आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान भएको छ ।  प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम चैत्र ८ गते आइतबार दिउसो १ बजे बस्ने गरि गण्डकी प्रदेश सभाको अधिवेशन आव्हान गरेका हुन् ।

images

२- उज्यालो नेपाल पार्टीले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । उज्यालो नेपाल पार्टीका प्रवक्ता राजु थापा विज्ञप्ति जारी गर्दै गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाइसक्दा पनि सार्वजनिक नगरिनु दुःखद र चिन्ताजनक भएको जनाएको छ । उक्त आयोग जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रम, मानवीय क्षति, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको नोक्सानी, राज्य संयन्त्रको भूमिका र बल प्रयोगको औचित्यबारे छानबिन गर्न गठन गरिएको थियो । पार्टीका अनुसार प्रतिवेदन सार्वजनिक नहुँदा नागरिकमा अन्योल, शंका र असन्तोष बढ्ने खतरा रहेको उल्लेख गर्दै पीडित, घाइते र मृतकका परिवारले सत्य, न्याय र जवाफदेहिताको अपेक्षा गरिरहेका बेला प्रतिवेदन गोप्य राख्नु उचित नभएको बताएको छ । पार्टीले सत्य सार्वजनिक नगरी स्थायित्व आउन नसक्ने उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक गर्नु दोषी ठहर गर्नु नभई तथ्य जनतासामु ल्याउने प्रक्रिया भएको स्पष्ट पारेको छ । उज्यालो नेपाल पार्टीले प्रतिवेदन तत्काल सार्वजनिक गर्न, ढिलाइको कारण स्पष्ट पार्न र निष्कर्षका आधारमा जिम्मेवार पक्षमाथि कानुनी कारबाही अघि बढाउन माग समेत गरेको छ । साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्र सुधार, भीड व्यवस्थापन र मानव अधिकार संरक्षणसम्बन्धी स्पष्ट योजना ल्याउन पनि सरकारसँग आग्रह गरिएको छ ।

३- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा एमालेलाई धन्यवाद दिएकी छन् । प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई बालुवाटार आमन्त्रण गरेकी थिइन् । जसअनुसार एमाले नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए । प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै धन्यवाद दिएकी थिइन् ।  उनले भनिन्- ‘यो कठिन अवस्थालाई शान्तिपूर्ण रुपमा निकास दिने एक मात्र विकल्प निर्वाचन नै थियो। राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर यहाँहरुले जुन सहयोगी भूमिका खेलिदिनुभयो र निर्वाचनमा सक्रिय सहभागिता जनाइदिनुभयो, यसका लागि मुरीमुरी धन्यवाद दिन चाहन्छु।’ उनले निर्वाचनमा जित-हार भइरहने भएकाले एकपल्टको जनादेशबाट विचलित नहुन भन्दै एमाले नेतृत्वलाई शान्त्वना पनि दिएकी थिइन् । उनले भनिन्- ‘एकैपटकको जनमतले सधैँका लागि पार्टीहरुको हैसियत निर्धारण गर्दैन। भारतमा अटलविहारी बाजपेयी र इन्दिरा गान्धीका पालामा उहाँहरुका पार्टीले बेहोरेको उतारचढाव पनि देखेकै छौँ। राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर लागिरहनुहोस्।’ एमाले नेताहरुले पनि सबै पक्षको चित्त बुझाउँदै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्की र उनी नेतृत्वको सरकारलाई बधाई दिएका थिए । मुलुकलाई कठिन घडीमा नेतृत्व प्रदान गरी सर्वस्वीकार्य, शान्तिपूर्ण र लोकतान्त्रिक निकास दिएकामा धन्यवाद पनि दिएका थिए । उनीहरुले यसपालिको निर्वाचनमा प्रशासनको निष्पक्षता रहेको भन्दै सरकारको प्रशंसा पनि गर्नुभयो। साथै यसपालिका चुनावी अभियानहरु विगतभन्दा बढी स्वस्थ, शान्तिपूर्ण र कम खर्चिलो भएको अनुभव पनि सुनाएका थिए । यसअघि प्रधानमन्त्री कार्की आइतबार पितृशोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको गुन्डुस्थित निवासमै पुगेकी थिइन् ।

४- ब्राजिल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले सार्वजनिक गरेको नयाँ टोलीमा नेइमारलाई फेरी बाहिर राखेका छन् । आगामी मैत्रीपूर्ण खेलमा फ्रान्स र क्रोएसियाविरुद्ध खेल्ने टोली घोषणा गर्दा बाहिर राखेपछि राष्ट्रिय टिममा अब नेइमारको फुटबल भविष्य बारे प्रश्न उठाइएको छ । टिममा नपरेपछि नेइमारले सामाजिक सञ्जाल असन्तुष्ट बनेको संकेतसहितको आफ्नो तस्बीर पोष्ट गरेका छन् । यस निर्णयले सन् २०२६ को विश्वकपमा उनको सहभागिताबारे प्रश्न उठाएको छ । लामो समयपछि सान्तोस क्लबमा फर्किएका नेइमारले पुनः आफ्नो लयमा फर्किने प्रयास गरिरहेका थिए । तर बारम्बारको चोट र नियमित खेल्न नपाउदा उनको प्रदर्शन प्रभावित भएको देखिएको छ । नेइमारले सन् २०२३ अक्टोबरपछि ब्राजिलका लागि खेलेका छैनन्। उरुग्वेविरुद्धको खेलमा गम्भीर घुँडाको चोट लागेपछि उनी लामो समय बाहिर रहे । त्यसयता पनि मांसपेशीसम्बन्धी समस्या दोहोरिँदा उनी पूर्ण रूपमा फिट हुन सकेका छैनन् । प्रशिक्षक एन्सेलोटीले पूर्ण रूपमा फिट भएका खेलाडीलाई मात्र टोलीमा स्थान दिने स्पष्ट गरेका छन् । उनले हालै सान्तोसको खेल अवलोकन गर्दा पनि नेयमार मांसपेशी थकानका कारण मैदानमा उत्रन सकेका थिएनन् । यसपटक ब्राजिलले आक्रमण पंक्तिमा युवा खेलाडीलाई प्राथमिकता दिएको छ । टोलीमा भिनिसियस जुनियर, राफिन्हा, गाब्रिएल मार्टिनेली र जाओ पेड्रो जस्ता खेलाडी समावेश छन् । मध्यपंक्तिमा कासेमिरो र फाबिन्हो जस्ता अनुभवी खेलाडी छन् भने रक्षापंक्तिमा मार्किन्होस र गाब्रिएल मागाल्हाएस समावेश छन् । ब्राजिलका सर्वाधिक गोलकर्ता नेइमार अब अन्तिम विश्वकप टोली घोषणा हुनुअघि उनी पुनः आफ्नो उत्कृष्ट प्रदर्शनमा फर्किन सक्छन् कि सक्दैनन् भन्नेमा सबैको चासो केन्द्रित भएको छ ।

५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटको सुनुवाई आजपनि हेर्दा हेर्दैमा परेको छ । आइतबारदेखि सुनुवाई भइरहेको यो रिट लगातारहेर्दा हेर्दैमा परेको हो । मंगलबार  सर्वोच्च अदालतका न्यायाधीशद्वय शार‌ङ्गा सुवेदी, सुनिलकुमार पोखरेलको इजलासमा रिट निवेदक र सरकारी वकिलको बहस पछि आज बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो ।  यो रिट अधिवक्ता दिनेश त्रिपाठी,युवराज सफलगायतले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा दायर गरेका थिए । रिटमा महान्यायाधिवक्ता कार्यालय,विभिन्न सरकारी वकिल कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई रिटमा विपक्षी बनाइएको छ । रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन् । महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते रास्वपा सभापति लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने  निर्णय गरेको थियो । महान्यायाधिवक्ता सविता भण्डारीले आसन्न निर्वाचनलाई लक्षित गरी लामिछानेलाई उम्मेदवारी दिन र निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्ने  बाटो खुल्ने गरी अभियोग संशोधनको निर्णय गरेकी थिइन् ।

Nepal life insurance

६-  युरोपेली संघले होर्मुज जलडमरूमध्यमा युद्धपोत नपठाउने जनाएको छ । संघकी विदेश नीति प्रमुख काजा कालासले युरोपेली देशहरू आफ्ना नागरिकलाई जोखिममा राख्न नचाहने भएकाले यस्तो निर्णय गरिएको बताएकी छन् । उनले विश्वमा खाद्य, मल र ऊर्जाको आपूर्ति कायम राख्न कूटनीतिक उपाय अपनाउनु आवश्यक रहेकोमा जोड दिएकी छन् । यसअघि डोनाल्ड ट्रम्पले उक्त जलडमरूमध्यमा तेल ढुवानी गर्ने जहाजहरूको सुरक्षाका लागि अन्तर्राष्ट्रिय नौसैनिक सहयोगको प्रस्ताव गरेका थिए । तर धेरै युरोपेली देशहरूले त्यसमा साथ नदिने संकेत गरेका छन् । यसैबीच अन्तर्राष्ट्रिय समुद्री संगठनले पनि सैन्य जहाज पठाउनु दीर्घकालीन समाधान नहुने जनाएको छ । संगठनका प्रमुख आर्सेनियो डोमिङ्ग्वेजका अनुसार सैन्य उपस्थितिले केही जोखिम कम गर्न सक्छ, तर पूर्ण सुरक्षा सुनिश्चित गर्न सक्दैन । उनले व्यापारी जहाज र नाविकहरू अझै जोखिममै रहने भएकाले दीर्घकालीन समाधानका लागि वैकल्पिक उपाय आवश्यक रहेको बताएका छन् । यसअघि जापानले पनि सो क्षेत्रमा तत्काल युद्धपोत पठाउने कुनै योजना नरहेको स्पष्ट गरेको थियो ।

७- बलिवुडको सबै भन्दा धेरै कमाई गर्ने फिल्म बनेको धुरन्धरको सफल्तपछि अब धुरन्धर-२ रिलिजको तयारीमा रहेको छ । मार्च १९ मा रिलिज हुने धुरन्धर-२ मा कलाकारहरूको पारिश्रमिक सार्वजनिक भएको छ । रणवीर सिंह यस चलचित्रका मुख्य पात्रका रूपमा देखिनेछन् । उनले हमजा अली मजारिको भूमिकाका लागि सबैभन्दा बढी पारिश्रमिक लिएका छन् । जानकारीअनुसार उनले करिब ५० करोड भारु रुपैयाँ लिएका छन् । यसपछि दोस्रो स्थानमा सञ्जय दत्त रहेका छन् । उनले चलचित्रमा एसपी चौधरी असलमको भूमिका निर्वाह गरेका छन् र यसका लागि करिब १० करोड रुपैयाँ लिएको बताइएको छ । त्यस्तै चलचित्रमा अर्जुन रामपाल मेजर इकबालको भूमिकामा देखिनेछन् । उनले करिब एक करोड भारु रुपैयाँ पारिश्रमिक लिएको जनाइएको छ । यस्तै अभिनेत्री सारा अर्जुनले पनि महत्वपूर्ण भूमिका निभाएकी छन् र उनले पनि करिब एक करोड रुपैयाँ लिएकी छन्। यसैगरी आर माधवन पुनः अजय सानयालको भूमिकामा देखिनेछन् । उनले करिब ९ करोड भारु रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ । धुरन्धर- २ मा विशेष भूमिकामा मात्र रहेका अक्षय खन्नाले भने साढे २ करोड रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ । यो चलचित्र आदित्य धरले निर्देशन गरेका हुन् । जासूसी र एक्सनप्रधान कथामा आधारित यो चलचित्र बक्सअफिसमा शानदार कमाई गर्ने अपेक्षा गरिएको छ । चलचित्रमा एक गोप्य जासूसको कथा देखाइएको छ, जसले कराची क्षेत्रमा काम गर्ने क्रममा विभिन्न चुनौतीको सामना गर्नेछ । यसअघि आएको पहिलो भागपछि यसको दोस्रो श्रृंखलाप्रति दर्शकमा ठूलो उत्साह देखिएको छ ।

८-  इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासको सुरक्षाका लागि विशेष प्रकारको सुरक्षा प्रणाली जडान गरिएको छ । रकेट र मानवरहित उड्ने उपकरणबाट हुने आक्रमण रोक्न प्रयोग हुने यस प्रणालीले खतरा देखिनेबित्तिकै आकाशमै लक्ष्य नष्ट गर्न सक्छ । दूतावासतर्फ आउने वस्तुलाई तत्काल पत्ता लगाएर गोली प्रहार गरी खसाल्ने क्षमता यसमा रहेको बताइएको छ । यो प्रणाली अत्यन्त तीव्र गतिमा काम गर्ने भएकाले एक मिनेटमै हजारौं गोली प्रहार गर्न सक्छ । यसमा जडित संवेदकहरूले सम्भावित खतरा तुरुन्तै पहिचान गर्ने गर्छन् । प्रहार गरिएका गोली लक्ष्यमा नलागेमा हावामै नष्ट हुने व्यवस्था पनि गरिएको छ । रातको समयमा सञ्चालन हुँदा आकाशमा चम्किने रेखाजस्तो दृश्य देखिने बताइएको छ । उक्त प्रणाली अमेरिकी नौसेनाले प्रयोग गर्ने विशेष प्रकारको हतियार प्रविधिमा आधारित रहेको जनाइएको छ, जसलाई अन्तिम सुरक्षाका रूपमा प्रयोग गरिन्छ। शत्रुपक्षको क्षेप्यास्त्र अत्यन्त नजिक आएपछि यसले तत्काल नष्ट गर्ने क्षमता राख्छ । यसअघि पनि यस्तो प्रणाली प्रयोग गरी नजिक आएको क्षेप्यास्त्र खसालिएको घटना सार्वजनिक भएको थियो । अमेरिकाले यस प्रणालीलाई इराक र अफगानिस्तानमा रहेका आफ्ना संरचनाको सुरक्षाका लागि प्रयोग गर्दै आएको जनाएको छ । इराकको बगदादस्थित पछिल्लो समयमा इरान युद्धको समयमा इरानका साथै इराकमा रहेका अमेरिका विरोधी समुहहरुले लगातार निशाना बनाउदै आएका छन् ।

९- नेप्सेमा वृद्धि भएको छ । आज मंगलबार नेप्से १३.५१ अंकले बढेर २८१२. ३४ विन्दुमा पुगेर रोकिएको छ । आज ३४० कम्पनिका ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता शेयर १२ अर्ब ३ करोड ४४ लाख ६ हजार ३२८ मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, जीवन बीमा, माइक्रो फाइनान्स, निर्जीव बीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज रिलायन्स स्मिनिंग मिल्स र सोलु हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सालपा विकास बैंक र होटल फरेस्ट इनको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी एनआइसी एशिया ग्रोथ फण्ड २ को शेयर ४.७४ प्रतिशतले घटेको छ । त्यस्तै आज सबैभन्दा बढी रिढी पावरको ५६ करोड ३७ लाख, अन्खु खोला जलविद्युतको शेयरमा ५१ करोड ७५ लाख बराबरको कारोबार भएको छ भने नेशनल हाइड्रोको ४८ करोड ५ लाखको कारोबार भएको छ ।

१०- एसियाली फुटबल महासंघ (एएफसी) ले मलेसियालाई कारवाही गर्दै नेपाल र भियतनामविरुद्धको जित उल्टाइदिएको छ । मलेसियाले एसिया कप छनोट अन्तर्गतका खेलमा नेपाल र भियतनामविरुद्ध सात जना खेलाडीहरूलाई नक्कली कागजातका आधारमा खेलाएको पुष्टि भएपछि एएफसीको अनुशासन र इथिक्स कमिटीले कारवाही गर्दै नेपाल र भियतनामलाई ३- ०  गोलको प्राविधिक जित दिलाएको । साथै कमिटीले मलेसियाको फुटबल फेडेरेसनलाई ५० हजार डलर जरीवाना समेत गरेको छ । यो निर्णयसँगै मलेसिया २०२७ को एसिया कप छनोटबाट आधिकारिक रूपमा बाहिरिएको छ । गत वर्ष सम्पन्न छनोट खेलमा नेपाल मलेसियासँग २–० गोल अन्तरले पराजित भएको थियो । एएफसीको यो निर्णयपछि नेपालले महत्वपूर्ण ३ अंक पाएको छ । यद्यपी नेपाल दोस्रो चरणमा छनौट हुने सम्भावना भने रहेको छैन । नेपाल रहेको समुह ‘एफ’ बाट भियतनाम १५ अंकसहित शीर्ष स्थानमा रहँदै अर्को चरणका लागि छनोट भइसकेको छ। नेपालले यस समुहमा अन्तिम खेल आगामी चैत १७ गते लाओससँग खेल्ने तालिका रहेको छ ।

११- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूकुम (पश्चिम) को चौरजहारी नगरपालिकामा घुस प्रकरणमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार नगर प्रमुख पुष्प वादीले असिस्टेन्ट सब-इन्जिनियर पदमा कार्यरत मोहन शाहसँग सेवा करार म्याद थप गरिदिने नाममा एक लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ । अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७९/८० मा शाहले नगर प्रमुखको बैंक खातामा एक लाख रुपैयाँ जम्मा गरेपछि मात्रै करार म्याद थप गरिएको तथ्य फेला परेको आयोगले जनाएको छ । पछि पुनः म्याद थपका लागि रकम माग्दा उपलब्ध गराउन नसकेपछि उनको करार नवीकरण नगरी हटाइएको पनि अनुसन्धानमा खुलेको अख्तियारले जनाएको छ । आयोगले उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर ठहर गर्दै नगर प्रमुखवादीविरुद्ध कैद, जरिवाना तथा घुस रकम जफत गर्न मागदाबी लिएको छ । साथै पदमा बहाल रहेको आधारमा थप सजायको माग पनि गरिएको छ । यस्तै, घुस दिएको अभियोगमा मोहन शाहविरुद्ध पनि सोही ऐनअनुसार कारबाहीको माग गर्दै बिगो एक लाख रुपैयाँ कायम गरी कैद र जरिवानासहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले दुवै जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको जानकारी दिएको छ ।

१२- धादिङ–१ बाट निर्वाचित सांसद आशिका तामाङले सडक प्रयोगकै आधारमा ढुवानीमा शुल्क उठाउनु अनुचित भएको बताएकी छन् । उनले यस्तो शुल्क उठाउने व्यवस्था कति न्यायोचित हो भन्ने प्रश्न उठाउँदै अबदेखि मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नु नपर्ने घोषणा गरेकी छन् । सांसद तामाङले यसबारे सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिँदै यदि कसैले अवैध रूपमा शुल्क उठाएको पाइएमा कारबाहीको दायरामा ल्याइने चेतावनी पनि दिएकी छन् । उनले भनेकी छन्- ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँ सम्म न्यायचित हो ? आज बाट मलेखु बाट ताल्ती सम्म जाने कुनै पनि सवारी साधन ले शुल्क तिर्नु पर्ने छैन, मैले सम्बन्धित निकाय मा निर्देशन दिइसकेको जानकारी गराउछु र कसैले उठाएको थाहा पाएमा कारबाहीको दायरामा ल्याउने जानकारी गराउछु ।’

१३ राष्ट्रपति रामचन्द्र पौडेलले पितृ शोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।  मंगलबार ओली निवास गुण्डु पुगेर राष्ट्रपति पौडेलले अध्यक्ष ओलीका पिताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदन व्यक्त गरेका हुन् । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।

१४-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिवसीय अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन उपसभापतिद्वय डिपी अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर गरेका थिए । कार्यक्रमलाई दुवै उपसभापतिले सम्बोधन गर्दै रास्वपाले पाएको ऐतिहासिक जनादेशको सम्मान गर्दै सम्हालिएर देशको नेतृत्व गर्ने जिम्मेवारी आएको बताएका थिए । भोलीसम्म जारी रहने अभिमुखीकरण कार्यक्रममा समुहमा छलफल, संसदको संरचना, अधिकार र जिम्मेवारी बारे प्रशिक्षण, कानुन निर्माणको प्रक्रियामा सांसदको भूमिका, चुनावी प्रतिवेदन प्रस्तुत र छलफल, विभिन्न विषय विज्ञहरुको प्रस्तुति लगायतका कार्यक्रम रहेको जानकारी दिइएको छ ।

१५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले निर्वाचनमा रास्वपाले एतिहसिक जनादेश पाएको बताउदै यसलाई जोगाएर लैजाने बताएका छन् । आजदेखि शुरु भएको नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति डा. वाग्लेले रास्वपाले निर्वाचनमा अत्यन्त गरुङ्गो जनादेश पाएको र यसलाई बचाएर जोगाएर लैजानु पर्ने चुनौती रहेको बताएका हुन् । उनले २०१५ सालमा विपी कोइराला नेतृत्वको काँग्रेसले पाएको जनादेश भन्दा पनि अभूतपूर्व भएको बताएका छन् । उनले यस अघि दलहरुले पाएका जनादेशबाट के सिक्ने र नसिक्ने भन्नेमा स्पष्ट हुनुपर्ने बताएका छन् । उनले सांसदहरुको मुख्य काम कानुन बनाउनु पर्ने भएपनि आफ्नै सरकार भएपनि प्रश्न गर्नुपर्ने र आवाज बुलन्द गर्नुपर्नेमा जोड दिए । उनले आर्थिक विकास निर्माणमा ध्यान दिनुपर्ने बताउदै बाचा पत्र अनुसार सिस्टम बसाल्नेमा रास्वपाको सरकार केन्द्रित हुने बताए । उनले भने- ‘नेपाली जनताले रास्वपालाई काम गरेर देखाउनुपर्ने जनादेश दिनुभएको छ । यो ऐतिहासिक जनादेशको सम्मान गरेर काम गर्नुपर्ने जिम्मेवारी रहेको छ ।’ उनले नवनिर्वाचित सांसदहरुलाई प्रजातान्त्रिक व्यवस्थाको नियम सिक्नुपर्ने भन्दै गम्भीर भएर पदको गरिमालाई न्याय गर्न थप मिहिनेत गर्नुपर्नेमा जोड दिएका छन् । उनले संविधानप्रति प्रतिबद्ध रहेको बताउदै संबिधानकै दयारामा रहेर यसलाई सुधार गर्ने स्पष्ट गरे । उनले सांसदहरुलाई २०७९ र यस पटकको बाचा पत्र पढ्न आग्रह गर्दै रास्वपा कुन स्प्रिटमा जन्मियो भन्ने अध्ययन गर्न सुझाव दिएका छन् । त्यस्तै उनले अब सांसदहरुको जीवनशैली पारदर्शी हुनुपर्ने भन्दै जुन कुराका लागि पुराना दललाई गाली गरियो त्यो दोहोराउने छुट नभएको स्पष्ट गरेका छन् ।

१६- फागुनसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।  सार्बजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको फागुन मसान्तसम्मको ऋण प्रतिवेदन अनुसार सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब ४८ अर्ब ११ करोड र बाहृय १५ खर्ब ३० अर्ब १८ करोड रहेको छ ।  गत असार मसान्तको तुलनामा फागुन मसान्तसम्म तिर्न बाँकी सार्वजनिक ऋण २ खर्ब ४ अर्ब २५ करोड थपिएको प्रतिवेदनमा उल्लेख छ । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो । यो सार्बजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातमा ४७.१३ प्रतिशत हो । चालु आर्थिक बर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्बजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा फागुन मसान्तसम्म २ खर्ब ९५ अर्ब  १९ करोड ऋण प्राप्त भएको छ । बार्षिक लक्ष्यको तुलनामा  कुल सार्बजनिक ऋण प्राप्ति ५०.४४ प्रतिशत रहेको छ । चालु आर्थिक बर्षमा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड विनियोजन भएकोमा फागुन मसान्तसम्म २ खर्ब ४२ अर्ब २६ करोड भुक्तानी भएको सार्बजनिक ऋण व्यवस्थापन कार्यालयले उल्लेख गरेको छ । यो बार्षिक बजेट विनियिजनको आधारमा ५८.९४ प्रतिशत हो । कुल गार्हस्थ उत्पादनको आधारमा माघ मसान्तसम्म कुल ऋण सेवा खर्च ३.९७ प्रतिशत रहेको छ ।

१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ४०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ९ मा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख ९ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले बढेर ५३३५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५२६५  मा कारोबार भएको थियो ।

१८- पाकिस्तानले अफगानिस्तान माथि पुनः हवाई आक्रमण गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी लडाकु विमानले राजधानी काबुलका विभिन्न स्थानमा बम प्रहार गरेका छन्, जसमा एक अस्पताल समेत परेको बताइएको छ । आक्रमणमा करिब ४ सय जनाको मृत्यु भएको र २५० भन्दा बढी घाइते भएका छन् । प्रतिवेदनअनुसार दारुलअमान, अरजान किमत, खैरखाना तथा काबुल अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा ठूलो विस्फोट र गोलीबारीको आवाज सुनिएको थियो । तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलस्थित नशा मुक्ति केन्द्रमा बम खसालेको आरोप लगाएका छन् । तालिबानले घटनाको कडा निन्दा गर्दै यसलाई मानवताविरुद्धको अपराध भनेको छ र अफगान हवाई क्षेत्रको उल्लंघन भएको दाबी गरेको छ । यता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मोशर्रफ जैदीले यी आरोप असत्य भएको बताएका छन् । उनले काबुलमा कुनै अस्पताललाई निशाना नबनाइएको दाबी गरेका छन् । अफगान सरकारका उपप्रवक्ता हमदुल्लाह फितरत का अनुसार स्थानीय समयअनुसार राति करिब ९ बजे आक्रमण भएको हो । करिब दुई हजार शय्याको अस्पतालमा ठूलो क्षति पुगेको जनाइएको छ । सञ्चारकर्मी घटनास्थल पुग्दा अस्पतालका केही भागमा आगलागी भइरहेकाले क्षति अझै बढ्न सक्ने अनुमान गरिएको छ । यस घटनापछि अफगान क्रिकेट खेलाडी राशिद खान ले कडा आलोचना गर्दै घटनाको छानबिन गर्न अन्तर्राष्ट्रिय समुदायसँग माग गरेका छन् । उनले सर्वसाधारण बसोबास गर्ने क्षेत्र, विद्यालय र अस्पताल आसपास आक्रमण हुनु अन्तर्राष्ट्रिय कानुनअनुसार गम्भीर अपराध हुने बताएका छन् । पाकिस्तान र अफगानिस्तानबीचको तनाव गत फागुन १० गतेदेखि बढ्दै आएको छ । त्यसपछि दुवै पक्षबाट आक्रमण र जवाफी कारबाही भइरहेको छ । सीमा क्षेत्रमा पछिल्ला हप्ताहरूमा पटक-पटक झडपसमेत भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार पछिल्ला सैन्य कारबाहीमा दर्जनौं सर्वसाधारणको ज्यान गएको छ भने एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

१९-  संयुक्त अरब इमिरेट्स (युएई) ले इरानबाट भइरहेको आक्रमणका बीच आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । देशको नागरिक उड्डयन निकायले उडान र विमानकर्मीको सुरक्षा सुनिश्चित गर्न तथा राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर सावधानीका रूपमा यस्तो निर्णय गरिएको जनाएको छ । सरकारी माध्यमका अनुसार इरानतर्फबाट क्षेप्यास्त्र र मानव रहित उड्ने उपकरणको नयाँ आक्रमण सुरु भएको जानकारी पाएपछि यस्तो कदम चालिएको हो । यसैबीच युएईको रक्षा मन्त्रालयले देशमाथि आएको आक्रमणको सामना गरिरहेको जनाएको छ । मन्त्रालयका अनुसार वायु रक्षा प्रणाली सक्रिय पारिएको छ र इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र तथा मानव रहित उड्ने उपकरणलाई आकाशमै रोक्ने प्रयास भइरहेको छ । दुबईका अधिकारीहरूले शहरका विभिन्न स्थानमा सुनिएका ठूलो विस्फोटजस्ता आवाज वास्तवमा वायु रक्षा प्रणालीले क्षेप्यास्त्र र मानव रहित उड्ने उपकरणलाई खसाल्ने क्रममा आएका आवाज भएको बताएका छन् ।  पछिल्लो समय इरानतर्फबाट खाडी क्षेत्रका केही देशतर्फ क्षेप्यास्त्र र मानव रहित उड्ने उपकरणबाट आक्रमण भएका घटनाहरू सार्वजनिक भइरहेका छन् ।

images

२०- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको फागुन ३० गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार अ बाट आमाले बक्स अफिसमा शानदार कमाई गरेको छ । माघ १६ गतेदेखि रिलिज भएको आ बाट आमाले बक्स अफिसमा अहिलेसम्म १२ करोड ९९  लाख ३ हजार ८२० कमाई गरेको छ । यस फिल्मका ४ लाख ९७ हजार ९६३ टिकट विक्री भएको बोर्डले जनाएको छ । त्यस्तै माघ २३ गतेदेखि रिलिज भएको अर्को फिल्म कुमारीले अहिलेसम्म ६६ लाख १४ हजार कमाएको छ । यस फिल्मको अहिलेसम्म २० हजार ७६२ टिकट बिक्रि भएको छ । त्यसैगरी माघ २३ गते नै रिलिज भएको अर्को फिल्म रमिताकी पिरतीले ३० लाख ७० हजार ४५३ कमाई गरेको छ । अहिलेसम्म रमिताकी पिरतीको ९ हजार ९०२ टिकट बिक्री भएको छ ।  त्यस्तै फागुन १५ गते रिलिज भएको प्रवासी जीवनले एक लाख ४४ हजार २७० कमाएको छ ।

#Top20News #NewsBulletin #TodayNews #NepalUpdate #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages