आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबाको निधनप्रति समवेदना प्रकट गरेका छन् । ओलीलाई समवेदना प्रकट गर्दै बालेनले पिताजस्तो रक्षक र पिताजस्तो गुरु कोही नभएको बताएका छन । उनले भनेका छन्- नास्ति पितृसमं त्राता, नास्ति पितृसमो गुरुः। नास्ति पितृसमं दैवं, तस्मै श्रीपितृदेवाय नमः॥ पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन । ‘पात्र एक, भूमिका अनेक।’  केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ – पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु । पिताजीप्रति हार्दिक श्रद्धाञ्जली, वैकुण्ठवास होस् । ओलीका पिता मोहनप्रसाद ओलीको गएराती निधन भएको थियो भने उनको आजै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।

२- मुग्लिन–नारायणगढ सडक खण्डको तुईन खोला नजिक माथिबाट ढुंगा खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ । सडक डिभिजन भरतपुरका अनुसार ढुंगा झरेपछि केही समय यातायात पूर्ण रूपमा प्रभावित भएको थियो। अहिले भने सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ । माथिबाट अझै ढुंगा झरिरहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाएर मात्र यात्रा गर्न आग्रह गरिएको सडक डिभिजनले जनाएको छ ।

३- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको छ । शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले कांग्रेस केन्द्रीय अनुशासन समितिमा प्राप्त भएका अनुशासन उल्लंघनका उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । त्यस्तै कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि — २०८२ को उपदफा (१.१) बमोजिम केन्द्रीय कार्यालयका सह–सचिव दिनेश थापा मगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

४- अमेरिका-इजराइल र ईरानबीच जारी तनावका कारण विश्वभर कच्चा तेलको मूल्य १०० डलरको स्तर पार गरेको छ । मूल्य नियन्त्रण गर्न अमेरिकाले अन्य देशहरुलाई रूसबाट तेल अस्थायी रूपमा किन्न अनुमति दिएको छ । अहिले रूसका धेरै तेल ट्यांकर समुद्रमा अड्किएका छन् । अहिलेभन्दा पहिले अमेरिकाले भारतलाई रूसबाट कच्चा तेल किन्ने विषयमा प्रतिबन्धमा छूट दिने संकेत गरेको थियो । तर भारतीय अधिकारीहरूले भारतको तेल खरिदका लागि कुनै पनि देशको अनुमति आवश्यक नपर्ने स्पष्ट गरेका छन् । अमेरिकी ट्रेजरी विभागले एक सूचना जारी गर्दै १२ मार्चदेखि जहाजमा लोड भएका रूसी तेल तथा पेट्रोलियम उत्पादनको बिक्री र डेलिभरी गर्न अनुमति दिएको छ र यो छूट केवल ११ अप्रिलसम्मका लागि मान्य हुनेछ । ट्रेजरी सेक्रेटरी स्कट बेसेंटले यस कदमको उद्देश्य विश्वभर तेलको आपूर्ति बढाएर मूल्यलाई नियन्त्रणमा राख्नु रहेको बताएका छन् । उनले यो निर्णय छोटो अवधिका लागि भएको र यसले रूसलाई ठुलो आर्थिक लाभ नपुग्ने बताएका छन् । बेसेंटका अनुसार रूसको ठूलो आम्दानी तेल उत्खननमा लागेको करबाट आउँछ, जबकि यो छूट पहिले नै ट्रान्जिटमा रहेका तेलका लागि मात्र हो । ईरान र अमेरिका-इजराइलबीचको युद्धका कारण विश्वकै महत्वपूर्ण तेल मार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा आपूर्ति ठप्प भएको छ । यहाँबाट विश्वको करिब २० प्रतिशत तेल बग्छ। भारतजस्ता देशले आफ्नो आवश्यकता अनुसार करिब आधा तेल यही मार्गबाट ल्याउछन् । पछिल्ला केही दिनमा ब्रेन्ट क्रूड तेलको मूल्य १२० डलर प्रति बैरलको नजिक पुगेको थियो । ईरानले मूल्य २०० डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ । रूसबाट तेल आपूर्ति भएपछि मूल्यमा केही गिरावट आउन सक्ने अपेक्षा गरिएको छ । फेब्रुअरी २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमी देशहरूले रूसबाट तेल र ग्यास किन्न रोक लगाएका थिए । मिडिल ईस्टमा हालै भएको इन्धन आपूर्ति र पूर्वाधारमा हमला पछि कच्चा तेलको मूल्यमा ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । बजारलाई स्थिर राख्न अमेरिका स्ट्राटेजिक रिजर्वबाट रेकर्ड मात्रामा तेल निकाल्ने निर्णय गरेको छ, तर सप्लाईमा समस्या आउन सक्ने डर अझै कायम रहेको छ ।

५-  नेपाल राष्ट्र बैंकले १० प्रतिशत ब्याज असुली गरी कर्जा पुनर्संरचना गर्न पाइने निर्देशन जारी गरेको छ । बैंकले वित्तीय संस्थाहरूलाई एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले भनेको छ- ‘महेन्द्र राजमार्ग र मध्य पहाडी लोकमार्ग विस्तारका कारण विस्थापित उद्यम र व्यवसायहरूमा प्रवाहित कर्जाको हकमा ऋणीको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी देहायका शर्तहरुको अधीनमा रही कर्जाको पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिनेछ ।’ यस्तो पुनरतालिकीकरण वा पुनर्संरचना २०८३ असार मसान्तभित्र गरिसक्नु पर्नेछ । यसरी पुनरतालिकीकरण वा पुनर्संरचना गर्दाको समयमा कर्जाहरूलाई जुन वर्गमा वर्गीकरण गरिएको छ कम्तीमा सोही वर्गमा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

६- कम्बोडियामा अलपत्र परेका २१ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको छ । नेपाली राजदूतावास बैंककको पहल र कम्बोडिया सरकारको सहयोगमा गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा उनीहरूलाई शुक्रबार नेपाल ल्याइएको हो ।राजदूतावासका अनुसार विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका ती नेपालीलाई अवैध रूपमा सञ्चालन गरिएका अनलाइन ठगी केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी काममा लगाइएको थियो । केही नेपाली बिना भिसा वा भिसाको अवधि सकिएपछि पनि कम्बोडियामा बसिरहेका थिए । राजदूतावासले त्यस्तो अवस्थामा रहेका नेपालीलाई नेपाल फर्कन सहजीकरणका लागि आफूहरूसँग वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरेको छ । अनलाइन ठगी केन्द्रमा काम गराइएकाहरूको राहदानी कम्पनीले जफत गर्ने वा स्थानान्तरणका क्रममा हराउने घटना पनि देखिएको गुनासो आएको जनाइएको छ। यस्तो अवस्थामा नेपाल फर्किन राजदूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ । उपलब्ध तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा कम्बोडिया जाने नेपालीको संख्या तीव्र रूपमा बढेको छ । सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया पुगेका थिए भने सन् २०२२ मा १ हजार ९७७, सन् २०२३ मा २ हजार ९४०, सन् २०२४ मा ६ हजार ४०४ र सन् २०२५ मा ९ हजार ६७६ जना पुगेको तथ्यांक छ । राजदूतावासले वैदेशिक रोजगारीका लागि नेपाल सरकारले तोकेको मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र विदेश जान र छिटो धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार तथा थाइल्याण्डजस्ता देशमा भ्रमणको बहानामा काम गर्न नजान सबैलाई आग्रह गरेको छ ।

७- राष्ट्रिय मानव अधिकार आयोगले ग्याससहित पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन नेपाल सरकारलाई निर्देशन दिएको छ । मध्यपूर्वमा देखिएको तनावपछि काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि उपभोक्तामा चिन्ता र त्रास फैलिएको विषयप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ । आयोगले नेपाल आयल निगम, वाणिज्य विभाग, नेपाल खाद्य व्यवस्था कम्पनी लिमिटेड तथा ग्यास बिक्री वितरण गर्ने भण्डारहरूको अनुगमन र अवलोकन गरेको जनाएको छ। अनुगमनका क्रममा नेपाल पेट्रोलियम पदार्थको आपूर्तिका लागि मुख्यतः आयातमा निर्भर रहेको र आवश्यक कच्चा पदार्थ नियमित रूपमा आइरहेको पाइएको आयोगले जनाएको छ । केही ग्यास कम्पनीको ढुवानी व्यवस्थापनका कारण आपूर्तिमा आंशिक समस्या देखिए पनि सञ्चारमाध्यममा समग्र आपूर्तिमा समस्या भएको सन्देश फैलिँदा उपभोक्ताले आवश्यकता भन्दा बढी भण्डारण गर्ने प्रवृत्ति बढेको र केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्ने प्रयास गरेको तथ्य फेला परेको आयोगको भनाइ छ । आयोगका अनुसार यस्तो अवस्थाले संविधानले उपभोक्तालाई दिएको अधिकार तथा उपभोक्ता संरक्षण ऐन २०७५ को कार्यान्वयनमा असहजता सिर्जना गरेको देखिएको छ । त्यसैले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन आवश्यक सबै उपाय अपनाउन, कृत्रिम अभाव सिर्जना गर्नेहरूलाई कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण नियन्त्रण गर्न तथा अत्यावश्यक वस्तुको आपूर्ति अविलम्ब सुनिश्चित गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ । आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले उपभोक्ताको अधिकार संरक्षणका लागि यस्तो निर्देशन जारी गरिएको जानकारी दिएका छन् ।

८- नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियक्त भएका  स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेनाले विगतका दिनहरूमा भएका कमजोरी र गल्तीलाई नदोहोर्याइ अघि बढ्ने बताएका छन् । प्रशिक्षकमा नियुक्त भएपछि पहिलो पटक शुक्रबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा पत्रकार सम्मेलनमा बोल्दै एरेनाले विज्ञका गल्ति कमजोरीलाई नहोदोराउने बताउदै आफ्नो लक्ष्य राष्ट्रिय टिमलाई साफ च्याम्पियनसिप जिताउने भएको बताएका हुन् । उनले भने- ‘म नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुन पाउँदा एकदमै खुसी भएको छु । मेरो लक्ष्य भनेको राष्ट्रिय टिमलाई साफ च्याम्पियनसिप जिताउने नै हो । विगतका दिनहरूमा भएका कमजोरी र गल्तीलाई नदोहोर्याइ अघि बढ्नेछु ।’ उनले नेपाली खेलाडीहरु धेरै क्षमतावान रहेको बताउँदै उनले  आफ्नो प्राथमिकता रणनीतिक रूपमा टिममा सुधार ल्याउनमा हुने स्पष्ट गरेका छन् । उनलाई बिहीबार एन्फा किरण राईले नियुक्तिपत्र दिएका थिए । उनको नेतृत्वमा नेपाली राष्ट्रिय फुटबल टिमले चैत्र १२ मा दशरथ रंगशालामा हङकङ चाइनासँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

९- पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्तिम संस्कार गरिएको छ । गएराति ९६ वर्षको उमेरमा भक्तपुरको गठठाघरस्थित अस्पतालमा निधन भएको उनको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो । उनका छोरा केपी शर्मा ओलीले दागबत्ती दिएका थिए ।

१०- सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले जिल्ला प्रहरी कार्यालयको गेटअगाडि केही समय नाराबाजी गर्दै इनिशालाई न्याय दिन माग गरेका थिए । इनिशा फागुन २३ गते सुर्खेतको सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोको टोली सुर्खेत पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिएका छन् । उनका अनुसार घटनासँग सम्बन्धित प्रमाणहरूको वैज्ञानिक परीक्षण भइरहेको छ र प्रयोगशालाको प्रतिवेदन आएपछि घटनाको वास्तविकता खुल्ने अपेक्षा गरिएको छ । यसबीच इनिशाका आफन्तले दोषीलाई कारबाही हुने सुनिश्चितता नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । हाल उनको शव कर्णाली प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

११- निर्वाचन सकिएसँगै नयाँ फिल्म ‘लालिमा’ आज रिलिज भएको छ । यौनकर्मी महिलाको अनुभवमा आधारित यस फिल्मले देशभर ६० भन्दा बढी शो पाएको छ ।  एकल रिलिजको दुर्लभ अवसर पाएको यो फिल्मले दर्शकलाई आकर्षित गर्न एउटा अफर समेत ल्याएको छ । खल्ती एपबाट फिल्मको टिकट खरिद गर्ने दर्शकले २ सय रुपैयाँसम्म क्यासब्याक पाउने जनाइएको छ । यस फिल्ममा रोशनी कार्की मुख्य भूमिकामा छिन् । उनले यौनकर्मीको भूमिका निभाएकी छन् । उनले यो भूमिका निभाउन १० जना यौनकर्मीसँग भेट समेत गरेकी थिइन् । उनीसहित फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, घनश्याम जोशी, सुष्मा निरौला, सबिन कट्टेल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । रोशन मिराजको लेखन तथा निर्देशन रहेको फिल्मलाई फेथ आस्था र एम्पिफाई चेन्जले निर्माण गरेका हुन् । कार्यकारी निर्मातामा रीना लामा छिन् ।

१२- नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित सांसद खगेन्द्र सुनारले शिक्षक र शिक्षण पेशाप्रति अभिव्यक्त अमर्यादित शब्द र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा यस्तो अभिव्यक्ति शिक्षक-कर्मचारीको पेशागत मर्यादा र स्वाभिमान विपरित रहेको छ र स्वीकार्य नभएको उल्लेख गरेका छन् । सांसद सुनारको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै उनीलाई आफ्नो अभिव्यक्तिप्रति क्षमा माग्न र भविष्यमा यस्ता विचार व्यक्त नगर्न सचेत रहन आग्रह गरेका छन् । सांसद सुनारले‘कन्सिरी तानेर डस्टरले टाउकोमा हान्ने मास्टरलाई ठाडो खुट्टा पारेर भाटा हान्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए, सो भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भएको छ । महासङ्घले शिक्षक र शिक्षण पेसा जस्तो गरिमामय क्षेत्रलाई होच्याउने कार्यले शिक्षा क्षेत्रको विकासमा नकारात्मक असर पुग्ने बताउदै नेपाली शिक्षक-कर्मचारीको पेसागत मर्यादा र स्वाभिमानको रक्षाका लागि महासङ्घ जुनसुकै कदम चाल्न तयार रहेको उल्लेख छ ।

१३- काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा स्थानीयले अवरोध गरेका छन् । बञ्चरेडाँडा क्षेत्रका स्थानीयले काठमाडौँ महानगर र शहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको फोहर फाल्न अवरोध गरेका हुन् । स्थानीयले कुलमान घिसिङ मन्त्री हुँदा भएका सहमति कार्यान्वयन नभएको बताएका छन् । स्थानीयले पटक पटक उधारो सहमतिले पीडित भएको भन्दै अब माग पूरा नभएसम्मक अवरोध जारी रहने बताएका छन् । यसअघि गत कात्तिक १६ गते तत्कालिन शहरी विकासमन्त्री घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि फोहर विसर्जनको अवरोध हटेको थियो । उनले तत्काल पुरा हुनसक्ने केहि काम गरेपनि त्यसपछि सहमति कार्यान्वयन नभएको बताइएको छ । नुवाकोटको ककनी गाउँपालिका १, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका १, ३  र ४ वडाका  प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका गाडीलाई गन्तव्यमा जानबाट अवरोध गरेका छन् ।

१४- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २८ सयले घटेर तोलाको ३ लाख १४ हजार २ मा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख १७ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर ५४९५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५५१५  मा कारोबार भएको थियो ।

१५- पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आइपिओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा शुक्रबार बिहान आइपिओ बाँडफाँड भएको हो । कम्पनीले गत फागुन १२ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो । सो निष्काशनमा कुल २४ लाख १३ हजार ५१७ जना लगानीकर्ताले २ करोड ६३ लाख १० हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये २३ लाख ७६ हजार ७०५ आवेदन स्वीकृत भएका छन् भने बाँकी ३६ हजार ८१२ आवेदन रद्द भएका छन् । मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ। यस अनुसार कुल ४ लाख ५० हजार लगानीकर्ताले १०-१० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् । आईपीओको नतिजा सिडीएसीको आइपिओ रिजल्ट र मेरोशेयरको वेभसाइटमा हेर्न सकिने छ ।

१६- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी जीवित भए पनि गम्भीर रूपमा घाइते भएको दाबी गरेका छन् । उनले अमेरिकी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा यस्तो बताएका हुन् । ट्रम्पका अनुसार मोजतबा खामेनी अझै जीवित रहेको अनुमान गरिएको छ, तर उनको स्वास्थ्य अवस्था गम्भीर रहेको हुन सक्ने बताएका छन् । यसैबीच बेलायतको पत्रिका द सनले २८ फेब्रुअरीमा भएको आक्रमणमा खामेनी गम्भीर रूपमा घाइते भएको दाबी गरेको छ । उक्त विवरणअनुसार आक्रमणका क्रममा उनलाई धेरै चोट लागेको र एक खुट्टा काट्नुपरेको उल्लेख गरिएको छ । साथै पेट वा कलेजोमा पनि गम्भीर चोट लागेको हुन सक्ने जनाइएको छ । त्यस विवरणमा उनी अचेत अवस्थामा हुन सक्ने र तेहरानस्थित सिना विश्वविद्यालय अस्पतालमा कडा सुरक्षाबीच उपचार भइरहेको उल्लेख गरिएको छ । तर इरानका अधिकारीहरूले भने खामेनी आक्रमणमा घाइते भए पनि सुरक्षित रहेको बताएका छन् । साइप्रसका लागि इरानका राजदूत अलिरेजा सलारियनका अनुसार उनको खुट्टा, हात र पाखुरामा चोट लागेको छ र उपचारका लागि अस्पतालमा राखिएको छ । उनले अहिले सार्वजनिक रूपमा उपस्थित भएर सम्बोधन गर्न सक्ने अवस्थामा नरहेको पनि बताएका छन् । यसैबीच इरानको सरकारी मिडियाले मोजतबा खामेनीको एक सन्देश प्रसारण गरेको छ । उक्त सन्देश उनी स्वयंले नभई समाचार वाचकले पढेर सुनाएका थिए । सन्देशमा युद्धमा मारिएका व्यक्तिको बदला लिने चेतावनी दिइएको छ । साथै अमेरिकाले क्षेत्रमा रहेका आफ्ना सैन्य अड्डा बन्द नगरे ती अड्डामाथि आक्रमण हुन सक्ने चेतावनी पनि दिइएको छ ।

१७- राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। विभागले नयाँ आपूर्तिकर्तासँग सम्झौता गरेर राहदानी प्रणाली, राहदानी पुस्तिका लगायत आवश्यक प्राविधिक तयारी पूरा भइसकेको जानकारी दिएको छ । विभागका अनुसार आगामी एक-दुई महिनाभित्र हाल प्रयोगमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा रूपान्तरण गरिनेछ। यो परिवर्तनको अन्तरिम अवधिमा प्रणाली स्थिर हुन केही समय लाग्न सक्ने भएकाले राहदानी सेवा अस्थायी रूपमा प्रभावित हुन सक्ने जनाइएको छ । यस क्रममा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। त्यसैगरी राहदानी विभागबाट दिइने सेवा करिब एक हप्तासम्म अवरुद्ध हुन सक्ने बताइएको छ । नयाँ प्रणाली कार्यान्वयन भएपछि प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिना लाग्न सक्ने विभागको भनाइ छ। त्यस अवधिमा जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार हुन अहिलेको भन्दा बढी समय लाग्न सक्ने विभागले स्पष्ट गरेको छ । यस अवस्थालाई ध्यानमा राख्दै विभागले आगामी छ महिनाभित्र, अर्थात् २०८३ असोजसम्म राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिन आग्रह गरेको छ । नयाँ प्रणाली सुरु हुने मिति र त्यस अवधिमा गरिने व्यवस्थाबारे थप जानकारी अर्को सूचनामार्फत सार्वजनिक गरिने पनि विभागले जनाएको छ ।

images

१८- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्य पार्टीको जिम्मेवारीबाट पदमुक्त गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यलाई पार्टीको साधारण सदस्य मात्र रहने गरि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका हुन् ।

१९- नेपाल आयल निगमले आजदेखि एलपी ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर बिक्री गर्न लागेको छ । निगमका अनुसार पछिल्ला दुई-तीन महिनादेखि काठमाडौँ उपत्यकामा एलपी ग्यासको माग असामान्य रूपमा बढ्दै गएको बताउदै मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी असर परेको छ । नेपाललाई ग्यास आपूर्ति गर्ने भारतमै पनि सर्वसाधारण उपभोक्ताले ग्यास पाउन कठिनाइ भोगिरहेको समाचार सार्वजनिक भएपछि नेपालमा आवश्यकता भन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढेको निगमको भनाइ छ । यही अवस्थालाई ध्यानमा राख्दै आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित बनाउन तथा सबै उपभोक्ताले ग्यास पाउने अवस्था सुनिश्चित गर्न निगमले आजदेखि अर्को निर्णय नभएसम्म प्रत्येक सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरेर प्रति सिलिन्डर ९५५ रुपैयाँमा बिक्री वितरण गरिने जानकारी दिएको छ । निगमले आम उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न पनि अनुरोध गरेको छ ।

२०- इरानका नयाँ सर्वोच्च नेता आयातुल्ला मोजतबा खामेनीले पद सम्हालेपछि पहिलो पटक सार्वजनिक सन्देश जारी गरेका छन्। उनको सन्देश सरकारी टेलिभिजनमार्फत प्रसारण गरिएको हो । पहिलो सन्देशमा खामेनीले मध्यपूर्व क्षेत्रमा रहेका सबै अमेरिकी सैन्य अड्डा तत्काल बन्द गर्न चेतावनी दिएका छन् । उनले ती अड्डा बन्द नगरिएमा आक्रमण जारी रहने बताएका छन् । साथै इरानी जनतालाई एकताबद्ध हुन आह्वान गर्दै दबाब सिर्जना गर्न होर्मुज जलडमरु पनि केही समयका लागि बन्द राखिने बताएका छन् । खामेनीले इरान आफ्ना छिमेकी देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध चाहने उल्लेख गर्दै लक्ष्य केवल ती देशमा रहेका अमेरिकी सैन्य अड्डा मात्र रहेको बताएका छन् । उनले आक्रमणका कारण भएको क्षतिको भरपाई मागिने र त्यस्तो नभए इरानले पनि समान क्षति पुर्‍याउने चेतावनी दिएका छन् । उनले यमनका लडाकु समूह र इराकका केही सशस्त्र समूहहरूले पनि यस संघर्षमा भूमिका खेल्ने संकेत गरेका छन् । साथै युद्धबाट प्रभावित नागरिकलाई आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउने योजना बनाइदै गरेको जानकारी दिएका छन् । खामेनीले देश कठिन परिस्थितिमा रहेको भन्दै सबै इरानीलाई मतभेद भुली एकजुट भएर सामना गर्न आग्रह गरेका छन् । गत आइतबार सर्वोच्च नेतामा नियुक्त भएपछि उनले पहिलोपटक यस्तो सन्देश दिएका हुन् । नियुक्तिपछि उनी सार्वजनिक रूपमा भने देखिएका छैनन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिका र इजरायलको हवाई आक्रमण सुरु भएको पहिलो दिन खामेनीको खुट्टामा भाँचिएको र सामान्य चोट लागेको दाबि गरिएको छ । साइप्रसका लागि इरानी राजदूत अलीरेजा सालारियनले पनि सोही आक्रमणमा खामेनी घाइते भएको बताएका छन् । उक्त आक्रमणमा उनका पिता तथा पूर्व सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको थियो भने परिवारका अन्य पाँच सदस्य पनि मारिएका थिए ।

#आजकासमाचार #मुख्यसमाचार #ताजा_अपडेट #नेपालसमाचार #राजनीतिसमाचार #अर्थतन्त्र #अन्तर्राष्ट्रियसमाचार #ब्रेकिङन्यूज #समाचारबुलेटिन #दैनिकअपडेट #समाचारसंक्षेप #नेपालीन्यूज #समाचारआज #NewsUpdate #DailyNews #NepalNews #BreakingNews #TopNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages