धनकुटामा भीषण आगलागी, एकै परिवारका पाँच जनाको जलेर मृत्यु


शोकमग्न धनकुटाको राजारानी बजार । आगलागी भएको घर हेर्न लागेको भिड । तस्विरः रमेशचन्द्र अधिकारी

 

– रमेशचन्द्र अधिकारी

 

धनकुटा – धनकुटाको पर्यटकिय स्थल राजारानी बजारमा बुधबार राति भएको भीषण आगलागी भएको छ । आगलागीमा एकै परिवारका पाँच जनाको जलेर मृत्यु भएको छ । आगलागीमा चार घर समेत जलेका छन् ।

राति करिब नौ बजेतिर भएको आगलागीमा स्थानीय गोविन्दबहादुर कटुवाल सहित उनका परिवारका सम्पूर्ण सदस्यको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कटुवालकी पत्नि राधा, १२ वर्षका छोरा सुजन, ८ वर्षीय सुशील र १ वर्षीय छोरा विराज रहेका छन् । कटुवालको घर जलिरहेको अवस्थामा स्थानीयले निभाउने प्रयास गर्दा गर्दै परिवारका सबैको मृत्यु भइसकेको स्थानीय टेकरत्न चेम्जोङ्ले जानकारी दिए । कटुवालको घर नजिकका स्थानीय गणेश दाहाल, भीमकुमारी तामाङ र तिलक कार्कीको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयबासीको प्रयासमा राति अबेर मात्र आगो नियन्त्रणमा आएको थियो । धरानबाट गएको दमकल आगो नियन्त्रणमा आएपछि मात्र घटनास्थल पुगेको थियो । घटनामा अनुमानित ५० लाख बराबरको क्षति भएको प्रहरीको भनाई छ । घटनास्थल सदरमुकामबाट करिब ५५ किलोमीटर पूर्वमा पर्दछ । धनकुटामा हालसम्म दमकल नहुँदा समयमा आगो नियन्त्रणमा गर्न नसक्दा वर्षेनी आगलागीका घटनाबाट करोडौंको क्षति पुग्ने गरेको छ ।