाई २० प्रतिशत कैद छुटको सुविधा दिएकोले पाँच वर्षको सजायमध्ये ४ वर्ष भुक्तान गरेर रिहा भएका हुन् । खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका मनाङे यसअघि प्रदेश सांसद पदबाट पनि पदमुक्त भएका थिए । असार ४ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले उनी उम्मेदवार हुन अयोग्य ठहर गरेको थियो । कारागारमा मनाङेले सबै कैदीबन्दीसँग राम्रो व्यवहार गरेका थिए र प्रशासनसँग सहयोग पुर्याएका थिए । भदौ २४ मा देशभरका जेल ब्रेक हुदा मनाङे जेल बाहिर आउन अस्वीकार गर्दै परिपक्कता देखाएका थिए । त्यसपछि उनको प्रसंशा समेत भएको थियो ।
१९- युइएफए च्याम्पियन्स लिगको नकआउट चरण (राउण्ड १६) का पहिलो लिगका खेल सम्पन्न भएका छन् । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड, पीएसजी र बोडो विजयी भएका छन् आर्सनल बराबरीमा रोकिएको छ । राउण्ड १६ को पहिलो लिगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको छ । आफ्नो घरेलु मैदानमा रियल म्याड्रिडको जितमा फेडेरिको भलभेर्ड़ेले ह्याट्रिक गरेका थिए । उनले खेलको २०औं, २७औं र ४२औं मिनेटमा गोल गरेका थिए । त्यस्तै पीएसजीले चेल्सीलाई ५-२ गोल अन्तरले पराजित गरेको छ । पीएसजीको जितमा ख्विचा क्वारत्स्खेलियाले दुई गोल गरेका थिए भने भिटिन्हा, ओसमान डेम्बेले र ब्राडली बार्कोलाले एक एक गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि मालो गुस्टो र इन्जो फर्नानडेजले एक एक गोल गरेका थिए । त्यसै गरी नर्वेको क्लब बोडोले पोर्चुगीच क्लब स्पोर्टिंगलाई ३-० गोल अन्तरले पराजित गरेको छ । त्यस्तै आर्सनल भने जर्मनी क्लब बायर लिभरकुसेनसँग १-१ गोलको बराबरीमा रोकिएको छ । अब राउण्ड १६ को दोस्रो लिगक खेल मार्च १७ मा खेल्ने तालिका रहेको छ ।
२०- इरान र इजरायलबीच जारी द्वन्द्वका कारण हर्मुज जलडमरूमध्यमार्फत हुने कच्चा तेल आपूर्ति प्रभावित भएपछि भारतले रूसबाट करिब ३ करोड ब्यारेल कच्चा तेल किन्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था ब्लूमबर्गको रिपोर्टअनुसार भारतका प्रमुख कम्पनीहरू इन्डियन आयल कर्पोरेसन र रिलायन्स इन्डस्ट्रिजले रूसबाट तेल खरिदका लागि सम्झौता गरेका छन् । यी कम्पनीहरूले समुद्रमा रोकिएका रूसी तेल ढुवानी जहाजबाट तेल किन्ने व्यवस्था मिलाएका हुन् । रिपोर्टका अनुसार इन्डियन आयल कर्पोरेसनले करिब १ करोड ब्यारेल र रिलायन्सले पनि कम्तीमा १ करोड ब्यारेल कच्चा तेल किनिसकेको छ । बाँकी तेल अन्य भारतीय रिफाइनिङ कम्पनीहरूले खरिद गरेका छन् । ढुवानी सम्बन्धी तथ्यांकले रूसी तेल बोकेका केही ठूलो ट्यांकर जहाजहरूले आफ्नो गन्तव्य परिवर्तन गरेर भारततर्फ मार्ग मोडेको देखाएको छ । पहिले सिंगापुरतर्फ जाँदै गरेका केही जहाज अहिले भारतीय बन्दरगाहतर्फ लागेका छन् । पछिल्ला केही महिनामा भारतले रूसबाट तेल आयात घटाएर साउदी अरब र इराकबाट बढी तेल किन्न थालेको थियो । तर मध्यपूर्वमा बढ्दो तनावका कारण ऊर्जा आपूर्ति सुरक्षित राख्न भारतले फेरि रूसतर्फ ध्यान केन्द्रित गरेको हो । इरानले हर्मुज जलडमरूमध्यको मार्ग अवरुद्ध गरेपछि विश्वको करिब २० प्रतिशत तेल आपूर्ति प्रभावित भएको बताइएको छ । भारतले आफ्नो आवश्यकता पूरा गर्न प्रयोग गर्ने कच्चा तेलको ठूलो हिस्सा यही मार्गबाट आउने भएकाले अहिले वैकल्पिक आपूर्ति मार्गहरू प्रयोग गर्न थालेको छ । हाल भारतले हर्मुज मार्ग बाहेक अन्य मार्गबाट आउने कच्चा तेलको आयात बढाएर करिब ७० प्रतिशत पुर्याएको छ । यसअघि यस्तो आयात करिब ६० प्रतिशत थियो । सरकारी अधिकारीहरूका अनुसार भारतको ऊर्जा भण्डार पनि पछिल्लो समय बढ्दै गएको छ, जसले आपूर्ति व्यवस्थापनमा थप विश्वास बढाएको जनाइएको छ ।
#NepalNews #Top20News #DailyBulletin #CurrentAffairs #BreakingNews #NewsUpdate #NepalPolitics #Economy #InternationalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



