ओस्कारमा ‘वन ब्याटल आफ्टर अनदर’ र ‘सिनर्स’ को दबदबा

 

काठमाडौँ । अमेरिकाको लस एन्जलसस्थित डल्बी थियटरमा ९८औँ एकेडेमी पुरस्कार समारोह सम्पन्न भएको छ । हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियो अभिनीत चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ले यस वर्षको उत्कृष्ट चलचित्रको पुरस्कार जित्दै सबैभन्दा धेरै ६ वटा पुरस्कार हात पारेको छ ।

यस वर्ष १६ मनोनयन पाएर कीर्तिमान बनाएको चलचित्र ‘सिनर्स’ भने चार पुरस्कारमै सीमित भएको छ । यही चलचित्रका लागि माइकल जोर्डनले उत्कृष्ट अभिनेता पुरस्कार जितेका छन् । यसै विधामा लियोनार्डो डिक्याप्रियो पनि मनोनयनमा परेका थिए ।

उत्कृष्ट अभिनेत्रीको पुरस्कार भने जेसी बक्लीले ‘ह्यामनेट’ चलचित्रका लागि जितेकी छन् । यो चलचित्र प्रसिद्ध लेखक विलियम शेक्सपियरको जीवनसँग सम्बन्धित कथामा आधारित छ  । चलचित्रमा बक्लीले शेक्सपियरकी पत्नी एग्नेसको भूमिका निर्वाह गरेकी छन् ।

भारतीय अभिनेत्री प्रियंका चोपडा सन् २०१६ पछि पुनः एकपटक पुरस्कार प्रस्तुतकर्ता बनेकी थिइन् । उनले अन्तर्राष्ट्रिय चलचित्रतर्फको पुरस्कार प्रदान गरेकी हुन् । दुईपटक प्रस्तुतकर्ता बन्ने उनी पहिलो भारतीय बनेकी छन् । समारोहको रातो कार्पेटमा उनी आफ्ना पति निक जोनससँग सहभागी भएकी थिइन् ।

१६ मनोनयन पाएको ‘सिनर्स’ चलचित्रले उत्कृष्ट छायांकनतर्फ पनि पुरस्कार जितेको छ । यस विधामा अटम डुराल्डले पुरस्कार ग्रहण गर्दै उत्कृष्ट छायांकनतर्फ पुरस्कार जित्ने पहिलो महिला बनेकी छन् ।

त्यस्तै ‘वन ब्याटल आफ्टर अनदर’ चलचित्रका लागि पल थोमस एन्डरसनले उत्कृष्ट निर्देशकको पुरस्कार प्राप्त गरेका छन् । यही चलचित्रले उत्कृष्ट चलचित्र सम्पादनतर्फ पनि पुरस्कार जितेको छ । उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रतर्फ नर्वेको ‘सेन्टिमेन्टल भ्यालु’ सम्मानित भएको छ ।

‘सिनर्स’ चलचित्रका लागि लुडविग गोरेन्सनले उत्कृष्ट मौलिक सङ्गीततर्फ पुरस्कार जितेका छन्। उत्कृष्ट मौलिक गीततर्फ भने एनिमेसन चलचित्र ‘के–पप डेमन हन्टर’ को ‘गोल्डेन’ गीतले पुरस्कार पाएको छ ।

उत्कृष्ट वृत्तचित्र लघु चलचित्रतर्फ ‘अल द एम्प्टी रुम्स’ ले पुरस्कार जितेको छ ।  त्यसैगरी चलचित्र ‘अवतारः फायर एन्ड ऐश’ ले उत्कृष्ट दृश्य प्रभावतर्फ पुरस्कार पाएको छ । विज्ञानकथामा आधारित ‘फ्रेन्केनस्टाइन’ चलचित्रले उत्कृष्ट उत्पादन सज्जाको पुरस्कार जित्दै समारोहमा आफ्नो तेस्रो सम्मान हात पारेको छ ।

#Oscars #Hollywood #MovieAwards #Cinema #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages